मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से बढेपनि सेन्सेटिभ परिसूचक घट्यो

मङ्गलबार, १४ माघ २०७६, १६ : ३०
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढेपनि सेन्सेटिभ परिसूचक घटेको छ । कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । बजारमा लगानीकर्ताको मनोवल परिवर्तन भइरहँदा  परिसूचकमा उतारचढाव देखिएको छ । तर बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाई छ । 

मंगलबार नेप्से परिसूचक बढेको छ तर सेन्सेटिभ परिसूचक घटेको छ । यसको अर्थ नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरुको भन्दा अन्य कम्पनीहरुको प्रभाव बजारमा सकारात्मक देखिएको छ भन्ने हो । लगानीकर्ताको आकर्षण कम मूल्य भएका शेयरमा हुँदा बजारमा उतारचढाव देखिएको विश्लेषकहरुको भनाई छ ।

त्यस्तै अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले पनि बजारमा ठुलो उतारचढाव नदेखिएको विश्लेषण गर्न सकिन्छ । त्यस्तै बैंकको ब्याजदर तल झरेकाले बजारलाई टेवा पु¥याएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा घरजग्गा कर्जामा केही कडाई गरेकाले पनि बजार माथि आएको विश्लेषण गरिएको छ । तर शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले ब्याजदर र कर्जाको विषयले अल्पकालमा असर गरेपनि लगानीकर्ताले दिर्घकालमा यसको असर कस्तो पर्छ भन्ने हेरिरहेको बताए ।

उनले अर्थतन्त्रका सूचकहरुहरु सकारात्मक हुँदै गएकाले बजारमा सकारात्मक असर परेको बताए । त्यस्तै सरकारका नीतिहरु पनि आइसकेको र अवको एक वर्षपछिको अर्थतन्त्रको अवस्थालाई हेरेर लगानीकर्ताले कारोबार गरिरहेकाले नेप्से बढेको र केही वर्ष बढ्दो अवस्थामा नै नेप्से रहने उनले बताए । 

शेयर विश्लेषक बस्यालले शेयर बजारको इतिहासमा ४० देखि ४३ महिनाको घट्दो बजार हुँदा ५० देखि ५२ महिना बढ्दो बजारको अवस्था रहेको देखिएको बताए । बजारको इतिहास दोहोरिन्छ भन्ने मान्यता अनुसार यसपटक करिब ४१ महिनाको घट्दो बजारको ट्रेण्ड पुरा गरी बजारले बढ्दो ट्रेण्ड समाएको स्पस्ट भइसकेको विश्लेषक बस्यालले बताए । उनले अवको ५० महिनाको अवधि बढ्दो ट्रेण्डमा हुने प्राविधिक विश्लेषण गर्न सकिने अवस्था रहेको समेत दावी गरे । त्यसका लागि अर्थतन्त्रका सूचकहरुले समेत साथ दिएको उनले बताए ।

बजार बढ्दो ट्रेण्डमा देखिएपनि लगानीकर्ताहरु भने अझै ढुक्क हुन सकेका छैनन् । यसको असर नेप्से परिसूचकमा देखिएको छ । त्यसैले मंगलबार नेप्से उतारचढावका बीच ५ दशमलव ५२ अंकले बढेको छ । नेप्सेमा उतारचढाव देखिए पनि नकारात्मक भने देखिएन । सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ४८ अंकले घटेको छ ।

परिसूचकहरुमा उतारचढाव देखिएपनि कारोबार रकम १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८ सय ५ रुपैयाँ बराबरको भएको छ । कारोबारमा आएका समुह मध्ये बैंकिङ, व्यापार, होटल, जलविद्युत समूहका सूचकहरु घटेका छन् । ग्लोबल आइएमई बैंकको शेयरमा लगानीकर्ताको आकर्षण मंगलबार पनि देखिको छ ।

यो बैंकको ९ करोड ९५ लाख ८५ हजार ३ सय ६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । तर सबैभन्दा बढी शिखर इन्स्योरेन्सका शेयरधनीले ८ प्रतिशतले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले भने सबैभन्दा बढी ४ दशमलव ३५ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप