मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तेश्रो मधेश आन्दोलनका क्रममा असई थमन विकको हत्यासम्बन्धी मुद्दामा सुनुवाइ जारी

बुधबार, १५ माघ २०७६, १२ : १०
बुधबार, १५ माघ २०७६

जनकपुर । तराई–मधेशमा तत्कालीन मधेश केन्द्रित दल लगायतले गरेको तेश्रो मधेश आन्दोलनको क्रममा हत्या भएको सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमनबहादुर विकको मुद्दाको सुनुवाइ जिल्ला अदालत महोत्तरीमा जारी छ ।

जिल्ला अदालत महोत्तरीले सशस्त्रका असई थमनबहादुर विश्वकर्माको हत्यामा संलग्न भएका आरोपीको बयान लिने क्रम सोमबारदेखि नै जारी छ ।

आरोपीमध्ये प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जलेश्वरनाथ नगरपालिका नगर प्रमुख रामशंकर मिश्र, राजपा नेपालका केन्द्रीय महासचिव सुरेश पाण्डे, समाजवादी पार्टीका लक्ष्मी महतो, धर्मेन्द्रकुमार राय, मोहन ठाकुर, संजयकुमार साह, पवन कापर र प्रदिप साह माझी गरी ९ जना प्रतिवादीका तर्फबाट २२ र वादीका तर्फबाट ८ जना साक्षीको बयान लिने कार्य भइरहेको छ । वादीको तर्फबाट ८ जनाको बकपत्र लिने कार्य अदालतको ईजलाश नम्बर ४ मा सम्पन्न भएको छ भने प्रदीवादी तर्फकाको समेत लिने कार्य एक सातासम्म जारी रहने छ ।

हत्यामा संलग्न सञ्जयकुमार साह, पवन कापर र प्रदीप साह महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेको र समाजवादी फोरमका केन्द्रीय सदस्य लक्ष्मी महतो १ लाख रुपैयाँ धरौटीमा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जलेश्वरनाथ नगरपालिका नगरप्रमुख रामशंकर मिश्र, राजपा नेपालका केन्द्रीय महासचिव सुरेश पाण्डे, धर्मेन्द्रकुमार राय, मोहन ठाकुर साधारण तारेखमा रिहा भएका थिए ।

तेश्रो मधेश आन्दोलनको क्रममा २५ भदौ २०७२ मा सशस्त्र प्रहरी बल जिल्ला कमाण्डपोष्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरी कार्यरत असई थमनबहादुर विकलाई तत्कालीन मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्काले हानेर गम्भिर घाइते बनाएको आरोप छ ।

घाइते विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पु¥याएको थियो । जलेश्वरमा प्रारम्भिक उपचारपछि एम्बुलेन्समा तत्कालीन जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा साविक महोत्तरी वडा नम्बर ८ स्थित सनोखडास्थित धान खेतमा आन्दोलनकारीले असई विकको हत्या गरेका थिए ।

तेश्रो मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आह्वान गरेको ‘चलु जलेश्वर भरु जलेश्वर’ अर्थात जाऔँ जलेश्वर भरौँ जलेश्वरको आह्वानको क्रममा स्थानीय प्रशासनले लगाएको कर्फुयू तोड्दै आन्दोलनकारीहरुले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रवेश गरेपछि दोहोरो झडप भएको थियो । सो क्रममा केही आन्दोलनकारी मारिए भने केही प्रहरीसमेत घाइते भएका थिए ।

सोही क्रममा गम्भिर घाइते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई थप उपचारका लागि जनकपुर लैजादै गर्दा आन्दोलनकारीहरुले बीच बाटोमै घेरा हाली गाडीभित्रै हत्या गरेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप