शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल कसैका लागि प्रयोगशाला बन्दैन : मन्त्री भट्टराई

मङ्गलबार, १४ माघ २०७६, १९ : १८
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कसैका लागि पनि प्रयोगशाला नबन्ने बताएका छन् । टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव’मा उनले भने, ‘नेपाललाई सधैँ प्रयोगशाला बनाइनु हुँदैन । नेपाल कसैका लागि प्रयोगशाला बन्दैन ।’ 

उनले देशको समृद्धिका निम्ति सबै राजनीतिक दल एक ढिक्का भई अगाडि बढ्नुपर्ने भन्दै कुनै पनि बहानामा देशलाई पुनः अशान्ति र द्वन्द्वतिर नलान आग्रह गरे । मन्त्री भट्टराईले भने, ‘देशको समृद्धि र हितका निम्ति हामी सबै एकताबद्ध छौँ । देश र जनताको अहित हुनेमा कुनै पनि दातृ निकायसँग हाम्रो सम्झौता हुनसक्दैन ।’

मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेश आफैँमा महत्वपूर्ण र ऐतिहासिक प्रदेशको रूपमा रहेको बताउँदै सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको बताए । ‘सुदूरपश्चिम प्रदेशले समग्र नेपाललाई समेटेको छ । नेपालले हिमाल, पहाड, तराईलाई समेटेझैँ सुदूरपश्चिम प्रदेशले तीनै क्षेत्रलाई समेटेको छ । यसले सुदूरपश्चिमको मौलिकता झल्काउछ’, उनको भनाइ थियो ।

मन्त्री भट्टराईले टीकापुर विमानस्थल सुचारु गर्न  सङ्घले माग गरेको एकसुत्रीय मागपत्र ग्रहण गर्दै जुनसुकै हालतमा पनि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउने बताए । उनले विमानस्थल सञ्चालनका लागि छिमेकी स्थानीय तहले समेत सहकार्य गर्न कुरा गरेकोमा धन्यवाद दिँदै केही दिनभित्रै प्राविधिक टोलीमार्फत विमानस्थलको अध्ययन गरी आवश्यक काम अगाडि बढाइने बताए ।

मन्त्री भट्टराईले सन् २०२० लाई नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउँदै आएकोमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटकका लागि सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना तयार पारी सङ्घीय सरकारसँग समन्वय गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप