शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : ४ हजार धरौटीमा आस्था राउत रिहा, प्रदेश २ की राज्यमन्त्रीद्वारा राजीनामा

मङ्गलबार, १४ माघ २०७६, १९ : ०२
मङ्गलबार, १४ माघ २०७६

प्रधानमन्त्री ओलीको सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन् । 

नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई  मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधि संस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्यकालको हार्दिक बधाई र शुभकामना दिएका हुन् ।

 उनले संसदले पुरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद संचालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गरे । उनले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा संञ्चालनमा पूर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाए । 

सर्वसम्मत सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उनले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने बताए । 

दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उनले एकताबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताए । 
उनले केही दिनपछि आफुले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराए । 

उनले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए । 

शेर बहादुर देउवा
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । 

विपक्षी दललाई सधै विश्वासमा लिएर अघि बढ्न पनि उनले आग्रह गरे ।  विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उने त्यस तर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराए । 

कोरोना भाईरस जोखिमको न्यूनिकरणमा विशेष पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।  प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उनले प्रश्न गरे ।  उनले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसीसी अनुमोदन गर्नुपर्नेमा पनि जोड दिए । 
 
त्यसैगरी बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना मागहरुमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने संकेत गरेको छ । 

राजपा नेपालका नेता महेन्द्र राय यादवले सहमति कार्यान्वयनमा सत्तारुढ दल सकारात्मक नदेखिएपछि समर्थन फिर्ता लिनुपरेकाले संविधान संशोधन लगायतका मुद्दामा आफूहरु स्पष्ट भएको बताए ।   

संविधान संशोधन, रेशम चौधरी लगायत थारुहट र मधेश आन्दोलनका सहभागिहरुमाथि लगाइएको झुठा मुद्धा फिर्ता लिन सरकार तयार भए सरकारलाई पुनः समर्थन गर्न सकिने उनले बताए । 
सांसद यादवले सरकारलाई उपसभामुखका विषयमा पनि प्रष्ट हुन आग्रह गरेका छन् । 

समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराए । सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो नभएकोप्रति उनले ध्यानाकर्षण गराए । 

नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडि रहेको उनले बताए ।  सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर सदनमा प्रयाप्त छलफल गराउने तर्फ पनि उनले सभामुखको ध्यानाकर्षण गराए । 

त्यसैगरी स्वतन्त्र सांसद दुर्गा पौडेलले नवर्निवाचित सभामुखलाई सभामुखको तटस्थताको पदीय मर्यादा र गरिमा राख्दै अघि बढ्न शुभकामना दिइन् । 

सांसद प्रेम सुवालले सरकारलाई प्रतिनिधिसभा र प्रतिनिधिसभालाई जनताप्रति जवाफदेही बनाउन सभामुखबाट तटस्थ र निश्पक्ष भुमिका निर्वाह हुने विश्वास आफुले लिएको बताए । 

सबैको शुभकामना मन्तव्यपछि सभामुख सापकोटाले सभालाई जीवन्त बनाईराख्न आफ्नो हरसंभव प्रयत्न हुने विश्वास दिलाए । प्रतिनिधिसभाको अर्को बैठक माघ १७ गते शुक्रबार बिहान ११ बजे का लागि बोलाइएको छ ।  


राष्ट्रियसभा बैठक

राष्ट्रियसभको विशेष समयमा बोल्ने सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभा सदस्य बलराम बाँस्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । 

 विषाधियुक्त तरकारी खान बाध्य हुनुपरेको भन्दै उनले विदेशबाट आउने तरकारी रोकिएको जाँच प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले चीन लगायत दर्जनौ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सुरु भएकाले पूर्व तयारीका लागि सरकारले काम सुरु गर्नेतर्फ सरकारका ध्यानाकर्षण गराए । 
 नेपालमा अहिलेसम्म २ जनामा यसको संक्रमण देखिएको उल्लेख गर्दै पन्थले चीनमा अध्ययनरत नेपाली विद्यार्थी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई सुरक्षित नेपाल फर्काउने कुरामा गम्भिरतापूर्वक लाग्न सरकारर्लाइ आग्रह गरे । 

 नेपालमा भ्रमणवर्ष चालिरहेको अवस्थामा विश्व समुदायलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउने गरी काम गर्न अग्रह गरे । 

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताइन् ।  बदनियत राखेर थुनामा राखिएको उल्लेख गर्दै उनले यसबाट स्वतन्त्र रुपमा बयान नहुन सक्ने तर्फ आशंका व्यक्त गरिन् । 

गायिका आस्था राउत रिहा

यता, गायिका आस्था राउत आजै ४ हजार धरौटीमा रिहा भएकी छिन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।  अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी राउतलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले धरौटीमा छाड्ने आदेश दिएका हुन् । आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजै मात्रै अधिकारीले दिएका थिए । तर त्यो आदेशको व्यापक आलोचना र विरोध भएको थियो । 

राज्यमन्त्री झाले दिइन् राजीनामा
मन्त्रीको काम कारवाहीबाट असन्तुष्ट रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका बीच एकजना राज्यमन्त्रीको राजीनामा आएको छ । 

प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । 

राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा झाले एक पत्र सार्वजनिक गर्दै राजीनामा दिएकी हुन् । 

उनको पत्रमा  प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख छ ।

नेपाल पर्यटन बोर्डको सीईओमा धनञ्जय रेग्मी

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो ।

रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए ।

रेग्मीलाई नेपाल कम्युनिष्ट पार्टी निकट व्यक्ति मानिन्छ । पृथ्वीनारायण क्यम्पस पोखरामा हुँदा उनले अनेरास्ववियुसँग निकट रहेर काम गरेका थिए । 

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् । 

रेग्मी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले मंगलबार सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।

नेपाली सेना
नेपाली सेनाले सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने भएको छ ।

दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउने कार्यक्रम अघि बढेको बताए । शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमति दुबै को मृत्यु भइ टुहुरा भएका बालबालिकाहरुका लगि उक्त अवसर प्रदान गरिने उनले बताए । 

नेपाली सेनाले सैनिक दिवसका अवशरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ । 

शेयर बजार 
मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढेपनि सेन्सेटिभ परिसूचक घटेको छ । कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । बजारमा लगानीकर्ताको मनोवल परिवर्तन भइरहदा परिसूचकमा उतारचढाव देखिएको छ । तर बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाई छ । 

नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरुको भन्दा अन्य कम्पनीहरुको प्रभाव बजारमा सकारात्मक देखिएको छ । लगानीकर्ताको आकर्षण कम मूल्य भएका शेयरमा हुँदा बजारमा उतारचढाव देखिएको विश्लेषकहरुको भनाई छ । त्यस्तै अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले पनि बजारमा ठुलो उतारचढाव नदेखिएको विश्लेषण गर्न सकिन्छ । त्यस्तै बैंकको ब्याजदर तल झरेकाले बजारलाई टेवा पु¥याएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा घरजग्गा कर्जामा केही कडाई गरेकाले पनि बजार माथि आएको विश्लेषण गरिएको छ । तर शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले ब्याजदर र कर्जाको विषयले अल्पकालमा असर गरेपनि लगानीकर्ताले दिर्घकालमा यसको असर कस्तो पर्छ भन्ने हेरिरहेको बताए । 

शेयर विश्लेषक बस्यालले शेयर बजारको इतिहासमा ४० देखि ४३ महिनाको घट्दो बजार हुँदा ५० देखि ५२ महिना बढ्दो बजारको अवस्था रहेको देखिएको बताए । 

मंगलबार नेप्से उतारचढावका बीच ५ दशमलव ५२ अंकले बढेको छ । नेप्सेमा उतारचढाव देखिएपनि नकारात्मक भने देखिएन् । सेन्सेटिभ परिसूचक भने शुन्य दशमलव ४८ अंकले घटेको छ । परिसूचकहरुमा उतारचढाव देखिएपनि कारोबार रकम १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८ सय ५ रुपैयाँ बराबरको भएको छ । कारोबारमा आएका समुह मध्ये बैंकिङ, व्यापार, होटल, जलविद्युत समुहका सूचकहरु घटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप