शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्ड ‘अध्ययनमा’ अरु नेता ‘छलफलमा’

बिहीबार, १६ माघ २०७६, १३ : १८
बिहीबार, १६ माघ २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बुधबारबाट सुरु भएको छ । दुई पार्टी एकतापछि एजेण्डासहित बसेको यो बैठकलाई नेकपाका नेता कार्यकर्ताले निकै चासो र महत्वका साथ हेरेका छन् । 

बुधबार अध्यक्ष तथा महासचिवले बैठकमा पेश गरेका प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुबीच समुहगत रुपमा छलफलमा जुटेका बेला सचिवालयका नौ जना नेताहरु भने उक्त छलफलमा सहभागी छैनन् । यो बैठकमा पेश भएका प्रतिवेदनमा गत पुसमा सम्पन्न स्थायी समिति बैठकले पास गरेका धेरै एजेण्डाहरु रहेका छन् ।   

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमै बसेर प्रतिवेदनहरु अध्ययनमा जुटेको ओली र दाहालको निजी सचिवालयले जनाएका छन् ।  त्यस्तै महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा र  प्रवक्ता नारायणकाजी श्रेष्ठ समुहगत छलफलमा सहभागी नभएपनि राजनीतिक तथा सांगठानिक र विधान संशोधन विधेयकको अध्ययनमा जुटेको उनीहरु निकट नेताले जनाएका छन् । 

‘अध्यक्ष प्रचण्ड निवासमै प्रतिवेदन अध्ययनमा जुट्नुभएको छ । आज सार्वजनिक कार्यक्रम पनि राखिएको छैन’, प्रचण्डको सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘आफैले पेश गरेको प्रतिवेदन भन्दा पनि महासचिवले पेश गरेको प्रतिवेदन अध्ययन गर्नुपर्ने भएकाले हुनसक्छ ।’

त्यस्तै प्रधानमन्त्री समेत रहेका केपी ओली पनि बालुवाटारमै बसेर प्रतिवेदन अध्ययनमा लागेको बालुवाटार स्रोतले जनाएको छ ।  प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफुहरु प्रतिवेदन अध्ययनमा लागेको प्रतिकृया दिए । उनले एकसरो अध्ययन र डिस्कसन केन्द्रीय समिति बैठक अघि बसेको सचिवालय बैठकमा भएको भन्दै बाँकी अध्ययनका लागि नेताहरु लागेको प्रतिकृया दिए । 

‘शीर्ष नेताहरु प्रतिवेदनहरुको मिहिन अध्ययनमा लाग्नुभएको छ । समुहगत छलफलपछि आउनसक्ने सम्भावित प्रश्नहरुको समेत अध्ययन गर्नुपर्ने हुनसक्छ’, प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने ।  त्यस्तै प्रवक्ता श्रेष्ठका अनुसार समुहगत छलफलपछि उठेका प्रश्नहरुका बारेमा अध्यक्षहरुले दिनुपर्ने जवाफका बारेमा सचिवालय बैठक बसेर धारणा तय गरिनेछ । 

त्यसो त बैठकमा सदस्यहरुले सरकार र पार्टी सञ्चालनलगायत राष्ट्रिय सरोकारका विषयमा नेतृत्वसँग प्रश्न गर्नुअघि नै उद्घाटन सत्रको सम्बोधनमै अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले धैरै आउन सक्ने प्रश्नको जवाफ दिइसकेका छन् । ओलीको उद्घाटन सत्रको सम्बोधनलाई धेरैजसो सदस्यहरुले ‘प्रतिरक्षा’ को संज्ञा दिएका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप