केन्द्रीय संस्करण
बालकथा

टेलिफोन

person explore access_timeमाघ १४, २०७६ chat_bubble_outline0

 

चाङ छ्यूशङ

विद्यालयबाट घर फर्कदा आज बाबाको कोठामा टेलिफोन जोडेको देखें ।

टेलिफोनका लागि बाबाले महिनौं अघि फारम भर्नु भएको थियो । आज बिहानै कम्पनीका मानिसहरु आएर लाइन जोडिदिएछन् । बाबा आमा दुबै जना अफिसबाट घर फर्कनु भएको थिएन । घरमा म र टेलिफोन मात्र थियौं ।

कालो र सेतो रङको चिटिक्क परेको टेलिफोन सेट कति राम्रो थियो । त्यस्तै चिटिक्क परेका कालाकाला अङ्क ०, १, २, ३, ४ हुँदै ९ सम्म । मलाइ यो सबै औधी राम्रो लाग्यो । एक छिन हेरें । अङ्कहरु थिचुँथिचुँ लागेर आयो । आफ्नो घरमा यति राम्रो फोन आइपुगेको दिन म किन कसैलाई डायल नगरुँ ? गर्छु नि, हैन ? रिसिभर उठाएँ । कसलाई फोन गरुँ ?

मलाई १०१ नम्बर थाहा थियो । वारुणयन्त्रको नम्बर । वारुणयन्त्रलाई फोन गर्नु भनेको ठट्टा होइन । मलाई अर्को नम्बर थाहा थियो १९७, सोधपुछको नम्बर । सोचें यस नम्बरमा काम गर्ने काकीहरु सारै व्यस्त हुनुहुन्छ । उहाँहरुलाई दुः ख दिनु ठीक छैन ।

मलाई एक्कासि सम्झना आयो एउटा नम्बर ८९४२२३१६१ । हो यसैमा डायल गर्छु । यो हाम्रै कक्षामा पढ्ने वाङ स्याओ  छीको घरको नम्बर हो । मलाई उसैले यो नम्बर टिपाएको थियो । सम्झन सजिलो भएर यो नम्बर मैले बिर्सेको छैन ।

स्याओ छी मोटेमोटे डल्ले । हाम्रो कक्षाको रमाइलो साथी । उसलाई साथीहरु ‘ फुच्चे अरब’ भनेर गिज्याउने गर्छन् । ऊ पैसा खर्च गर्न भनेपछि मरेको जस्तै मान्छ  । यसै भएर उसलाई हामीले ‘कन्जुस ’ उपनाम पनि राखिदिएका छौं । कसैलाई ठुटे पेन्सिल पैंचो दिएको छ भने पनि घन्टौं पछिपछि लागेर ऊ फिर्ता नलिई छोड्दैनथ्यो । कुनै दिन कसै गरी उसका हातबाट पाँच पैसा खस्यो भने एक डङगुर घुस्यान पन्छाएर र कुना कुना बढारेर भए पनि त्यो पैसा नभेट्टाई छोड्दैनथ्यो ।

ठीक छ, आज म यसै कन्जुसलाई फोन गर्छु र हैरान पार्छु, मनमनै सोचें । म आफ्नो विद्यालयको नाटकमण्डीको सदस्य । मैले नाटकमा भाग लिइसकेको छु । यसैले थरीगरीका आवाज निकाल्ने कुरो मेरो लागि बाँया हातको खेल हो ।

नन्बर डायल गरें । घन्टी गयो । “हेलो को बोल्नुभएको ?” यो स्याओ छीकै आवाज थियो ।

“म म ” अर्को तिखो आवाजमा मैले भनें , “तिमी को बोलेको ? ”

“म वाङ स्याओ छी बोल्दैछु । तपाईले कसलाई खोज्नु भएको ?”

“ए तिमी वाङ स्याओ छी हौ ? म चन ताफाङ हुँ । मेरो छोरो बिरामी भयो र उपचार गराऊँ भनेर गाउँबाट आएकी थिएँ ।” अनायास मेरो मुखबाट यस्तो कुरा आयो ।

“अनि के भयो त काकी ? ” मलाई लाग्यो, वाङ स्याओ छी अति नै चासो राखेर सास रोकेरै सुनिरहेको छ । मैले कुरा अगाडि बढाउनै पर्‍यो।

“के हुनु ? बढो अत्यासमा परेकी छु । बालक छोरो धेरै नै बिरामी भयो । उपचार गराउँ भनेर सहरमा लिएर आएँ । उपचार सुरु गराएँ । बिरामी निको भएको छैन । पैसा चाहिँ सकियो । म के गरुँ, कसलाई भनुँ ? दिमागमा केही सुझेन अनि त्यत्तिकै यस नम्बरमा डायल गरेकी । तिमी केटाकेटी मान्छे परेछौ । तिमीसित पैसा छैन होला ।”

मैले यति भनेपछि अप्रत्यासित कुरा के भयो भने वाङ स्याओ छी झन् झन् चासो दिएर अरु तिखो आवाजमा बोल्न थाल्यो । यसले यति हतारिएर यति तिखो आवाजमा बोलेको मैले यसअघि कहिल्यै सुनेको थिइनँ । उसले भन्यो, “काकी म केटाकेटी छु, तर पनि मसँग पैसा छ । म तपाईँलाई मद्दत गर्न चाहान्छु । सुन्नुभयो काकी ? साँच्चै मद्दत गर्न चाहन्छु ।”

“त्यो तिम्रो बाआमाको पैसा होला । मैले तिमीसित तिम्रा बाआमाको पैसा लिएर कसरी खर्च गर्नु ?”

“हैन, हैन काकी, यो मेरै पैसा हो । मैले एक एक रुपियाँ गरेर जम्मा पारेको । मेरो ठूला ठूला दुई ओटा खुत्रुके भरिएका छन् । हजुरबा हजुरआमाले नयाँ वर्षका उपलक्षमा मलाई रमाइलो गर्न दिनुभएको पैसा पनि बचाएर राखेको छु । यो सबै मेरै पैसा हो । यसमा मेरो अधिकार छ ।”

“भैगो बाबु भैगो, तिमीलाई धेरै धेरै धन्यवाद । ” बोल्दाबोल्दै त्यत्तिकै मेरो गाला भरिएर आयो । मेले दोहोर्‍याएर भने “बाबु, भैगो ! यति कुरा भयो । अब यसलाई अगाडि नबढाऊँ ! धन्यवाद ! म तिमीप्रति धेरै धेरै कृतज्ञ भएकी छु । ”

मलाई के भनूँ के भनूँ भयो । अरु कुरा दिमागमै आएन ।

 “काकी, कृपया रिसिभर नराख्नुस् । यति भन्नुहोस् कि, तपाईँले कहाँबाट फोन गर्नुभएको ?” स्याओ छीले हतारिदै र झन् झन् विनम्र हुँदै भन्यो, “काकी म तपाईँकहाँ आउँछु । म तपाईँलाई मद्दत गर्न चाहन्छु । यस्तो अवस्थामा मैले तपाईँलाई मद्दत गर्नै पर्छ । कुनै बेला मलाई पनि कसैले मद्दत गरेका थिए । काकी, भन्नुस् त तपाईँ अहिले कहाँ हुनुहुन्छ ? कस्ती हुनुहुन्छ ? मैले त्यहाँ आएर कसरी चिन्ने ?”

मैले स्पष्ट सुनें, वाङ स्याओ छी मलाई मद्दत गर्द अत्यन्तै हतारिएको थियो । मेरो कुरा सुनेर ऊ दुः खित थियो र बोल्दा बोल्दै उसको गला भरिएको थियो । अचानक मेरो आँखामा पनि आँसु भरिएर आयो । दुईचार थोपा आँसु टेबलमाथि चुहियो पनि ।

आँसु पुछ्दै मैले भनें, “बाबु, त्यसो भए तिमी घरमा बसिराख । म तिमीलाई भेट्न त्यहीं आउँछु”।

वाङ स्याओ छीले के भन्छ सुन्दै नसुनी रिसिभर राखिदिएँ । बाहिर निस्कें, ढोका लाएँ र दगुर्दै दगुर्दै स्याओ छीको घरमा पुगें ।

ढोका उसैले खोल्यो । उसलाई देख्नेबित्तिकै मैले अगाडि बढेर ग्वाम्ल्याङ्ग अँगालो हालें ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...