दुल्लामियाँले भारतीय प्रहरीलाई भनेका थिए, ‘साथीको हत्या गरेर आएको हुँ’
काठमाडौँ । गत साता सोल्टिमोडस्थित भिल्ला ग्रान्ड होटलमा ४५ वर्षीय बङ्गलादेशी नागरिक मुहिउद्धिन अहमद परवेजको विभत्स हत्या भयो । हत्यामा संलग्न बङ्गलादेशी नागरिक दुला मियाँ पक्राउ परेका छन् ।
सिरहाको लहानबाट पक्राउ परेका मियाँलाई महानगरीय प्रहरी परिसर काठमाडौँले बिहिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरी अनुसन्धानबाट परवेज र मियाँ एउटै फ्लाइटमार्फत नेपाल आएका हुन् ।
परवेजको हत्यामा संलग्न मियाँविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसरी नेपाल आएका थिए ?
१४ जनवरीमा बङ्गलादेशको वोएली गाईबन्धा घर भएका मियाँ १० हजार टाँका बोकेर ढाका गएका थिए । उनी त्यहाँ एक होटलमा बसेका थिए । परवेज पनि होटलमा जान्थे ।
उनीहरु सँगै बसेर खान्थे । ६ दिन होटलमा बसेका मियाँले ६ हजार टाँका त्यही खर्च गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । उनीसँग ४ हजार टाँका बाँकी हुन्छ ।
जनवरी १९ तारिखमा परवेजले सनवे ट्राभल एण्ड टुर्सबाट नेपाल जान भन्दै हिमालयन एयरलाइन्सको २ वटा टिकट बुक गर्छन् । त्यतिबेला सम्म मियाँलाई थाहा हुन्न ।
२० जनवरीमा उनीहरु हिमालय एयरलाइन्सको १० नम्बरको सी र डी सिटमा बसेर नेपाल आउँछन् । उक्त एयरलाइन्समा थप ४ जना बङ्गलादेशी नागरिक पनि थिए ।
ती बङ्गाली नागरिकले उनीहरुलाई सोध्छन्, ‘कुन देश जान लागेको ?’ परवेजले लेवनान जान लागेको बताउँछन् । यता, परवेजले मियाँलाई नेपालमा ट्रान्जिट छ । एकदिन बस्न पर्छ । भोलिपल्ट नेपालबाट लेवनान जाने भन्दै ल्याएका थिए ।
परवेजले मियाँलाई लेवनान पठाइदिन्छु भनेर ३ वर्ष अगाडि रु ३ लाख टाँका दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । सोही अनुरुप परवेजले मियाँलाई जनवरी २१ मा लेवनान जाने भन्दै नेपाल ल्याएका थिए ।
ती चार बङ्गालीले परवेजको कुरालाई विश्वास गरे । ती चार नागरिक नेपाल हुँदै संयुक्त अरब इमिरेट्स (युएई) जान लागेको थिए । साँझको ८ः५७ मा उनीहरु सवार जहाज काठमाडौँ उत्रियो ।
के भएको थियो ?
विमानस्थलको चेकजाँचपछि एक ट्याक्सी लिएर सिधै उनीहरु सोल्टीमोडस्थित भिल्ला ग्रान्ड होटल हानिए । उनीहरु ९ः५१ मा होटल पुग्छन् । पहिला पनि आउने ग्राहक भएको कारण परवेजको नाममा ११४ नम्बरको कोठा ‘बुक’ गरिएको थियो ।
उक्त हाटेमा परवेज पहिला पनि आएर बस्ने गरेको होटलसञ्चालकले रातोपाटीलाई बताए । उनीहरु सो रात त्यहीँ बसे । अन्त बाहिर कतै निस्किएनन् ।
२१ जनवरी अर्थात माघ ७ गते उनीहरु ७ बजेतिर उठे । मियाँले लेवनान जाने फ्लाइट कति बजेको हो भनेर परवेजलाई सोधे । तर, उल्टै परवेजलाई मियाँलाई धम्क्याउन थाले ।
मियाँले प्रहरी समक्ष आफूलाई परवेजले होटलबाट बाहिर निस्कन पनि नदिएको र यदि निस्किए मारिदिने धम्की दिएको बताएका छन् । धम्क्याउँदै नेपाल बस्दा लाग्ने खर्च व्यहोर्न पनि भनेको प्रहरीसमक्ष मियाँले भनेका छन् ।
१२ः०५ बजे परवेजको एकजना बङ्गाली साथी होटलमा भेट्न पुग्छन् । होटलमा उनीहरुबीच ३३ मिनेट कुराकानी हुन्छ । दिउँसोको १ः३८ बजे ती साथी बाहिर निस्किन्छन् । साथीलाई छोड्न परवेज पनि बाहिर सडकसम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
परवजे ७ मिनेटपछि होटलमा फर्किन्छन् । त्यतिबेला मियाँ कोठामै थिए । फेरि उनीहरुबीच लेवनान पठाइदिने विषयमा झगडा हुन्छ । परवेजले होटलको कोठामा थुन्दिएर आफू निस्किने समेत चेतावनी दिएको प्रहरीको बयानमा मियाँले बताएका छन् । विवाद भइरहन्छ ।
दिउँसोको ३ः१० बजे उनीहरुले अर्डर गरेको खाना कोठामा लगेर वेटरले सर्भिस गर्छन् । खाना खाइसकेपछि दुवैजना ३ः३२ बजे होटलको बाल्कोनीमा आएर कुरा गर्छन् ।
त्यहाँ पनि परवेजले मियाँलाई धम्की दिन्छन् । ३ः५४ बजे उनीहरु दुवैजना कोठा भित्र छिर्छन् । परवेज बेलुका रमाइलो गर्न पर्छ भन्दै सुत्ने तर्खर गर्छन् ।
मियाँका अनुसार नेपाल आउने भनेपछि हेग लेखिएको एक बोत्तल रक्सी बङ्गलादेशको ड्युटी फ्रिबाट किनेर ल्याइएको थियो । रक्सीको पैसा परवेजले नै तिरेको र आफूले हातमा बोकेर ल्याएको प्रहरीसमक्ष मियाँले बयान दिएका छन् ।
मस्त सुतिरहेका परवेजको उक्त रात रमाइलो गर्ने योजनालाई मियाँले असफल पारेका छन् । सुतिरहेको बेला मियाँले परवेजको हत्या गर्ने योजना बनाउँछन् ।
मियाँले ड्युटी फ्रिबाट ल्याएको सिल नखोलेको रक्सीको बोत्तल परवेजको दाहिने आँखामा प्रहार गर्छन् । परवेज बेहोस हुन्छन् । त्यसपछि मियाँले फुटेको रक्सीको बोत्तल परवेजको घाँटीमा छिराउँछन् । तीन पटकसम्म परवेजमाथि बोत्तल प्रहार गर्छन् ।
बेडभरी जताततै रगत लाग्छ । मियाँले लगाएको कपडामा पनि जताततै रगत लाग्छ । त्यसपछि मियाँ बाथरुममा गएर रगत पखाल्छन् । नयाँ कपडा लगाउँछन् ।
होटलको पछाडिबाट पनि बाहिर निस्कने बाटो छ । बाहिरको बाटो प्रयोग गर्दै मियाँ ५ः१५ मा होटलबाट निस्कन्छन् । सिधै सोल्टीमोड चोक पुग्छन् । २० मिनेटजति त्यहाँ टोलाउँछन् ।
बाटोमा हिँडेका एक जनालाई सोध्छन्, ‘वीरगञ्ज जाने बाटो कहाँबाट हो ?’ ती व्यक्तिले बाफलको बाटो हुँदै छिटो पुगिने भन्दै कलंकी जाने बाटो बताइदिन्छन् । मियाँ बाफलको बाटो हुँदै कलंकी पुग्छन् ।
कलंकी पुगेका मियाँ सिधै वीरगञ्जको बस काउन्टरमा पुग्छन् । मियाँले आफूसँग एक हजार टाँका भएको भन्दै काउन्टरका कर्मचारीलाई वीरगञ्ज पुर्याइदिन आग्रह गर्छन् ।
काउन्टरका कर्मचारीले पनि न्यू सन्ध्या डिलक्स ना५ख २४८७ नम्बरको बस चालक र सहचालकलाई पुर्याइदिने भन्दै सोध्छन् । चालक सहमत हुन्छन् । मियाँ राती ८ बजे कलंकीबाट वीरगञ्जतर्फ प्रस्थान गरेको प्रहरी बताउँछ ।
होटलको पछाडिबाट निस्कने बाटो ।
मियाँलाई गाडी चालकले नै बाटोमा खाना खुवाउँदै लैजान्छन् । माघ ८ गते २ः३० बजे गाडी वीरगञ्ज पुग्छ । मियाँ गाडीबाट ओर्लेर सिधै एकहजार टाँका साँट्न वीरगञ्जस्थित बङ्गलादेश बैङ्क पुग्छन् ।
टाँका बैङ्कमा साटिन्न । त्यसपछि मियाँ वीरगञ्जको घण्टाघर नजिकै रहेको एक मनि एक्सेन्ज जान्छन् र टाँका साँट्छन् । एक हजार टाँकाको नेपाली ९ सय रुपैयाँ हुन्छ ।
गाडी भाडा र खाजा खर्च भनेर गाडी चालकले ७५० रुपैयाँ मियाँसँग माग्छन् । मियाँले १५० बाँकी राखेर सबै पैसा दिन्छन् । नेपाल–भारत बोर्डर पुगेका मियाँ कसरी हुन्छ भारत छिर्ने योजनामा थिए ।
घण्टाघर नजिकै एक पसलमा मियाँले चिया र दुनोट खान्छन् । ४० रुपैयाँ त्यहाँ तिर्छन् । ११० नेपाली रुपैयाँ बाँकी हुन्छ । तर, मियाँसँग अरु ३ हजार टाँका थियो ।
दिउँसोको ३ बजे मियाँ भारत छिर्छन् । पहिलो चेकिङ प्वाइन्टमा उनलाई चेकिङ हुन्न । तर, दोस्रो प्वाइन्टबाट उता जान पाउँदैनन् । भारतीय प्रहरीले मियाँलाई फारम भर्न लगाउँछ । मियाँले फारम भर्छन् ।
मियाँको पासपोर्ट माग्छ । पासपोर्टमा नेपालबाट बङ्गलादेश जाने भीषा लगाइएको छ । तर, भारतको भिषा छैन् । प्रहरीले जान मिल्दैन भन्छ ।
मियाँले आग्रह गरिरहन्छन् । प्रहरी मान्दैन । अन्तमा रुँदै नेपालमा मान्छे मारेर आएको कुरा मियाँले प्रहरीलाई बताउँछन् । समात्न पर्नेमा उल्टै भारतीय प्रहरीले कलकतामा बङ्गलादेशी कन्सुलर रहेको र, त्यहाँ जान सुझाव दिन्छ ।
मियाँले पनि प्रहरीलाई दिएको बयानमा भारतीय प्रहरीलाई घटनाबारे बताएको र कोलकतास्थित कन्सुलर जान सुझाव दिएको बताएका छन् । भारतीय प्रहरीको सुझावपछि आफू कोलकता गएको मियाँले प्रहरीलाई भनेका छन् ।
ट्रेन चढेर मियाँ कलकतास्थित बङ्गलादेशी कन्सुलर जान्छन् । कन्सुलर पुगेपनि मियाँ भारतबाट बङ्गलादेश जान पाउँदैनन् । कन्सुलरका कर्मचारीले नेपाल हुँदै आफ्नो स्वदेश फर्किन सुझाव दिन्छन् ।
३÷४ दिनसम्म मियाँ कलकतामै बस्छन् ।
माघ १५ गते साँझ मियाँ झापा काकडभिट्टा फर्किन्छन्् । काकडभिट्टामा ड्युटीमा रहेको पर्यटक प्रहरीलाई सोध्छन्, ‘कसरी बङ्गलादेश जाने ?’ ‘बङ्गलादेशको राजदूतावास काठमाडौँमा छ । त्यहीँ जानु प्रक्रिया अफ्ठ्यारो छैन्,’ प्रहरीले सल्लाह दिन्छन् ।
त्यतिबेला साँझको ७ बजेको थियो । मियाँ काठमाडौँ फर्किनको लागि काकडभिट्टाबाट ना७ख ६३७४ नम्बरको मेट्रो बस चढछन् । बसको सिट प्याक हुन्छ ।
जब साँझ ९ बजेतिर ती पर्यटक प्रहरीले मिडियामा ‘बङ्गलादेशी नागरिकले होटलमा गरे आफ्नै साथीको हत्या’ फोटोसहितको समाचार देख्छन् । तत्कालै घटना महानगरीय प्रहरी वृत्त कालीमाटीको हो भन्दै वृत्तका प्रमुख डीएसपी रुगम कुँवरलाई फोन गर्छन् ।
घटनाबारे बुझेपछि डीएसपी कुँवरले मियाँको फोटो भाइबरमार्फत ती पर्यटक प्रहरीलाई पठाइदिए । ती पर्यटकले फोटो हेर्दा मियाँ त्यही मान्छे हुन्छन् । तत्कालै ती पर्यटक प्रहरीले डीएसपी कुँवरलाई गाडी नम्बर र गाडी चालकको नम्बर पनि पत्ता लगाएर पठाउँछन् ।
गाडी चालकलाई फोन गरेर घटनाबारे बताउँदै डीएसपी कुँवरले नजिकै रहेको प्रहरी चौकीमा गाडी लैजान भन्छन् । यता डीएसपी कुँवरले इलाका प्रहरी कार्यालय लहानका डीएसपीलाई पनि घटनाबारे बताइसकेका हुन्छन् ।
चालकले गाडी सिधै इलाका प्रहरी कार्यालय लहान नै लैजान्छन् । गाडीभित्रबाटै मियाँलाई प्रहरीले नियन्त्रणमा लिन्छ । मियाँलाई सोही गाडीमा तीनजना प्रहरीको सुरक्षा घेरामा राखेर काठमाडौँ ल्याइएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
लेवनान पठाउन भनी ३ लाख टाँका दिएको र पठाउन नसकेको कुरामा विवाद भएपछि परवेजको हत्या गरेको मियाँले स्वीकार गरेको प्रवक्ता बोगटीले बताए ।
अभियोग स्वीकार गरेका मियाँलाई प्रहरीले बिहिबार बिहान काठमाडौँ ल्याएर सार्वजनिक गरेको हो ।
काठमाडौँ ओर्लेदेखिको घटनाक्रम
माघ ६ गते
राती ८ः४७ बजे उनीहरु काठमाडौँ उत्रिएको ।
राती ९ः५१ बजे होटल पुगेको ।
माघ ७ गते
दिउँसो १२ः०५ बजे परवेजलाई नयाँ मान्छे होटलमा आएको ।
दिउँसो १ः३८ बजे नयाँ मान्छे बाहिर निस्कियो । (परवजे साथीलाई छोड्न बाहिर सडकसम्म नै पुगेको)
दिउँसो ३ः४५ बजे साथीलाई बाहिर छाडेर परवेज होटलमा छिरेको ।
अपरान्ह ५ः१० बजे होटलका वेटरले उनीहरुलाई खाना सर्भिस गरेको ।
अपरान्ह ५ः३२ बजे दुवैजना होटलको बाल्कोनीमा आएर कुराकानी गरेको ।
अपरान्ह ५ः५४ बजे होटलको कोठामा छिरेको ।
साँझ ७ः१५ बजे मियाँ होटलबाट आउट भएको ।
साँझ ८ः०० बजे मियाँ कलंकीबाट वीरगञ्जको गाडी चढेको ।
माघ ८ गते
दिउँसो २ः३० बजे मियाँ वीरगञ्ज पुगेको ।
दिउँसो ३ः०० बजे भारत छिरेको ।
दिउँसो ४ः१५ बजे होटल सञ्चालकले प्रहरीलाई खबर गरेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी