शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाको सहयोगमा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लान्ट राखिने

बुधबार, १५ माघ २०७६, १३ : २४
बुधबार, १५ माघ २०७६

काठमाडौँ । सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आज गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग अक्सिजन प्लाण्ट राख्ने विषयमा सम्झौता गरेको छ । 

शहीद गंगालाल श्रेष्ठको सम्झनामा स्थापना भएको गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 काठमाडौँ क्षेत्र नम्बर–५ का सांसद समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेर र प्रदेश सांसद दिपक निरौलाको रोहवरमा भएको सम्झौतापत्र हस्ताक्षरमा अस्पतालमा उपचारका लागि आउने विरामीहरुका लागि निशुल्क अक्सिजन उपलब्ध गराउन आवश्यक पर्ने अक्सिजन प्लाण्ट र त्यससम्वन्धि उपकरण खरिदका लागि लाग्ने सम्पूर्ण रकम महानगरपालिकाले उपलब्ध गराउने उल्लेख छ । त्यसका लागि काठमाडौँ महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ । 

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै मेयर शाक्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही गरौँ भन्ने उदेश्यका साथ महानगरपालिकाले यस्तो कामको थालनी गरेको बताए । 

मेयर शाक्यले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा केही सहयोग गरौँ भन्ने भावनाका साथ यस्ता कामको थालनी गरेको दोहोर्याउँदै महानगरपालिकाकै सहयोगमा नेपाल एम्वुलेन्स सेवाले १० वटा एम्वुलेन्समार्फत सेवा दिइरहेको पनि स्मरण गराए । 

कार्यक्रमलाई सम्वोधान गर्दै अस्पतालका कार्यकारी निर्देशक डा अधिकारीले पनि महानगरपालिकाको यस्तो सहयोगबाट आफूहरु उत्साहित भएको भन्दै २० वर्षदेखि निरन्तर सञ्चालनमा रहेको यस अस्पतालमा स्वास्थ्य सेवा लिनेहरुको अत्याधिक भीड बढिरहेको अवस्थामा यो खालको सहयोगले निकै सहज हुने बताए । 

कार्यक्रममा मन्त्री पोख्रेलसँगै स्वास्थ्य राज्यमन्त्री नजराज राउत, प्रदेश तीनका सांसद नारायण सिलवाललगायतको पनि उपस्थिति रहेको थियो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप