यसकारण आउन सकेन नेविसङ्घको पूर्ण कमिटी : पौडेलद्वारा देउवासामु अर्को प्रस्ताव
काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले ११ महिना १८ दिनपछि पनि नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अपूरो तदर्थ समिति गठन गरेका छन् ।
देउवाले विहीबार नेविसङ्घमा सभापति र २ महामन्त्रीसहितको समिति मात्र ल्याए । अध्यक्षमा राजीव ढुङ्गाना, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर चयन भएका छन् ।
देउवा निवासमा गएको शुक्रबार शीर्ष नेताहरुबीच नेविसङ्घमा पार्टीभित्रको त्रिपक्षीय भागबण्डामा २१ पदाधिकारीसहित १ सय २७ सदस्यीय समिति ल्याउने सहमति भएको थियो ।
जसमा देउवा पक्षले सभापति, ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एउटा कोषाध्यक्ष र ४० जना सदस्य पाएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ३ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्य पाएको थियो ।
यस्तै काँग्रेसको तेस्रो ध्रुव कृष्णप्रसाद सिटौला पक्षले २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३० सदस्य पाएको थियो ।
पछिल्लो समय काँग्रेसमा फर्किएका उपसभापति विजय गच्छदारको समूहलाई पछि समेट्ने सहमति भएको थियो ।
देउवाको अपुरो निर्णय
सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि आफ्नो पक्षबाट अध्यक्ष र ३ जना महामन्त्रीसहित नेविसङ्घ तदर्थ समिति ल्याउने देउवाको तयारी थियो । तर, तदर्थ समिति गठनको विषयले पार्टी कार्यालयमा नेविसङ्घका नेताहरुबीच कुटाकुटको अवस्था आएपछि त्यो सम्भव भएन । अर्कोतर्फ अन्तिममा शुभराम बस्नेतले देउवाको महामन्त्री अस्वीकार गरिदिए । जसकारण देउवाले तीन सदस्यीय कमिटी मात्र ल्याउन बाध्य भए ।
देउवा पक्षले अहिले बस्नेतको विकल्प खोजी गरिरहेको छ । जसमा कैलालीका पुष्पकुमार शाहीको सम्भावना बलियो बनेको छ ।स्रोतका अनुसार देउवा पत्नी आरजु राणाको जोडबलमा शाही महामन्त्री बन्ने तयारीमा छन् ।
नेविसङ्घमा पौडेल– सिटौला समूहलाई ६२ प्रतिशत दिएपछि देउवा पक्षमा अन्य पदाधिकारी छनोटमा सकस परेको देखिन्छ ।
नेताहरुले आफूनिकट विद्यार्थीहरुलाई जिम्मेवारी दिन दबाब दिँदा देउवाले सबै पदाधिकारी र सदस्य चयन गर्न सकेनन् ।
देउवालाई पौडेलको प्रस्ताव
यता ,पौडेल पक्षमा पनि पदाधिकारी छनोटमा निकै सकस परेको छ । करिब दुई दर्जन बढी पदाधिकारीका आकाङ्क्षीको नाम वरिष्ठ नेता पौडेलको हातमा थमाइएको छ ।
तर पौडेललाई एकल अधिकार भने दिइएको छैन । महामन्त्री शशांक कोइरालाका साथै नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालासँगको समन्वयमा पौडेलले पदाधिकारी छनोट गर्नुपर्ने चुनौती छ ।
नेताहरुबीच नेविसङ्घ तदर्थ समिति गठनको सहमति भएको एक सातासम्म पनि पौडेल पक्षले पदाधिकारी छनोट गर्न सकेको छैन ।
आकाङ्क्षीको व्यवस्थापन गर्न नसकेपछि पौडेलले देउवासामू फेरि पदाधिकारीको संख्या थप्न प्रस्ताव गरेको स्रोतले रातोपाटीलाई जनाकारी दिएको छ ।
पौडेलको प्रस्तावमा उपाध्यक्ष र सह–महामन्त्रीको सङ्ख्या बढाउन उल्लेख छ । सामावेशीतालाई ध्यानमा राखेर ११ जना उपाध्यक्ष, १३ जना सहमहामन्त्री राख्न पौडेलले प्रस्ताव गरेका हुन् ।
यद्यपी यो विषयमा देउवा र पौडेलबीच छलफल भने हुन सकेको छैन । यसअघि ६ जना उपाध्यक्ष र ६ जना सहमहामन्त्री बनाउने कुरामा सहमति भएको थियो ।
तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी महाधिवेशनमा उम्मेदवार हुन पाउने भएपछि यतिबेला धेरैले पदाधिकारीका मरिहत्ये गरिरहेको देखिन्छ ।
तर, नैनसिंह महर नेतृत्वको कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले मात्र १२ औँ महाधिवेशनमा भाग लिन पाउनेछन् ।
देउवा पक्षका नेताहरुले तत्कालीन पार्टी सभापति सुशील कोइराला कार्यकालमा नेविसङ्घको महाधिवेशन हुन नसक्दा नेतृत्वमा आउन बाट छुटेकालाई यो पटक अवसर दिइएको तर्क गर्छन् ।
यता, अध्यक्षमा मानोनित भएपछि ढुङ्गानाले पार्टीले दिएको जिम्मेवारीअनुसार छ महिनाभित्र १२ औँ महाधिवेशन गरिसक्ने बताए । पार्टीले ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी सुम्पिएको छ ।
साथै उनले विधानमा उल्लेख गरिएको उमेर हद कार्यान्वयनको मागसहित आमरण अनसनमा बसेकाको पनि उचित समाधान खोजिने बताए ।
तदर्थ समिति ल्याएको विषयमा ३२ वर्षे उमेर हदको कुरा नभएको पार्टी प्रवक्ता शर्माले बताए ।
उनले भने, ‘नेविसङ्घको विधान २०२७ (सातौँ संशोधन) को भाग २, धारा ५ अन्तर्गत वुदा नं ५ भन्छ– ३२ वर्ष पुगेको व्यक्ति नेविसङ्घको सदस्य बन्न पाउँदैन र यो व्यवस्था सङ्घको १२ औँ महाधिवेशनबाट लागू हुनेछ । अर्थात महाधिवेशनबाट आउने समिति र महाधिवेशन गराउने समिति फरक कुरा हुन् ।’
गगन प्रदीपको उदासीनता
यता, सिटौला पक्ष भने नैतिक सङ्कटमा परेको छ । सिटौलाले बूढानीलकण्ठमा जनाएको सहमतिविरुद्ध पार्टी कार्यालयको ढोकामा उनीनिकट विद्यार्थी नेता नवराज त्रिपाठीको आमरण अनशन जारी छ ।
तदर्थ समिति विधानमा व्यवस्था गरिएको ३२ वर्षे उमेर हदभित्रबाट हुने पर्ने उनको माग छ ।
सिटौलानिकट विद्यार्थीको ठूलो पंक्तिको साथ छ त्रिपाठीलाई । अनशन तोडाउने गगन थापा र प्रदीप पौडेलको प्रयास विफल भएपछि सिटौला पक्ष अन्यौलग्रस्त देखिएको छ ।
एकातिर अनशनरत पक्षलाई मनाउनु पर्ने चुनौति देखिएको छ भने अर्कोतिर पदाधिकारी छनोटमा सकस छ ।
नेविसङ्घको विषयमा निर्णय लिन सिटौलाले गगन र प्रदीपलाई जिम्मेवारी दिएका छन् । एक सातासम्म पनि पदाधिकारी छनोट र अनशनरत पक्षलाई मनाउन नसक्नुले उनीहरुको उदासीनता प्रष्ट झल्किन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?
-
आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै