शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४५ वर्षपछि घर फर्किएका डिलबहादुरले गाउँ चिन्नै सकेनन्

बुधबार, १५ माघ २०७६, १३ : ०७
बुधबार, १५ माघ २०७६

बुटवल । गरिवी र अभावले सानै उमेरमा घर छाडेर मुग्लान पसेका बाग्लुङ दाँगचौरका डिलबहादुर विक ४५ वर्षपछि घर फर्किएपछि आफ्नै गाउँघर देखेर चकित भएका छन् । 

बडिगाड गाउँपालिका वडा नम्वर ५ मा पर्ने दाँगबासका विक आजभन्दा ४५ वर्ष अघि १० वर्षको उमेरमा रोजगारीका लागि भारतको सिलाङ पुगेका थिए ।

अहिले ५५ वर्ष उमेर पुगेका विक ४५ वर्षपछि घर आउँदा चिन्नै नसक्ने गरि गाउँको मुहार फेरिएको बताउँछन् । विकले आफ्नो घर त परै जाओस्, गाउँसमेत चिन्न नसकेर अल्मलिएको बताए ।

उतिबेला जताततै खरैखरका झुपडीहरु थिए । गाउँको लवाई खुवाई र बोली–भाषा पनि बेग्लै थियो । अहिले धेरैजसो पक्की घर र टिनका छानाले झिलीमिली बनेको छ उनको गाउँ । उनी हिड्ने साँघुरो गोरेटो बाटोमा अहिले मध्यपहाडी लोकमार्ग अन्तर्गत डबल लेनको पिच सडकमा चौबिसै घण्टा गाडी गुडिरहेका छन् ।

उतिबेला सुँगुर पालनले सिकसिको लाग्ने उनको टोल अहिले निकै सफा र सभ्य बनेको छ । यसर्थ पनि आफ्नो गाउँ र छिमेकी, हिजोका ती टोलहरुको नाम समेत आफूले भुलेको उनी बताउँछन् ।

आमाको मृत्यु हुँदा समेत घर नआएका उनी यही माघ ४ गते घर फर्किएका हुन् । ७४ वर्षको उमेरमा उनका माइला दाजु सेते विकको मृत्यु भएपछि उनी ४५ वर्षपछि घर आएका हुन् ।

सायद यतिबेला पनि घर आउँदैनथे उनी । तर मृतक सेते विकका  एक छोरा देवबहादुर विक सिलाङ्ग मै थिए । यस कारण पनि उनी भतिजासँगै घर आएका हुन् । उनको मानसपटलमा रहेको घर अगाडिको खारा बजार अहिले सुनसान र जिर्ण देखे उनले । धेरै बेर त यो खारा बजार हो भने भेउ पाउनै नसकेको उनले बताए ।

हुन पनि हिजोको खारा बजारलाई अहिले मध्य पहाडी लोकमार्गको छेउमा बनेका अग्ला पक्की घर–पसलहरुले छेकेको छ र ओझेलमा पारेको छ । हिजोका ती चिर परिचित पसलेहरुमध्ये कसैको मृत्यु भइसकेको छ भने कोही त्यहाँबाट बसाई सरेर अन्यत्रै गइसकेका छन् ।

पुरानो खारा बजारका अधिकांश घर पसलहरुमा यतिबेला ताला मारिएको छ । बरु हिजोको सामन्य गाउँ अलि पर खौलारा यतिबेला अग्ला अग्ला भवन, होटल र पसलसहित ठुलो बजार बनेको छ ।  
त्यहाँबाट बालुवा, न्वाँरा, लब्धीखोलासम्म बजारिकरण सुरु भएको छ ।

हिजोको खारा बजारभन्दा अलि माथि लहरै विश्वकर्मा परिवारका दर्जनौँ आरन थिए उतिबेला, जहाँ कृषि औजारदेखि तामा, काँसका कामहरु गरिरहेको आवाज गुञ्जिने गर्दथ्यो । अहिले त्यो ठाउँमा एक÷दुई घरमात्रै छन् । आरन एउटामात्रै देखे उनले, त्यो पनि काम गर्ने मान्छे विनाको खाली । अलि माथि दाँगचौंरमा उनको पुर्ख्यौली घर हो ।

भतिजा देवबहादुरको सहारामा माथि पुर्ख्यौली घर पुगे उनी । तर उनले ४५ वर्षअघि छाडेर गएको त्यो घरको भग्नावशेषसमेत देख्न पाएनन् उनले । उनी अहिले मृतक माइला दाजुले बनाएको घरमा बसेर काज किरियामा रहेका माइला दाजुका ६ जना छोराहरुलाई  सहयोग गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप