ल्यान्डफिल्ड साइट आसपासका १० स्थान अति प्रभावित
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा.भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हुँदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ ।
मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मङ्गटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौँको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।
यसैगरी ककनीका आठ वटा र धुनिबेँसीका दुई ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तर्गत पाठक गाउँ, डिगाउँ गरी दुई वटा ठाउँ छन् ।
ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्याङ्की डाँडा गरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।
वैज्ञानिक डा.पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ ।
‘स्थलगतरूपमा गरिएको नमूना सङ्कलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो’, डा पन्तको भनाइ छ । अध्ययन गएको असोज र कात्तिक महिनामा गरिएको हो ।
अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर, ल्यान्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल्ड साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोको कणको अवस्था र यिनीहरूले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता विषय समेटिएका थिए ।
यसका लागि लिचेड निष्कासन हुने एक ठाउँबाट लिचेडको, कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना सङ्कलन गरिएको थियो । त्यस्तै ल्यान्डफिल्ड साइटको तीन ठाउँबाट माटो, सिसडोलको दुई वटा ठाउँबाट ग्यास, ककनी गाउँपालिका वडा १ र २ का एकएक ठाउँबाट घुलनशील धुलोका कणका नमूना सङ्कलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।
अध्ययनका लागि नास्टका सचिव डा.महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । नास्टकै वरिष्ठ वैज्ञानिक अधिकृत डा पन्त सदस्य–सचिव रहनुभएको समितिको सदस्यमा नाष्टका वैज्ञानिक डा.दीपाश्री रावल र जयश्री सिजापति भएका थिए भने वातावरणविज्ञ इञ्जिनीयर सूर्यमान शाक्य र महानगरका इञ्जिनीयर सरकारदीप श्रेष्ठ सदस्य रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा