हजुरबा बिनाको आँगन
‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै बिन्ती गरून् झुकेर पदमा त्यो बिन्ती सुन्दैन त्यो ।’
कति छिटो दुई महिना भएछ बा (हजुरबुबा), हजुरलाई त्यो २०२६ सालतिरै आफैले लिपपोत गरेर बनाएको आँगनबाट बाँसको कापामा राखी रुँदै देवघाट पुर्याएको पनि ।
सम्झना ताजै छ बा, त्यही आँगनमा आमा (हजुरआमा)ले भनेको नमान्दा आमाको कुटाइ छल्न हजुर पछाडि लुकेर, हजुरलाई आफूसँगै दौडाएको । अनि यो पनि याद छ आमाहरू मेलाबाट आउन ढिला हुँदा हजुरले फकाउन भुजामा अलिकति दालमोठ हालिदिँदा खुसीले त्यही आँगनमा नाचेको ।
वर्ष दिनको महान चाडमा त्यही आँगनमा खाँबो गाडी हजुरले पिङ बनाइदिएर चचहुइ भन्दै हजुर कराउने अनि हामी पिङ खेल्ने । हजुरले नित्य पुजा सकी हामी स्कुल जाने समयमा धन्सारबाट तल झर्दा निधारमा टीका लाउन हामी दिदी बहिनी ‘बा टीका’ भन्दै त्यही आँगनमा तँछाड मछाड गरेको ।
अनि नि हजुरबा, त्यही आँगनको डिलमा ठडिएको आँपको रूखबाट झरेका आपहरू मेरा स्कुले साथीलाई बाँडिदिँदा साथीहरूले ‘तिम्रो हजुरबा त कस्तो जाति है’ भन्दा बुर्कुसी मारेर हजुरलाई सुनाउन स्कुलबाट दौडँदै आएको । यी सबै सबै अस्ति भर्खरै मात्र त भएको हो नि तर समयले नेटो काटिसकेछ हजुरबा ।
आज पनि त्यही आँगनको छेउमा ठडिएको धन्सार माथिको कोठामा मेरो हजुरबा टिभीमा मद्रासी चलचित्र हेरेर मुर्छा पर्दै हासिराख्नु त भएको छैन ? झस्किन्छु म । अनि कतैबाट घर फर्कंदा हेल्मेटसितै ‘हजुरबा’ भन्दै धन्सारतिरै पुगिसक्दा पो याद आउँछ कि मेरो हजुरबा त अस्ति नै हामीलाई छाडेर गइसक्नु भयो ।
अस्पतालको बेडमा हुँदा कति नातिनातिना हजुरको भनेर कसैले सोध्दा, मेरा छोरीको रूप लिएर जन्मिएका चार नाति छन् । यो चाहिँ जेठो नाति हो भनेर चिनाउँदै गर्दा दुनियाँ दङ्ग पर्दथ्यो । म क्याबिनमा खाना लिएर जाँदा नर्सहरूले ‘लौ बुबा, नातिनीले खाना लिएर आइन् उठ्नुस् भन्दा झर्कंदै नाति हो मेरो’ धेरै जान्ने नहुनु भन्दै नर्सहरूलाई हकार्दै तिमीहरू भन्दा जेठो छ मेरो नाति आदर गरेर बोल्नु भन्दै थर्काउँदा छक्क पर्थे नर्सहरू । ‘दिदी तपाईं र हजुरबुबाको सम्बन्ध त निकै गहिरो रहेछ नि’, भन्दै मलाई सुनाउँदा मेरा आँखामा खुसीको आँसु छचल्किन्थ्यो हजुरबा । अनि गर्वका साथ मनमनै भन्थेँ सबैका हजुरबा मेराजस्तै भइदिए ।
आफ्ना दुई छोराका चार छोरीहरू हुँदा कहिल्यै नातिको रहर भएन हजुरलाई । नातिनीहरू पनि नाति समान छन् भनेर सबैको अगाडि छाती फुलाएर गर्वका साथ प्रमाणित गर्न सफल मेरा हजुरबा ।
त्यही आँगनको बीचमा हजुरको मिहिनेतले ठडिएको घरको पिँढीमा बसेर दसैँमा टीका लगाउँदा, मेरा सबै नातीहरू धेरै पढ्नु, ठूलो मान्छे बन्नु, देश विदेश डुल्नु, नाम राख्नु, सबैको भलो चिताउनु भन्दै दिएको आशिर्वाद हजुरको प्राणले यो धर्ती छोडेसँगै लाग्यो हजुरबुबा ।
गाउँघरका केटाकेटी अमेरिका, अस्ट्रेलिया, जापान गएभन्दा हजुरलाई पनि आफ्ना नाति नातिना विदेश गएको हेर्ने रहर थियो होला । गाउँघरका केटाकेटीले आफ्ना बाआमालाई विदेश घुमाएर पठाएको देख्दा हजुरलाई पनि त्यसैगरी घुम्ने रहर थियो होला हजुरबा । अनि हजुरलाई हजुरका दौँतारीहरूसँग हरेक दिन हुने मन्दिरको सर सङ्गतमा मेरो नाति पनि अमेरिका गयो भन्ने ठूलो रहर थियो है हजुरबा ? तर के गर्नु हजुरको प्राण हुँदै त्यो खुसी दिन म सकिनँ हजुरबा ।
अझै पनि छोरोको आसमा कैयौँ छोरीको भ्रुण हत्या गर्ने शिक्षित हुँ भन्नेहरूको खोक्रे आधुनिकताले घेरेको समाजमा हजुरजस्तो हजुरबुबाको नातिनी भएर जन्मन पाउनु मेरो अहोभाग्य हो हजुरबा । हामीले त कहिल्यै हामी यो घरका नातिनी हौँ भन्ने महसुस गर्न पाएनौँ हजुरबा । समाजले छोराछोरी बीच छुट्याइदिएको विभेदलाई भ्रम भएको प्रमाणित गरिदिने मेरो हजुरबा ।
‘मेरा लागि नाति, त्यति मात्रै होइन तिमी त कुल धान्ने नाति हौ, सप्तऋषिको रूप देक्छु म तिमीमा, सबै थोक धान्नु है । बा आमालाई खुसी राख्नु है’ हजुरका अन्तिम यी शब्दहरू मेरा लागि ऊर्जा बनिदिएको छ हजुरबा । मैले वचन दिएकी थिएँ नि हजुरबा । हो हजुरलाई दिएको वचन तलमाथि पर्न दिने छैन म । हजुरको वार्षिकी पक्कै पनि यही नातिले उम्काउने छ हजुरबा ।
आमा (हजुरआमा) भन्नु हुन्छ, ‘तिम्रो हजुरबुबा (बा)लाई हामीले मात्र लगाएको पूजाले त शान्ति मिल्दैन हजुरबुबाको काममा जहाँ भए पनि आऊ ।’ हजुरआमाको यो वचनले झनै कर्तव्यबोध गराएको छ हजुरबा । मेरो हजुरबा जस्तै सबैको हजुरबा भइदिए कुन रुन पथ्र्याे ती नातिनीहरूले ? त मेरो घरमा मात्र होइन हरेक नातिनीहरूको घरमा हजुरबुबाको रूप लिएर आउनुपर्ने जरुरी छ मेरो हजुरबा ।
म हजुरको वार्षिकीमा आउनेछु र हजुर पनि आउनु है हजुरबा अनि हजुरबुबा नातिनी खित्का छोडेर त्यही आगनमा हासौँला नि है ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’