महात्मा गान्धीको हत्याका ६ कोसिसको कहानी
महात्मा गान्धीको जीवन एक खुल्ला किताब सरह थियो । उनको जीवनमा धेरै कुरा भइरहन्थे र उनीमाथि धेरैको निगरानी रहन्थ्यो ।
त्यसकारण उनलाई लुकाएर कुनै काम गर्नु वा गान्धीले आफैं कसैलाई केही नभनी कुनै काम लुकेर गर्नु, त्यो सम्भव नै थिएन ।
यो गान्धीको नीति थियो, उनको हिसाबले यो पूर्ण रुपमा सही थियो । उनीमाथि ६ पटक घातक हमला भयो । पहिलो हमला सन् १९३४ मा पुणेमा भएको थियो ।
एक समारोहमा उनी सरिक हुने कार्यक्रम थियो, दुई गाडी आए, लगभग एकै खालका । एउटा गाडीमा आयोजक थिए र अर्कोमा कस्तूरबा र महात्मा गान्धी यात्रा गर्न लागेका थिए ।
गान्धी लिन आउने आयोजकको कार निस्किहाल्यो । बीचमा रेलवे थियो । महात्मा गान्धीको कार त्यहाँ फस्यो ।
त्यतिबेला एउटा बिस्फोट भयो, जुन कार अगाडि निस्किएको थियो त्यो ध्वस्त भयो । महात्मा गान्धी उक्त हमलामा बचे किनभने रेल आउन ढिला भयो । यो सन् १९३४ को कुरा हो ।
पंचगनी र मुम्बईमा हमलाः
सन् १९४४ मा आगा खां प्यालेसबाट रिहा भएपछि गान्धी पंचगनी गएर बसेका थिए, त्यहाँ केही व्यक्ति उनीविरुद्ध प्रदर्शन गरिरहेका थिए ।
गान्धीले उनीहरुसँग कुरा गर्ने, सम्झाउने, उनीहरु रिसाएको कारण जान्नका लागि कुराकानीको प्रस्ताव अघि सारे ।
तर प्रदर्शनकारी कोही पनि कुरा गर्न राजी थिएनन् । त्यसै क्रममा एक व्यक्ति छुरा लिएर उनी भए ठाउँ दौडिए । उनलाई त्यहाँ उपस्थित अन्यले समात्न सफल भए ।
सन् १९४४ मा नै पंचगनीपछि गान्धी र जिन्नाको वार्ता बम्बईमा हुने निश्चित भएको थियो ।
र मुस्लिम लीग र हिन्दु महासभाका केही मानिस उनीहरुको भेट हुने भन्दा नै रिसाएका थिए । ‘गान्धी र जिन्नाको भेटवार्ताको कुनै अर्थ छैन र यो भेटघाट हुनै हुँदैन’ भन्ने उनीहरुको तर्क थियो ।
त्यहाँ पनि गान्धीमाथि हमलाको कोसिस भयो, त्यो पनि असफल रह्यो ।
चम्पारणमा दुईपटक कोसिस भयोः
सन् १९४६ मा नेरुल नजिकै गान्धी जुन रेलगाडीबाट यात्रा गरिरहेका थिए, त्यसको ट्र्याक उखेलियो र रेल पल्टियो, त्यसको इन्जिन कतै गएर ठोक्कियो ।
सन् १९४८ मा दुई पटक हमला भयो । पहिलो पटक मदनलाल बम बिस्फोट गराउन चाहन्थे तर त्यो बिस्फोट भएन । मानिसहरु पक्राउ परे ।
छेटौं पटकको आक्रमणमा भने उनी बच्न सकेनन् । सन् १९४८ मा नाथूराम गोडसेले ३० जनवरीमा चलाएको गोलीका कारण महात्मा गान्धीको ज्यान गयो । यसअघि गान्धीको ज्यान लिने अन्य दुई प्रयास गरियो ।
ती दुई प्रयास निकै रोचक छन् । यी दुई घटना चंपारणमा भयो । सन् १९१७ मा महात्मा गान्धी मोतिहारीमा थिए ।
मोतिहारीमा एक म्यानेजर इरविनले गान्धीलाई कुराकानीका लागि बोलाए । इरविन मोतिहारीका सबै नील फ्याक्ट्रिका म्यानेजरका नेता थिए ।
बत्तख मियांको किस्साः
इरविनले सोचे, ‘जुन व्यक्तिले मलाई दुःख दिइरहेका छन्, ती व्यक्तिसँगको कुराकानीको क्रममा उनले खाने खानेकुरामा विष किन नहाल्ने ?’
एउटा यस्तो विष जसको असर केही समय पछि मात्रै देखिन्छ । यस्तो भए उनीमाथि अनुसन्धान पनि हुँदैन र गान्धीको ज्यान पनि जाने उनले सोचे ।
यो कुरा इरविनले बत्तख मियां अंसारीलाई पनि बताए । बत्तख मियांलाई ट्रे लिएर गान्धी भएठाउँ जान भनियो ।
बत्तख मियाको परिवार सानो थियो । उनी किसान थिए । जागिर खान्थे । त्यसबाट काम चलाउँथे । उनले अस्विकार गरेनन् । उनी ट्रे लिएर गान्धी भएठाउँ गए ।
तर जब गान्धी भएठाउँ पुगे जब बत्तख मियाले त्यो ट्रे गान्धीको अगाडि राख्ने हिम्मत गरेनन् ।
देशको इतिहास के हुन्थ्यो ?
उनी ट्रे लिएर उभिरहे, गान्धीले उनलाई टाउको उठाएर हेर्दा बत्तख मियां रुन थाले । त्यसपछि सबै पोल खुल्यो । यो किस्सा महात्मा गान्धीको जीवनीमा कतै उल्लेख छैन ।
तर लोक स्मृतिमा बत्तख मियां अन्सारी निकै चर्चित व्यक्ति हुन् र कतिले उनी नभएको भए देशको इतिहास के हुन्थ्यो भनेर पनि कुरा गर्ने गर्छन् ।
त्यसपछि बत्तख मियांलाई जेल सजाय भयो, उनको जमिन लिलाम भयो, सबैकुरा गुम्यो ।
सन् १९५७ मा राजेन्द्र प्रसाद राष्ट्रपति थिए, उनी मोतिहारी हुँदै नरकटियागंज जाने तयारीमा थिए ।
राजेन्द्र बाबूले चिनेः
मोतिहारीमा एक जनसभामा उनले भाषण दिए र भाषण दिने बेला उनले टाढा भएका एक व्यक्तिलाई देखे । राजेन्द्र बाबूलाई लाग्यो कि ती व्यक्तिलाई उनले चिन्छन् ।
राजेन्द्र बाबूले त्यहिँबाट बोलाए, ‘बत्तख भाइ कस्तो छौ ?’ बत्तख मियांलाई स्टेजमा बोलाइयो, यो किस्सा राजेन्द्र बाबूले आफूमाझ साझा गरे र उनलाई आफूसँगै लिएर गए ।
पछि बत्तख मियांका छोरा जान मियां अन्सारीलाई उनले राष्ट्रपति भवनमा बोलाएर राखे ।
तयसपछि राष्ट्रपति भवनले बिहार सरकारलाई पत्र लेख्यो, ‘उनको जमिन खोसियो, उनलाई ३५ एकड जमिन प्रदान गरियोस् ।’
यो कुरा ६२ वर्ष पुरानो हो । त्यो जमिन बत्तख मियांको खानदानले अहिलेसम्म पाएको छैन ।
अर्को एउटा रोचक किस्सा छ । जब उनको हत्या गर्ने कोसिस असफल रह्यो तब अर्का विदेशी मिल मालिकलाई निकै रिस उठ्यो ।
उनले भने, ‘गान्धीलाई एक्लै भेटे उनको गोली हानी हत्या गर्नेछु ।’ यो कुरा गान्धीसम्म पुग्यो । अर्को बिहान । महात्मा गान्धी उनकै इलाकामा थिए ।
गान्धी बिहान उठेर ती विदेशी भए ठाउँ पुगे ।
त्यसपछि उनले चौकीदारलाई भने, ‘उनलाई भनिदेउ म आएको छु र एक्लो छु ।’
त्यसपछि उनको कोठामा ढोका खुलेन र विदेशी बाहिर नै निस्किएनन् ।
मधुकर उपाध्याय /बीबीसी