केन्द्रीय संस्करण
अन्तरवार्ता

मृत्युदण्डबाट बाँचेर फर्केका उमेश भन्छन्, ‘करेन्ट लगाएर, औषधि खुवाएर मलाई जबर्जस्ती बोल्न लगाउँथे’

person explore access_timeमाघ १७, २०७६ chat_bubble_outline0

फाँसीको मिति तय भइसकेर मृत्यु सुनिश्चित भइसकेको हुन्छ । तर त्योभन्दा अघि चमत्कार हुन्छ । उनी मृत्युको मुखबाट जोगिन्छन् । वास्तवमै यो क्षण उनको पुनर्जन्म नै हो । त्यस्तै भएको छ उमेश यादवको जीवनमा । सन् २००६ मा रोजगारीका लागि साउदी अरब गएका उमेश यादव एक पाकिस्तानी नागरिकको हत्याको आरोपमा जेल परेका थिए । त्यहाँको अदालतले उनलाई मृत्युदण्डको सजाय घोषणा गरिसकेको थियो । उनको मृत्यु निश्चित भइसके पनि पाकिस्तानी पीडित परिवारले माफीनामा दिएमा उमेश यादव छुट्न सक्छन् भन्ने झिनो आशाको त्यान्द्रो पनि देखिएको थियो । तर त्यसका लागि पहल गरिदिने कोही भएन । त्यति नै बेला सामाजिक अभियन्ता सरोज रायको कानमा यो खबर पुग्यो र उमेशलाई बचाउनुपर्छ भनी अभियानमा लागे ।

अन्ततः डेढ वर्षको प्रयासपछि उमेशलाई मृत्युको मुखबाट जोगाएर नेपाल फर्काए । आज उमेश यादव आफ्ना घरमा आमा, श्रीमती, छोराहरुसँग रमाइरहेका छन् । आशा मारिसकेका आमाबुबा तथा श्रीमती, छोराहरु पनि उमेशले पाएको नयाँ जीवनले प्रफुल्लित छन् । उमेशको घरमा मात्र होइन, त्यो गाउँमै खुसियाली छाएको छ । हाल उनी जनकपुरमा समान्य उपचार गराइरहेका छन् । प्रस्तुत छ, यिनै विषयमा आधारित रहेर रातोपाटीले उमेश यादवसँग गरेको कुराकानीः

मृत्युको मुखबाट जोगिएर घर फर्कनुभएको छ, कस्तो लागिरहेको छ ?

–नयाँ जन्म पाएको महसुस भइरहेको छ । बाँच्छु, फेरि आमाबुबा, श्रीमती, छोराछोरीसँग भेट हुन्छ, समाजसँग भेट हुन्छ भन्ने आशा मारिसकेको थिएँ तर मृत्युको मुखबाट बाँचेर आएँ । मैले अर्को जन्म पाएको छु । समाजलाई नयाँ रूपमा पाएको छु । घरपरिवार आमाबुबा, श्रीमती, छोराहरुलाई पनि नयाँ रूपमा पाएको छु । मेरो जीवनका लागि यो चमत्कार नै हो ।

यो चमत्कार कसरी सम्भव भयो ?

–भन्छन् मान्छेको जीवनमा दुःख पर्दा राम्रो कर्म गरिएको छ भने बचाउन कुनै न कुनै रूपमा भगवान नै आउँछन् । सायद मैले त्यस्तै राम्रो कर्म गरेको थिएँ होला, सरोज भाइ भगवानका रूपमा आउनुभयो । उहाँले मेरा लागि पहल नगरेको भए बाँच्ने थिइनँ । यसका लागि पाकिस्तानी परिवारलाई धन्यवाद दिन चाहन्छु जसले मलाई माफ गर्नुभयो । एउटा घटनाले त्यो परिवारको सदस्यको मृत्यु भयो, तैपनि त्यो परिवारले मलाई माफ गर्‍यो । त्यसैले त्यो परिवारलाई जति नै धन्यवाद दिए पनि कम हुन्छ ।


एक दिन जेलबाट यथार्थ कुरा के हो,  त्यसको भिडियो बनाएर बाहिर पठाएको थिएँ । त्यो भिडियो हेरेर नै यो कुराहरु चर्चामा आएको थियो । सञ्चार माध्यममा आउन थाल्यो । पछि सरोज रायले यो कुरा थाहा पाएपछि मसँग सम्पर्क गर्नुभयो । उहाँसँग कुरा हुँदा पनि म यहाँबाट बाँचेर जान्छु जस्तो लागेको थिएन । नेपालका दाजुभाइ, आमाबुबा, श्रीमती र छोराहरुलाई भेट्छु भन्ने आशा मारिसकेको थिएँ ।


तपाईंका हातबाट एउटा पाकिस्तानीको मृत्यु कसरी भयो ?

–सन् २००६ मा म वैदेशिक रोजगारीका लागि साउदी गएको थिएँ । पाकिस्तानी साथी र म एउटै कम्पनीमा काम गरिरहेका थियौँ । एक दिन अचानक उहाँसँग मेरो झगडा भयो र अन्जानवश त्यस्तो घटना भयो । रिसैरिसमा त्यस्तो घटना भयो । अस्पतालमा उहाँको उपचार चलिरहेको थियो । १७ दिनपछि उहाँको मृत्यु भएको थियो । उहाँको मृत्यु भएपछि मलाई कम्पनीमा खबर आयो । प्रहरीले समातेर मलाई जेलमा हालिदियो । ममाथि हत्याको आरोपमा मुद्दा चलाइयो ।

साँच्चै तपाईंले उहाँको हत्या नै गर्नुभएको हो ?

–यसलाई हत्या नभनौँ । कुटपिट भएको थियो । सुरुमा उहाँले मलाई पिट्नुभयो । त्यही कुटपिटको क्रममा त्यस्तो घटना हुन गएको हो ।

काम गर्ने ठाउँमा पानीको ठूलो पाइप थियो । त्यसमा मिटर लागेको थियो । भर्‍याङ लगाएर उहाँ माथि चढ्नुभयो । अचानक उहाँ तल खस्नुभयो । खसेपछि उहाँलाई ममाथि नै रिस उठ्यो कि क्या हो । उहाँले अचानक मलाई कुटपिट गर्न थाल्नुभयो । म अकमक्कमा परेँ । उहाँले कुटेपछि मलाई पनि रिस उठ्यो ।

तपाईंमाथि कुटपिटका साथै रकम लुटपाटको पनि आरोप थियो नि ?

–त्यस्तो आरोप जबर्जस्ती लगाइएको हो । मैले नियोजित रुपमा कुटपिट गरेको पनि होइन र रकम लुटे पनि होइन । जबर्जस्ती स्वीकार गर्न लगाइएको थियो । त्यसका लागि निकै यातना दिए तर म होसमा हुँदासम्म त्यो कुरा स्वीकार गरिनँ । तर अदालतका रिपोर्टमा त्यस्ता कुरा उल्लेख गरेको मैले पाएँ । अरूको देशमा त्यहाँका शासन प्रशासनले केके गरे, ती कुरा मलाई थाहा थिएन । अब त मर्छु नै भन्ने निश्चित भएपछि त्यस्ता आरोप खण्डनको कुनै अर्थ रहँदैन भन्ने लाग्न थाल्यो ।

एक दिन जेलबाट यथार्थ कुरा के हो,  त्यसको भिडियो बनाएर बाहिर पठाएको थिएँ । त्यो भिडियो हेरेर नै यो कुराहरु चर्चामा आएको थियो । सञ्चार माध्यममा आउन थाल्यो । पछि सरोज रायले यो कुरा थाहा पाएपछि मसँग सम्पर्क गर्नुभयो । उहाँसँग कुरा हुँदा पनि म यहाँबाट बाँचेर जान्छु जस्तो लागेको थिएन । नेपालका दाजुभाइ, आमाबुबा, श्रीमती र छोराहरुलाई भेट्छु भन्ने आशा मारिसकेको थिएँ ।

त्यहाँको प्रहरी प्रशासनको व्यवहार कस्तो पाउनुभयो ?

–नेपालको प्रहरी जस्तो छैन । यहाँको प्रहरीले त कमसे कम कुरा सुन्छन्, बुझ्छन् तर त्यहाँको प्रहरीले कुनै कुरा सुन्न नै मान्दैनन् । त्यसमा पनि म बाहिरको मान्छे थिएँ । त्यहाँ गएको एक महिना मात्र भएको थियो । धेरै कुरा थाहा पनि थिएन । प्रहरीलाई जेजे मन लाग्यो त्यो गर्‍यो । कुराहरु नबुझ्दा प्रहरीले जे–जे भन्थ्यो, त्यही कुरामा हो–हो भन्थेँ । त्यसले गर्दा झन् अदालतले मलाई उल्टो उल्टो कुरा सुनाउँथ्यो । पछि मैले त्यहाँको नेपाली राजदूतावास मार्फत असली कुरा थाहा पाएँ । अनि मात्र अलिकति सचेत हुन थालेको थिएँ । सुरुमा सात वर्षको सजाय भन्यो, त्यसपछि १० वर्षको सजाय भनियो, त्यसपछि ११ वर्षको सजाय दियो । तैपनि मैले कुनै कुरा स्वीकार गरेको थिइनँ । जबर्जस्ती मलाई कुटपिट गरी जथाभावी हस्ताक्षर गराउँथ्यो । सुरुमै दुईवटै परिवारलाई मिलाएर माफीनामाको प्रक्रिया सुरु गरेको भए छुट्थेँ तर कसैले त्यसका लागि तयारी गरेको थिएनँ । त्यसले गर्दा १३ वर्षसम्म लाग्यो ।


तीन वर्षसम्म म पूरै बेहोस् नै थिएँ । प्रहरी आएर कुटपिट गथ्र्यो । कहिले के, कहिले के सोधिरहन्थ्यो । दिनदिनै करेन्ट लगाउँथ्यो । जबर्जस्ती बोल्न लगाउन विभिन्न औषधि खुवाउँथ्यो । औषधि खाएपछि के बोल्थेँ, केही थाहा हुँदैनथ्यो । यति यातना पाएँ कि तीन वर्षसम्म होस नै आएन ।


यातना कतिको पाउनु भयो त्यहाँ ?

–तीन वर्षसम्म म पूरै बेहोस् नै थिएँ । प्रहरी आएर कुटपिट गथ्र्यो । कहिले के, कहिले के सोधिरहन्थ्यो । दिनदिनै करेन्ट लगाउँथ्यो । जबर्जस्ती बोल्न लगाउन विभिन्न औषधि खुवाउँथ्यो । औषधि खाएपछि के बोल्थेँ, केही थाहा हुँदैनथ्यो । यति यातना पाएँ कि तीन वर्षसम्म होस नै आएन । खाना त्यस्तै दिन्थ्यो, खान मन लाग्दैनथ्यो । एक त त्यहाँको खानामा रुचि लागेको थिएन । चारजनालाई एउटा बेड दिएको थियो । त्यसमा आलोपालो सुत्नुपथ्र्यो । पछि नेपालका नेताहरुसँग पनि सम्पर्क गर्न थालेको थिएँ । रामचन्द्र झादखि उपेन्द्र यादवसम्मका नेताहरुसँग फोनमा कुरा गरी बचाउनका लागि आग्रह गरेको थिएँ । उहाँहरुले पनि प्रयास गर्दैछु भनी आश्वासन दिनुभएको थियो । उहाँहरुले केके प्रयास गर्नुभयो, त्यो मलाई थाहा भएन । तर मैले के थाहा पाए भने साउदी नै गएर कसैले प्रयास गरेका भए म पाँच सात वर्षमै छुट्थेँ तर कसैले पहल गरेको थिएन ।

जेलभित्रै मोबाइल कसरी चलाउनु हुन्थ्यो ?

–मसँग मोबाइल थिएन तर त्यही देशका कैदीहरुले कहाँ कहाँबाट लुकाई छिपाई राखेका हुन्थे । उनीहरुलाई भेट्न आउने आफन्तले लुकाएर ल्याएर दिन्थेँ । उनीहरु त्यहाँका प्रहरी प्रशासनसँग पनि भित्रैभित्रै मिलेको हुन्थे । अनि म ती कैदीहरुसँग मागेर घरपरिवार, आफन्तसँग कहिलेकाहीँ कुरा गर्थें । त्यहाँका कैदीहरुको काम गरिदिन्थेँ । कहिले लुगा धोइदिन्थेँ भने कहिले तेल मालिस गरिदिन्थेँ । कहिले के काम त कहिले के काम गरिदिन्थेँ । अनि उनीहरु खुसी भएर कहिले रिचार्ज कार्ड त कहिले मोबाइल दिएर सहयोग गर्थे । भित्र कैदीहरुसँग राम्रो सम्बन्ध थियो । उनीहरुले पनि सहयोग गर्थे । 

मृत्युको मुखबाट बाँचेर घरफर्किनुभयो अब के गर्ने इच्छा छ ?

–यो अवस्थाबाट म विदेशबाट फर्केको छु । मसँग अब केही छैन । धन सम्पत्ति सबै त्यसैमा गयो । सरकारले मलाई अलिकति सहयोग गरिदियो भने म स्वदेशमै केही विजनेस व्यपार गरेर बस्ने इच्छा छ । मेरो आमाबुबा, श्रीमतीले मेरो कारण धेरै दुःख पाउनुभएको छ । अब म उहाँहरुलाई सुखी देख्न चाहन्छु । त्यसमा सरकारले सहयोग गर्नुपर्छ ।

परराष्ट्र मन्त्रीसँग पनि भेट गर्नुभएको थियो, के भन्नुभयो ?

–एकजना नेपाली विवेक दाहाल १४ वर्षदेखि जेलमा छन् । उहाँका लागि कुनै पहल भइरहेको छैन । मैले त्यही कुराको जानकारी गराउन मन्त्रीज्यूलाई भेट्न गएको थिएँ । मैले सरोज भाइजीलाई साउदी पठाउनका लागि पहल गर्न आग्रह गरेको थिएँ । सरोज भाइजी जानुभयो भने अवश्य विवेक दाहाल छुटेर आउनसक्छन्, त्यो कुरा मैले मन्त्रीलाई भनेको थिएँ । अनि मन्त्रीज्यूले ‘हुन्छ, सरोजजी गएर कसैको ज्यान बँच्छ भने जानुपर्छ । म त्यसका लागि केके गर्नुपर्छ सबै गर्छु’ भन्नुभयो । अनि मैले म १४ वर्ष बिताएर साउदीबाट आएको छु । मसँग अब केही छैन । दुईवटा छोरा छन् । आमाबुबा हुनुहुन्छ मलाई सरकारले केही व्यवस्था गर्नुपर्छ भनेको थिएँ अनि मन्त्रीजीले सरकारबाट केही न केही सहयोग गराउँछु भनी आश्वासन दिनुभएको छ ।


म त अब जान्नँ । नेपालमै व्यापार गरेर बस्छु । विदेश जाने साथीभाइहरु पनि सचेत भएर जानुपर्छ भनी आग्रह पनि गर्छु । त्यहाँका कानुनहरु बुझ्नुपर्छ र सचेत भएर काम गर्नुपर्छ नत्र अनाहकमा दुःख पाइन्छ ।


जेलमा परेदेखि हालसम्म नेपाल सरकारबाट तपाईंले कस्तो सहयोग पाउनु भयो ?

–हालसम्म नेपाल सरकारबाट मैले कुनै सहयोग पाएको छैन । सरोज भाइजीले मेरा लागि गरेको प्रयासमा केही कागजात बनाउनमा सहयोग गरेको होला, त्यति नै हो । यदि नेपाल सरकारले सुरुदेखि पहल गरेको भए मैले यत्रो दुःख पाउने थिइनँ । मसँगै रहेका एकजना नेपालीलाई ३० लाख रुपियाँ दिएर नेपाल सरकारले लगेको थियो तर मेरा लागि कुनै पहल गरेको थिएन । मेरो लागि पनि पहल गरेको भए, पाकिस्तानी परिवारसँग कुरा गरेको भए सायद म पनि त्यतिबेलै छुट्थेँ तर मेरा लागि सरकारले केही गरेन । मधेसी र पहाडीमा त्यहाँ पनि विभेद गरेको देखियो । के म नेपाली होइन ? उसलाई ३० लाख रुपियाँ दिएर सरकारले रिहा गराएको थियो तर मेरा लागि समाजले चन्दा उठाएर पीडित परिवारलाई ब्लडमनी दियो अनि रिहा भएँ । मेरा लागि सरकारले केही गरेन ।

अब विदेश जानुहुन्छ कि जानुहुन्न ?

–म त अब जान्नँ । नेपालमै व्यापार गरेर बस्छु । विदेश जाने साथीभाइहरु पनि सचेत भएर जानुपर्छ भनी आग्रह पनि गर्छु । त्यहाँका कानुनहरु बुझ्नुपर्छ र सचेत भएर काम गर्नुपर्छ नत्र अनाहकमा दुःख पाइन्छ ।

तपाईं विदेश जाँदा ऋण लिएरै जानुभएको त होला, त्यसको अवस्था कस्तो छ ?

–एक लाख ६५ हजार रूपैयाँ ऋण लिएर मेनपावरलाई बुझाएर म साउदी गएको थिएँ । त्यसमध्ये अलिकता खेत बेचेर ७० हजार जति ऋण तिरेको थिएँ अरू सबै बाँकी नै थियो । अहिले पाँच लाखभन्दा बढी ऋण भइसकेको छ । घडेरीबाहेक अब जमिन पनि छैन । एउटा घर मात्र छ । चार कठ्ठा जमिन बेचेर अलिअलि तिरेको थिएँ । अब जमिन पनि छैन । ऋण तिर्ने सामथ्र्य पनि छैन । एउटा दुःख झेलेर गाउँ त आएँ अब अर्को चिन्ता सुरु भयो कि साहुको ऋण कसरी तिर्ने ! त्यसैले म सरकारसँग के आग्रह गर्छु भने केही सहयोग गरोस् । मेरी श्रीमती एउटा कारखानामा काम गर्छिन्, त्यसबाट केही गुजारा चल्छ । छोराहरुलाई पढ्नका लागि सरोज भाइजीले केही व्यवस्था मिलाउनु भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.