शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा पुस्तालाई राष्ट्रभक्तिबारे चेतना दिन राष्ट्रपतिबाट आग्रह

मङ्गलबार, १४ माघ २०७६, १७ : ३३
मङ्गलबार, १४ माघ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताएकी छिन् । 

राष्ट्रपति भण्डारीले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका वडा नं ११ नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल  र मनमोहन अधिकारीको पूर्ण कदको शालिकको आज अनावरण गर्दै ती सरकारले राष्ट्रभक्ति, शहीदका योगदान, गणतन्त्र एवं लोकतन्त्र आदि विषयमा  सबैलाई प्रशिक्षित तुल्याउनुपर्नेमा जोड दिइन् । 
 राष्ट्रपति भण्डारीले मानवअधिकारको सम्बद्र्धन, विकासको पूर्वाधार, सामाजिक न्याय वितरण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन तथा उद्योगमैत्री र ऊर्जा उत्पादनमा  निजी क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने दिगो कार्यक्रम ल्याउन आग्रह गरिन् । 
     समारोहमा राष्ट्रपति भण्डारीले स्मारक समितिको प्रवेशद्वारमा नवनिर्मित रजतस्तम्भको पनि आजै अनावरण गर्दै शहीद स्मारकमा स्थापित  जननेता मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पणगरिन् । 
 राष्ट्रपति भण्डारीले स्मारकको निर्माणका क्रममा शहीदको आकृति कुँद्ने कलाकार कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै शहीद स्मारक विकास समितिमा कार्यरत प्रमुख रामचन्द्र न्यौपानेलाई दीर्घसेवा पदक तथा शहीद स्मारक स्थापना गर्ने क्रमका प्रथम उपभोक्ता समितिका उपाध्यक्ष हरिशरण सुवेदीलाई पनि सम्मान गरिन् । 

    सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री तथा शहीद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले  प्रदेश सरकार अब भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहन गर्दै जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र  उद्योगमैत्री वातावरण तयार गर्ने काममा लागेको बताए । 
उनले हेटौंँडामा २०५१ साल माघ १७ गते   प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्झनामा एउटा ठूलो ढुङ्गामा कुँदिएको भक्ति थापालगायत अन्य १२ शहीदको आकृति रहेको शहीद  स्मारक स्थापना भएको र अब त्यो पर्यटन गन्तव्य रहेको पनि जानकारी दिए । 
    मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा राष्ट्रको गौरव आयोजनाको छनोट गरी कार्यान्वयन गर्दै हेटौंँडा–काठमाडौं सुरुङ मार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग र हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जोड्ने मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिन अनुगमन शुरु गरिसकेको पनि जानकारी दिए । 
    वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले  प्रदेशमा कृषि, पर्यटन र  उद्योग क्षेत्रमा दिगो विकास गर्न  ११९  स्थानीय तहमा रु एक अर्ब ६५ करोड विनियोजन गरिएको, मकवानपुरको इन्द्रसरोवर, दोलखाको गौरीशङ्कर हिमाललगायत अन्य क्षेत्रमा दिगो पर्यटन विकासका लागि गुरुयोजना तर्जुमा भएको र पर्यटकलाई विभिन्न स्थानको भ्रमण गराउने लक्ष्य रहेको जानकारी दिए । 
वाग्मती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जनताप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दै प्रदेशमा औद्योगिक क्षेत्रको विस्तार, पर्यटनको गुरुयोजना, ऊर्जा उत्पादन र जनतालाई आत्मनिर्भर हुने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न जोड दिए । 
 त्यस अवसरमा शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले स्मारकका शालिक शहरी विकास मन्त्रालय र शहिद स्मारक विकास समितिबाट संयुक्त रुपमा रु एक करोड पाँच लाखको लागतमा स्थापना गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप