मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

एउटा नयाँ दलले दिल्लीमा झण्डै क्लिन–स्वीप गरेको राजनीतिक सफलताको नालीबेली

मङ्गलबार, १४ माघ २०७६, १५ : ०६
मङ्गलबार, १४ माघ २०७६

एजेन्सी । दिल्लीस्थित जन्तर मन्तरमा भारतीय झण्डा हल्लाएर जन लोकपाल कानूनको माग गर्ने अरविन्द केजरीवाल आज दिल्ली राजनीतिको शीर्ष स्थानमा हुनेछन् भन्ने कसैले सोचेको थिएन होला ।

तर समयको चक्र यसरी घुम्यो कि एक आन्दोलन हेर्दा हेर्दै राजनीति पार्टीमा बदलियो । आज अरविन्द केजरीवालको आम आद्मी पार्टी दिल्लीको सत्तामा कायम छ र आगामी चुनावको तयारी गर्दैछ । 

पाँच वर्ष पहिले यो पार्टी अत्यधिक बहुमतका साथ जितेर आउँदा राज्य कंग्रेसको गढ थियो भने भाजपा पनि शक्ति बढाउँदै थियो ।

यो दुई ठूला पार्टीबीचमा भारतजस्तो विशाल देशको राजधानीमा कुनै नयाँ पार्टीको त्यस्तो उभार असम्भव लाग्थ्यो । तर केजरीवालको पार्टीको असम्भव ठानिएको काम गरेर देखायो । यो कसरी भयो बुझ्नको लागि हामी सन् २०११ मा फर्कनुपर्छ जब समाजिक कार्यकर्ता अन्ना हजारेको नेतृत्वमा भ्रष्टाचारविरोधी आन्दोलन भइरहेको थियो ।

यो आन्दोलनमा अरविन्द केजरीवाल, वरिष्ठ वकिल शान्ति भूषण उनका वकिल छोरा प्रशान्त भूषण, किरन वेदी, जनरल वीके सिंह, योगेन्द्र यादव, कुमार विश्वासजस्ता कैयौँ अनुहार मुख्य भूमिका निभाइरहेका थिए ।

तर लामो समयसम्म चलेको आन्दोलन, सरकारसँग कैयौँ चरणको वार्ता र भोक हड्तालका बावजुद पनि यो आन्दोलनले आफ्नो उद्देश्य पुरा गर्न सकेन । माग गरिएजस्तो जनलोकपाल विधेयकको बन्न सकेन । 

त्यसपछि अरविन्द केजरीवालले राजनीतिक दल बनाउने घोषणा गरे । यहीँबाट अरविन्द केजरीवालको राजनीतिको यात्राको जग बस्यो र २ अक्टोबर २०१२ मा आम आदमी पार्टी अस्तित्वमा आयो ।

तर राजनीति पार्टी बनेपछि प्रश्न पनि उठ्यो । अन्य पार्टीले केजरवाल सुरु देखि नै राजनीतिमा आउनको लागि आन्देलनमा लागेको आरोप लगाए । अन्ना हजारे पनि राजनीतिक पार्टीका पक्षमा थिएनन् ।

तथापि अरविन्द केजरीवाल र उनका सहयोगीले देशलाई भ्रष्टाचारबाट छुटकारा गराउने हो भने राजनीतिमा आउन आवश्यक भएको बताए । तिनले प्रणालीको हिस्सा भएर त्यसलाई भित्रबाट सफा गर्नुपर्ने बताए ।

सन् २०१३ को अन्त्यमा आम आद्मी पार्टीका चुनावी मैदानमा उत्रियो र सबैलाई आश्चर्यमा पार्दै दिल्लीको ७० मध्ये २८ सिटमा बाजी मार्यो ।

अरविन्द केजरीवालले तीन पटक मुख्यमन्त्री रहिसकेकी शिला दीक्षितलाई नयाँ दिल्ली विधानसभामा ठूलो मतान्तरले हराए । तथापि, बहुमत नपाएपछि उनले कँग्रेससँग मिलेर दिल्लीमा सरकार बनाउने फैसला गरे ।

कँग्रेससँग गठबन्धन गर्दा कैयौँले असन्तुष्टि व्यक्त गरे । जुन कँग्रेसविरुद्ध पार्टी लडेको थियो, उहीसँग मिलेर सरकार बनाएको भन्ने धेरैको आरोप थियो । अरविन्द केजरीवाल यो गठबन्धनको सरकारको मुख्यमन्त्री बने ।

तर यो सरकार ४९ दिनमात्र टिक्यो । सरकारमा अन्तरविरोध देखिन थालेपछि केजरीवालले फेब्रुअरी २०१४ मा राजीनामा दिए ।

दिल्ली विधानसभामा संख्या नपुग्दा जनलोकपाल विधेयक पास गर्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए । उनले अर्को चुनावमार्फत बहुमत हासिल गर्ने र उक्त विधेयक पास गराउने बताए ।

त्यसपछि कसैले नसोचेको कुरा भयो । दुई वर्षअघि मात्र स्थापना भएको पार्टीले दिल्लीको राजनीतिमा इतिहास रच्दै ७० मध्ये ६७ सिट जित्यो ।

तर आज पाँच वर्षपछि यो पार्टीको धेरै कुरा दाउमा छ । नजिकिँदै गरेको विधानसभा चुनावमा पार्टीले सबैभन्दा पहिले त आफ्नो सत्ता जोगाउनु पर्नेछ । विश्लेषकको भनाइमा यो चुनाव आम आद्मी पार्टीको लागि वर्चस्व, स्थायित्व र अस्तित्वको चुनाव हो ।

पछिल्लो पाँच वर्षमा त्यस्तो के बदलियो जसले आजको यो अवस्था आयो ?

आम आद्मी पार्टीको राजनीतिमाथि नजर राख्ने वरिष्ठ भारतीय पत्रकार प्रमोद जोशी भन्छन्, ‘ आन्दोलनबाट उठेको यो पार्टी राजनीतिक व्यवस्था बदल्ने र नयाँ प्रकारको राजनीति गर्ने वाचा गरेर आएको थियो । देशभर भारतीय राजनीतिमा एउटा मौलिकता आउनेछ भन्ने आशा पलाएको थियो ।’

सन् २०१५ मा आम आद्मी पार्टीले जित्दा राहुल गान्धीले समेत ऊबाट सिक्नुपर्ने बताएका थिए । तर अहिले आएर विश्लेषकहरु अरविन्द केजरीवाल आफै बदलिएर अन्य राजनीतिक दलजस्तै बनेको मान्छन् । यसमा कैयौँ कारण छन् ।

जनलोकपालका मुद्दा

प्रमोद जोशीको विचारमा भ्रष्टाचारविरोधी आन्दोलनबाट उठेकाले यो पार्टीले भ्रष्टाचारविरोधी लडाईंलाई केन्द्रमा राख्ने विश्वास गरिएको थियो । तर अहिले यो पार्टीले भ्रष्टाचार विरोधी कुरा गर्न छाडेको छ ।

सुरुमा भ्रष्टाचारको मुद्दामा आम आदमी पार्टी आक्रामक थियो । एक समय केजरीवालले देशका भ्रष्ट नेताको सूची जारी गर्थे । केजरीवाल पैसा लिने सरकारी कर्मचारीको भिडियो खिच्न आह्वान गर्थे ।

वरिष्ठ पत्रकार अभय दुबे यसमा अलग विचार राख्छन् । पाँच वर्ष सत्तामा बसेर चुनावमा जान लागेको पार्टीबारे प्रश्न उठ्नु स्वभाविक मान्छन् । दुबेका अनुसार आम आदमी पार्टी सहरी शासनको आश्वासन लिएर राजनीतिमा आएको थियो र बाँकी मुद्दा तपसिलका कुरा थिए ।

‘मुख्य मुद्दा दिल्ली महानगरको लागि सहरी शासनको विषय थियो । यसैले तिनले पहिलो बजेटमा धेरै रकम शिक्षा, स्वास्थ्य, यातायातजस्ता समाजिक क्षेत्रमा छुट्टाए । त्यो अन्य राज्य सरकारभन्दा अलग थियो,’ दुबेले भने ।

उनलाई आम आद्मी पार्टीले समाजिक क्षेत्रमाथि पैसा खर्च गरेर उसको वाचा पुरा गरेको र यही कारण आम आद्मी पार्टी आज पनि लोकप्रिय रहेको भन्ने लाग्छ ।

आम मानिसको पार्टी

अरविन्द केजरीवाल सधैँ भन्ने गर्छन् कि उनको पार्टी नामले मात्र होइन, कामले नै आम आदमी (मानिस) पार्टी हो ।

प्रमोद जोशी पनि सुरुका दिनमा पार्टी र आम जनताबीच प्रत्यक्ष सम्पर्क रहेको स्वीकार्छन् ।

‘सुरुमा यो पार्टी जनताको बीचमा जान्थ्यो । सन् २०१४ मा जब पार्टीले कँग्रेस पार्टीको समर्थनमा सरकार बनायो तब उसले दिल्लीका कैयौ स्थानमा गएर मानिससँग प्रश्न यो कदमबारे प्रश्न गरेको थियो र जनता सरकारको पक्षमा नरहेको निष्कर्ष निकाल्यो । तर अहिले त्यस्तो छैन,’ जोशीले बताए ।

अभय दुवे आम आद्मी पार्टीबारे भन्छन्, ‘आम आद्मी पार्टीले राहत दियो । शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, मानिसलाई बिजुली पानीको प्रश्नमा, आर्थिक सहायता दिने प्रश्नमा निक्कै राम्रो काम गरेको छ । घर घर गएर सुविधा दिएको छ । कैयौं काम राम्रो छ । उसको जनाधार यथावत छ । ’

तर केही भने आपले सेवा वितरण गरेको भए पनि तिनको गुणस्तरमा प्रश्न रहेको बताउँछन् ।

विचारविहीन पार्टी

विश्लेषकको भनाइमा अरविन्द केजरीवालले आफ्नो राजनीतिक गर्ने तरिका पनि बदलेका छन् । ‘केजरीवालको राजनीति गर्ने शैली अलग थियो र आज पनि अन्य पार्टीभन्दा केही फरक छ । तर उनले पहिलेको तुलनामा आफूलाई रणनीतिक हिसाबमा बदलेका छन्,’ अभय दुवेले भने ।

‘पहिले उनी हरेक कुरामा जोड दिएर बोल्थे । उनको धेरै भनाइ विवादमा पनि तानिन्थ्यो । अहिले उनी रणनीतिक रुपमा आवश्यक पर्दा मात्र बोल्छन् । अरु समय उनी चुप लागेर बस्छन्,’ प्रमोद जोशी भन्छन् ।

हुन त आम आद्मी पार्टीको कुनै विचारधारा नरहेको आरोप पनि लाग्ने गर्छ । आलोचक आपलाई न वामपन्थी न दक्षिणपन्थी विचारधार भएको पार्टी भन्छन् ।

प्रदीप सिंह यही विषयलाई समेटेर भन्छन्, ‘ केजरीवाल अवसरवादी राजनीति गर्छन् । उनी समय र सहुलियतको आधारमा आफ्नो विचारधारा छनौट गर्छन् । त्यसैले कहिले उनी वामपन्थी देखिन्छन् कहिले दक्षिणपन्थी । त कहिले उनी मध्यमार्गी पनि देखिन्छन् ।’

प्रमोद जोशीका अनुसार आपले तीर्थ यात्रा योजनामार्फत नरम हिन्दूत्व पनि गर्ने र मुसलमानको राजनीति गरेको स्वीकार्छन् ।

तर अभय दुबे आम आदमी पार्टीलाई मध्यमार्गी पार्टी मान्छन् । ‘भारतमा धेरै वामपन्थी हुनु वा धेरै दक्षिणपन्थी हुनु राम्रो हुँदैन ।’

एकल नेता पार्टी

सन् २०१५मा दिल्लीमा सरकार बनाएर राजनीतिक रुपमा बलियो भएपछि पनि आप आन्तरिक रुपमा भने कमजोर हुन थाल्यो ।

पार्टी नेता प्रशान्त भूषण र योगन्द्र यादवले केजरीवाललाई ‘सुप्रिम नेता’ को जस्तो व्यवहार गरेको आरोप लगाए ।

उता, आपको अनुशासन समितिले ‘पार्टी विरोधी गतिविधि’मा सहभागी भएको आरोपमा भूषण, यादवका अतिरिक्त आनन्द कुमार र अजीत झालाई पार्टीबाट निश्कासन गर्न सल्लाह दियो ।

यसपछि पार्टीबाट कैयौँ मानिसले राजीनामा दिने लहरनै चल्यो । आपलाई त्यसबेला सबैभन्दा ठूलो झट्का लाग्यो जब पार्टीका सस्थापक सदस्य कुमार विश्वासले केजरीवालको सर्जिकल स्ट्राइक वाला अडानमा असहमती जनाए ।

कुनै समय केजरीवालले सानो भाइ भनिने विश्वास अहिले केजरीवालका कडा आलोचकमध्ये एक भएका छन् ।

‘अन्य पार्टीमा जस्तो हाई कमाण्डको स्वरुप छ, यो दलमा पनि त्यही देखिन्छ । यस पार्टीका सबैभन्दा प्रमुख नेता अरविन्द केजरीवाल छन् । अब उनी अरु समान छैनन् । उनको विचार, उनको सल्लाह सबैभन्दा माथि रहन्छ,’ प्रमोद जोशी भन्छन् ।

तर अभय दुबे यसमा अलग धारणा राख्छन्, ‘ दिल्ली जस्तो सानो ठाँउमा प्रभाव भएको क्षेत्रीय पार्टीमा ६ जना नेताको अनुहार देखाएर राजनीति गर्न गा¥हो हुन्छ । बरु एउटा विश्वासनीय अनुहार देखिनु ठीक हुन्छ ।’

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप