शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, एकजना मोस्टवान्टेड अपराधी पक्राउ

बुधबार, १५ माघ २०७६, १२ : १९
बुधबार, १५ माघ २०७६

रौतहट । रौतहटको भारतीय सीमा क्षेत्रमा गएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको छ ।

भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका एकजना मोस्टवान्टेड भारतीय अपराधीलाई प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिन सफल भएको छ ।

जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरी गस्ती टोलीबीच गोली हानाहान भएको थियो ।

गोली हानाहानमा भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्र अन्तर्गत जटौलिया ग्राम पन्चायत वडा नं. ४ का शेख चाँद अलीको दाहिने खुट्टामा गोली लागेर घाइते भएको जिल्ला प्रहरी रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।

राति १२ बजेको समयमा प्रहरी गस्ती टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा मोस्टवान्टेड भनिएका शेख चाँदको खुट्टामा गोली लागेको हो ।

हतियारधारी समूहले एक राउण्ड गोली चलाउँदा प्रहरीले चार राउन्ड गोली चलाएको थियो । प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ ।

पक्राउ परेका चाँद अलीसँग सोधपुछको क्रममा उनीसहित अर्का भारतीय अपराधी मोमताज, नेपाली नागरिक ओमप्रकाश साह तीनैजनाको समूह रौतहटका एकजना स्थानीय ब्यापारीसँग फिरौती लिन नेपाल प्रवेश गरेको प्रकाशमा आएको हो । सोही क्रममा प्रहरी टोलीका साथ भिडन्त भएको अलीले प्रहरीलाई प्रारम्भिक बयानमा बनाएको एसपी रविराज खडकाले जानकारी दिए ।

त्यसैगरी उक्त समूहले यसअघि रौतहटमा थुप्रै अपराध गरेको चाँद अलीले स्वीकारेका छन् ।

केहीसमय अघि जिल्ला अदालत गौरमा निलम्बित सांसद आफताव आलम प्रकरणको सुनवाईको समय सीमावर्ती क्षेत्र मठिया प्रहरी चौकीमा सकेटबम प्रहार समेत उनकै समूहले गराएको सामाजिक सञ्जाल फेसबुकमा अलीले पोष्ट गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताएका छन् ।

त्यतिमात्र नभई गत पुस ९ गते ईशनाथ नगरपालिकाको कार्यालयमा बम, गत पुस ६ गते ईशनाथ–४ मा रामअवध सिंहको मदिरा पसलमा बम र गत मंसिर २१ गते राजपुर नगरपालिका–७ स्थित चौधरी ईटा भट्टामा आफ्नै समूहले बम राखेको चाँद अलीले स्विकारेको डिएसपी कार्कीले बताए ।

उक्त समूह लामो समयदेखि रौतहटका विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी, ब्यापारी लगायतलाई थर्काएर पटक पटक चन्दा संकलन गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतीय अपराधी चाँद अली समूहमाथि यसअघि नै विभिन्न अपराधमा संलग्न रहेको आरोपमा चारवटा मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चाँद अलीको पक्राउबाट विगतमा जिल्लामा भएका अन्य आपराधिक घटनाहरु पनि प्रकाशमा आउने प्रहरीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप