बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सहिद दिवसको सन्दर्भ : आजको  पुकार  !

बिहीबार, १६ माघ २०७६, १२ : २५
बिहीबार, १६ माघ २०७६

योद्धाका स्वच्छ स्वप्ना, सुमधुर विपना, देशले हेर्न पाओस् ।
स्वार्थी सङ्कीर्ण वृत्ति, इति गर अगुवा, देश क्यै मुस्कुराओस् ।।
छिट्टै समृद्ध बुन्दै, कति मुलुक  यहाँ ! बन्न पाए अमिर ।
हामी रोगी र भोगी, कति दिन रहने, विश्वमा नै गरिब ।।   
।। १।।
खाना, नाना र छाना अब जनजनमा, स्वास्थ्य— शिक्षा सुरक्षा ।
हाम्रा उत्पादनैले जन–उदर भरे, माग्न  पर्दैन  भिक्षा ।।
उद्योगी–सीपवादी, युवक जन उठून्, देश होस् केन्द्रविन्दु ।
नेता जो प्राज्ञवेत्ता, ‘मुलुक र जनता’, मान आधार–सिन्धु ।। 
                                              ।। २।।

जागौँ लागौँ मिलेरै, मन, वचन तथा कर्म एकै बनाई । 
भ्रष्टाचारी हटाई, मुलुक सबल  होस्, एकता चम्चमाई ।।
बोल्ने लेख्ने र अन्वेषण नव– सृजना, फुल्न पाऊन् विवेक ।
साँच्चै समृद्ध चोखो, मुलुक अब बनोस्, नव्य नेपाल देश ।।
।।३।।
                                     
फाल्यौँ  रे एकतन्त्री, कलुषित मनको, साँगुरो जो प्रणाली ।
नेता त्यस्तै बनेमा, जनमत कसरी, मान्छ सत्ताधिकारी ?
नेता आचार सङ्लून्, विमल हिम–शिलाझैँ बनून् पारदर्शी ।
वाचा पूरा गराऊन्, विधि–नियमसितै, न्यायमा हुन् विमर्शी ।। 

।।४।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप