केन्द्रीय संस्करण
जानकारी

सुन्दै डरलाग्ने शब्द व्याक्टेरियाः तर सबै व्याक्टेरिया खराब पनि हुँदैनन्

सर्वप्रथम रवर्ट कोक भन्ने वैज्ञानिकले सन् १८८० मा क्षयरोग लगाउने र एन्थ्राक्स लगाउने व्याक्टेरिया पत्ता लगाएका थिए

person explore access_timeमाघ १४, २०७६ chat_bubble_outline0


अठाह्रौं शताब्दीको पूर्वार्द्धसम्ममा सूक्ष्म जीवाणु अर्थात् व्याक्टेरियाको बारेमा कुनै किसिमको जानकारी थिएन । तर हाल आएर यस्ता सूक्ष्म जीवाणुहरु पत्ता लगाइएका मात्र नभई यिनीहरुबाट हुने फलदायी र हानिकारक क्रियाकलापहरुबारे जानकारी हासिल गरिनुका साथै विभिन्न किसिमका अनुसन्धान कार्यहरु क्रमिकरुपमा अगाडि बढिरहेका छन् ।

आज हामी एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्दा पनि जीवाणुको नाम सुन्दा झसङ्ग हुनुपर्ने अवस्था बाँकी रहेको छ । तर सबै जीवाणुहरु हानिकारक हुन्छन् भन्न चाहिँ सकिँदैन । सर्वप्रथम रवर्ट कोक भन्ने वैज्ञानिकले सन् १८८० मा क्षयरोग लगाउने र एन्थ्राक्स लगाउने जीवाणु पत्ता लगाएका थिए । त्यसैले उनलाई जीवाणु विज्ञानका पिता पनि भनिन्छ । यहाँबाट जीवाणु पत्ता लगाउने क्रम जारी रहँदै जाँदा आज आएर जीवाणुहरु कति किसिमका छन् भनेर गन्न र भन्न पनि मुश्किल पर्ला जस्तो भइसकेको छ ।

https://cdn.britannica.com

जीवाणुहरु आँखाले देख्न नसकिने सूक्ष्म एक कोषीय जीव हुन् ।  यिनीहरुको कोष एउटै र अति सरल हुने भएकोले शरीरले सम्पूर्ण प्रकृया जस्तै : श्वासप्रश्वास, बृद्धि, दहनक्रिया आदि एउटै कोषभित्र सम्पन्न हुन्छन् । यिनीहरुमा बनस्पति कोषमा पाइने क्लोरोफिल भन्ने खाना निर्माणको निम्ति चाहिने तत्व हुँदैन । त्यसैले यिनीहरु मृत जीवमा आश्रित हुने वा अन्य जीवमाथि निर्भर हुने हुन्छन् । मृत जीवमा आश्रित जीवाणुले मानव शरीरलाई फाइदा हुने कार्य गर्दछ । तिनीहरु मानिसको निम्ति हानिकारक हुँदैनन् । सजीवमा आश्रित जीवाणुहरु हानिकारक हुने गर्दछन् । तिनीहरुले प्राणीहरुमा विभिन्न रोग उत्पन्न गराई दुःख दिने गर्छन् । जीवाणुहरु प्रतिकूल वातावरणमा पनि बाँच्न सक्ने भएकोले प्रायःगरी तिनीहरु हावा, पानी, माटो तथा हाम्रो शरीरको छालाबाहिर पनि पाइन्छन् ।

जीवाणुहरु साह्रै सूक्ष्म हुने भएकाले यिनीहरुलाई माइक्रोमिटर इकाईमा नापिन्छ । प्रायःजसो मानिसलाई हानी गर्ने जीवाणुको नाप करिब ०.५ देखि ६ माइक्रोमिटरसम्म हुन्छ । यसरी हानिकारक जीवाणुहरुमा क्षयरोगको जीवाणु माइक्रोव्याक्टेरियम ट्यूवरकुलोसिस, धनुष्टंकारको जीवाणु– ल्याक्ट्रीडियम टिटानी, लहरेखोकीको जीवाणु– बोरडेटेला पर्ट्युसिस, टाइफाइडको जीवाणु– साल्मोनेला, हैजाको जीवाणु – भिब्रियो कलेरा, भ्यागुतेरोगको जीवाणु– कोर्नेब्याक्टेरियम डिप्थेरिया आदि पर्दछन् । तर जीवाणुहरु सबै हानिकारक हुँदैनन् । जस्तै :दही बनाउन ल्याक्टोबेसिलस, केही जातका एण्टिवायोटिक बनाउन स्पेप्ट्रोमाइसिस र राइजोवियमले बिरुवाको लागि आवश्यक नाइट्रोजन बनाउने कार्य गर्दै हामीलाई सहयोग गर्छन् । त्यस्तै गरी कोही एउटै जीवाणु हाम्रो शरीरको विभिन्न ठाउँमा बस्दै विभिन्न किसिमको कार्यमा संलग्न हुन पुग्दछ । जस्तै : इस्चेरिचिया कोली भन्ने जीवाणु हाम्रो आन्द्रामा बस्दा हाम्रो शरीरलाई नभई नहुने तत्व भिटामिन बी–१२, भिटामिन के आदि जस्ता तत्वको उत्पादन गरिदिन्छ । त्यही जीवाणु मूत्रनली वा यससँग सम्बन्धित अन्य अंगमा प्रवेश गर्दा त्यसले त्यससम्बन्धी प्रणालीलाई नै नकारात्मक असरको शिकार बनाइदिन्छ । त्यस्तैगरी त्यही जीवाणु हाम्रो पाचन–प्रणालीमा बस्दा यसको कुनै कुनै जातले रगतमासी परेको जस्तो दिसा निकाल्न पनि पछि पर्दैन । यस्ता जीवाणुहरु मानव शरीरमा विभिन्न किमिसका माध्यमहरुबाट सर्ने गर्दछन् ।

सोझै संक्रमण :यसमा कुनै किसिमको माध्यमको आवश्यकता पर्दैन, रोग सोझै सम्पर्कबाट सर्दछ । यस्तो क्रियालाई सोझै संक्रमण भनिन्छ । जस्तै : भिरिङ्गी, गोनोरिया आदि जस्ता रोगहरु सोझै सम्पर्कबाट सर्ने गर्दछन् ।

अप्रत्यक्ष संक्रमण :यसमा जीवाणुहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सोझै पुग्दैनन् । खाना, पानी, माटो आदि माध्यमबाट जीवाणुहरु एक व्यक्तिबाट अर्कोमा सर्दै रोग लाग्ने हुन्छ । यसमा जीवाणुहरुबाट हुने रोगहरु टाइफाइड, हैजा, धनुष्टंकार आदि पर्दछन् ।

बाहकको माध्यमबाट संक्रमण :यसमा माध्यमको रुपमा जीवित वस्तुहरु पर्दछन् । जीवित वस्तुले जीवाणुहरु बोकेर एक ठाउँबाट अर्को ठाउँमा सार्ने गर्नुका साथै जीवाणुहरु परिपक्व हुन त्यसैमा केही प्रक्रियाहरु अगाडि बढेका हुन्छन् । त्यस्तो जीवाणुबाहक जीवित वस्तुको सम्पर्कमा आउँदा त्यो रोग मानवमा सर्न पुग्दछ । जस्तै : प्लेग रोग मुसामा र मुसाबाट मान्छेमा उपिंयाँबाट सर्ने गर्दछ ।
यसरी जीवाणु जीवनोपयोगी तथा जीवन अनुपयोगी रुपमा खडा भएर बस्दा हाम्रो लागि जीवाणुले लिएका उपयोगमूलक योगदानलाई हामी चटक्क बिर्सन सक्दैनौं । तैपनि अन्य जीवाणुबाट हामीले भोग्नुपरेको पीडालाई पनि हामी नकार्न सक्दैनौं । त्यसैले यस्ता जीवाणुहरुबाट आफ्नो  शरीरलाई बचाउनको लागि हामीले विभिन्न तरिकाहरु अबलम्बन गर्न पछि पर्नु हुँदैन । पानीलाई उमालेर, सागसब्जीलाई पकाएर, फलफूललाई शुद्ध पानीले पखालेर र हातलाई साबुन पानी आदिबाट सफा गराएर हामीले जीवाणुबाट हाम्रो शरीरलाई बचाउनुपर्छ । यसरी हाम्रो जीवनका सामान्य व्यवहारमा परिवर्तन गर्दै गएमा हाम्रो जीवन फलदायी बन्न सक्छ ।

 विष्णुराज तिवारी
साभार : विज्ञान लेखमाला, रोनास्ट

Title Photo:https://www.medicalnewstoday.com

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.