शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याज खर्चमा संयम बन्दा सनराइजको नाफा बढ्यो, ६ महिनामा ९४ करोड

बिहीबार, १६ माघ २०७६, १२ : १८
बिहीबार, १६ माघ २०७६

काठमाडौं । पहिलो त्रैमासको वर्गीकरणमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सूचीकृत कम्पनीमध्ये एकमात्रै ‘क’ वर्गको कम्पनीको रुपमा सनराइज बैंकलाई राखेको थियो । 

नेप्सेको वर्गीकरणलाई साबित गर्दै बैंकले दोस्रो त्रैमासमा उल्लेख्य प्रगतिको रिपोर्ट सार्वजनिक गरेको छ । सनराइज बैंकले यो आर्थिक वर्षको पुससम्म आफ्नो खुद नाफालाई बढाएर ९४ करोड रुपैंया पुर्याएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनमा करिब १९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष पुससम्म बैंकको नाफा ७९ करोड रुपैंया थियो । 

बैंकले पुस मसान्तसम्ममा ८२ अर्ब १५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ८९ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा ७÷७ बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप ७४ अर्ब ४३ करोड र कर्जा ६८ अर्ब ८६ करोड रुपैंया थियो ।

पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब ९४ करोड रुपैंया छ । यो कोष अघिल्लो वर्षको तुलनामा १३ करोड रुपैंयाले बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८१ करोडले बढाएर ८ अर्ब ९६ करोड रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा ८५ करोड रहेको देखिएको छ । 

सनराइज बैंकले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ४ अर्ब ४९ करोडबाट बढेर ४ अर्ब ९६ करोड पुग्दा ब्याज खर्च २ अर्ब ७७ करोडबाट २ अर्ब ९१ करोड रुपैंया पुगेको बैंकले जनाएको छ । अरु बैंकहरुको ब्याज खर्च यो अवधिमा उच्च गतिले बढ्दा पनि सनराइजको यस्तो खर्चमा संयमता देखिएको हो । कर्मचारी खर्च भने ५२ करोडबाट बढेर ७० करोड र अन्य सञ्चालन खर्च करिब २६ करोडबाट ३१ करोड रुपैंया पुगेको देखिएको छ । 

पुस मसान्तसम्म सो बैंकको पुँजीकोष अनुपात १७.१४ प्रतिशत छ यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । निष्क्रिय कर्जा अनुपातलाई १.६९ प्रतिशतबाट १.२६ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ ।

पुस मसान्तसम्म यो बैंकको कस्ट अफ फण्ड ७.१४ प्रतिशत र बेसरेट ९.९९ प्रतिशत छ । बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ ।

बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ५.१४ प्रतिशत छ, यो सीमालाई आगामी असार मसान्तसम्ममा ४.४० प्रतिशतमा ल्याउनुपर्ने हुन्छ जसका कारण नाफा प्रभावित हुनसक्छ । बैंकले बचत खातामा ४ प्रतिशतदेखि ६ प्रतिशत र मुद्दति खातामा ७ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप