केन्द्रीय संस्करण

कोरोना भाइरस सङ्क्रमणको नेपालमा यसरीे भयो पुष्टि

person explore access_timeमाघ १४, २०७६ chat_bubble_outline0

काठमाडौँ । चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस एक नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । उनी त्यही प्रान्तबाट आएका नेपाली हुन् ।
एक जनामा देखिए पनि सङ्क्रमण बढ्नसक्ने आशङ्कामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको हो । 

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । 
“कोही आत्तिनुपर्ने अवस्था छैन तर पनि सङ्क्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको छ,” श्रेष्ठले भने । सामान्य ज्वरो आउँदैमा डराइडराइ अस्पताल जानु नपर्ने उनले बताए । सङ्क्रमण दर बढन्सक्ने आशङ्कामा निगरानी बढाइएको र बढ्ने अवस्था देखिएमा त्यसको सामना गर्न आवश्यक तयारी भइरहेको सरकारले जनाएको छ । 

विमानस्थलबाट आउने सबै व्यक्तिको ज्वरोको जाँच शुरु गरेको र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । स्वास्थ्यकर्मी बढी जोखिममा हुने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ । स्वास्थकर्मीलाई आवश्यक प्रशिक्षण दिन थालिएको छ । 

नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ । 

कोरोना भाइरस विभिन्न सात खालमा छ । सन् २००३ मा चाइनामा सार्स कोरोना देखा परेको थियो । त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो । अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो । 

मुख्य लक्षण

नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, सास फेर्न अफ्ठेरो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीहरुको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । 

यस्तै विभिन्न देशमा गएका यात्रीले आफ्नो स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ । धेरै भिडमा नजाने, व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने, सकेसम्म हात नमिलाउने मिलाएमा साबुन पानीले राम्ररी हात धुनसमेत चिकित्सकले भनेका छन् । 

विश्व स्वास्थ्य सङ्गठनको आकस्मिक कमिटीको यही जनवरी २२, र २३ मा जेनेभामा बसेको बैठकले यसलाई अहिलेसम्म विश्वको ठूलो स्वास्थ्य समस्याको रुपमा घोषणा गरेको छैन । मध्यम तहको भनेर घोषणा गरेको छ । सङ्गठनको तथ्यङ्क अनुसार दुई हजार ७९८ जनामा भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहेक नेपालसहित ११ देशमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनमा दुई हजार ७४१ जना छन् भने बाँकी अन्य मुलुकका छन् । अहिलेसम्म ८० जनाको मृत्यु भएको जनाइएको छ । 

चीन बाहिर भियतनाममा मात्रै मान्छेबाट मान्छेमा सरेको पुष्टि भएको तर मान्छेबाट मान्छेमा कतिसमयमा र कुन परिमाणमा सर्छ भन्ने कुरा अझै यकिन छैन । कति अवधिमा रोग सर्छ भन्ने प्रष्ट नभए पनि सामान्यतः दुई देखि १० दिनभित्रमा लक्षण देखिने जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार बढी सङ्क्रमण फैलिएको चीनको हुवान प्रान्तमा १९० जना नेपाली रहेको तथ्याङ्क आएको छ । जसमध्ये १०० जना सम्पर्कमा आइसकेका छन् । अन्यलाई पनि वी च्याट ग्रुव वा अन्य कुनै माध्यामबाट सम्पर्कमा ल्याउने प्रयास भइरहेको जनाइएको छ । 

सन् २००२ मा चाइनामा सार्स कोरोना भएको थियो । त्यसको पुष्टि २००३ मा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले ग¥यो । त्यहाँ आठ हजार जनामा सङ्क्रमण भएकोमा ७७४ को मृत्यु भएको थियो । मृत्युदर बढी थियो । सन् २०१२ मा साउदी अरबमा मर्स कोरोनाको सङ्क्रमण हुँदा मृत्युदर ३५ प्रतिशत थियो । अहिले तीन प्रतिशत मृत्युदर हुनु सामान्य भएको मन्त्रालयको दाबी छ । सन् २०१५ मा दक्षिण कोरिया पनि देखिएको थियो । 

नेपालमा यसरीे भयो पुष्टि

हुवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामी झैँ आफैँ ओपिडीमा सामान्य तवरले उपचारमा आएका थिए । उनको नमूना परीक्षणका लागि विश्व स्वास्थ्य सङ्गठनको हङ्कङ्स्थित प्रयोगशालामा पठाइएको थियो । उक्त परीक्षणमा उनीमा नोभेल कोरोना भाइरस पुष्टि भएको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा विवेकलालले जानकारी दिए । 
उनी अहिले घर फर्किसकेका छन् । उनीसँगको सम्पर्कमा रहेका अरुमा भने भाइरस नदेखिएको डा विवेकलालले आज पत्रकारलाई जानकारी दिए । उनी नेपालमा गत पुस १६ गते चिकित्सकको सम्पर्कमा आएका थिए । पुस २८ गते भर्ना भएकोमा माघ ९ गते उक्त भाइरस रहेको पुष्टि भएको थियो । अहिलेसम्म परीक्षण गरिएका चारमध्ये तीन जनामा भने भाइरस नरहेको पाइएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला हेर्ने डा रुना झाले अहिले कुनै पनि व्यक्ति परीक्षणको क्रममा नरहेको जानकारी गराए ।  

अर्का चिकित्सक डा अनुप बाँस्तोलाले मौसमी रुघाखोकी जस्तै रहेको बताउँदै दुबैको रोक्ने तरिका पनि उस्तैउस्तै भएको बताए । नियमित हात धुने, बिरामीको नजिक नजाने, गएमा सुरक्षा अपनाएर जाने, माक्स लगाउने सङ्क्रमित, व्यक्तिलाई छोएमा तत्कालै साबुन पानीले हात धुनेलगायतका उपाए अपनाउन उनले सबैलाई सुझाव दिएका छन् । 

सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै उनले सङ्क्रमित क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको तर अन्य मानिसले सामान्य रुपमा उपचार गराउँदा हुने बताए । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले समयमै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्नेमा जोड दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...