शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदनान सामीले पद्मश्री पाएः भाजपा र कांग्रेस पार्टी आमनेसामने

मङ्गलबार, १४ माघ २०७६, ११ : ०२
मङ्गलबार, १४ माघ २०७६

बलिउड गायक अदनान सामीले पाएको पद्मश्री पुरस्कारको विषयमा सत्ताधारी भाजपा र विपक्षी कांग्रेस पार्टी आमनेसामने भएको छ ।

यो विवादमा अदनान पनि समावेश भएका छन् ।

शनिबार भारत सरकारले अदनानलाई कला क्षेत्रमा उनको योगदानका लागि पद्मश्री पुरस्कार दिने घोषणा गरेको थियो ।

त्यसपछि कांग्रेसका प्रवक्ता जयवीर शेरगिलले यसको कडा निन्दा गर्दै सोसल मिडियामा एउटा पोस्ट गर्दै यसलाई ‘सरकारको चम्चागिरीको जादू’ बताएका थिए । सोसल मिडियामा पनि यसबारे बहस सुरु भयो ।

तर अदनान सामीले यसको उत्तर दिँदै भने, ‘अरे बच्चाहरु, के तपाईंले आफ्नो दिमाग पुरानो सामान बेच्ने पसल वा क्लियरेन्स सेलबाट पाएका हौ ? के बर्केले विश्वविद्यालयमा तपाईंहरुलाई बुवाको कामका लागि छोरालाई जिम्मेवार ठहर गर्नुपर्छ भनेर सिकाइएको छ ? के तपाईं वकिल हो ? कानून पढाउने स्कूलमा तपाईंले यही सिक्नुभयो ?’

अदनानको उक्त प्रतिक्रियामा जयवीर शेरगिल पनि चुप बसेनन् । यसको जवाफमा उनले लेखे, ‘अंकल जी, म तपाईंको भाषामा उत्तर दिन सक्छु तर भारतीय संस्कृतिले हामीलाई के सिकाएको छ भने हामीले आफ्नो दुश्मनको पनि सम्मान गर्नुपर्छ । तपाईं त भर्खरै जस्तो सीमा पार गरेर यहाँ आउनुभएको छ त्यसकारण मलाई लाग्छ कि तपाईंले यस्तो कुरा सिकिरहनुभएको छ होला ।’

तर अदनान सामी र जयवीर शेरगिलबीच ट्वीटरमा सुरु भएको बहस यतिमा मात्रै सिमित हुने अवस्थामा थिएन ।

शेरगिलको बयानमा अदनानले तुरुन्तै लेखे, ‘अब मलाई अंकल नभन्नुहोस् न नै तथानाम गाली गर्नुहोस् । चमचागिरीजस्तो शब्दको प्रयोग गरेर तपाईं आफैंले बताइसक्नुभएको छ कि तपाईंलाई संस्कृतिबारे कति जानकारी छ ।’

यसमाथि शेरगिलको जवाफ आयो, ‘मलाई भारतीय संस्कृतिको पाठ नपढाउ । पाँच वर्षमा तपाईंले भारतका लागि गरेका पाँच काम बारे जानकारी देउ त ।’

किन भयो सरकारको निर्णयको आलोचना ?

वास्तवमा यो पूरा मामला अदनान सामीका पिता अर्शद सामी खानसँग सम्बन्धित छ ।

अदनानका पिता पाकिस्तानी फौजमा स्क्वार्डन लिडरको पदमा थिए । उनी सन् १९६५ मा भएको भारत–पाक युद्धमा फ्लाइट लेफ्टिनेन्टको रुपमा सरिक भएका थिए ।

युद्ध हुँदा उनले भारतीय फौजीविरुद्ध बमवर्षक विमान उडाएका थिए र भारतीय सेनाको विमान समेत २० भन्दा बढी ट्याङ्की र दर्जनौं गाडीलाई नष्ट गरेका थिए ।

विगत १५ वर्षदेखि भारतमा रहँदै आएका अदनान सामीले सन् २०१६ को जनवरी १ मा भारतको नागरिकता पाएका थिए ।

त्यसपछि अदनानले यसलाई ‘एक नयाँ सुरुवात, एक नयाँ प्रेम र एक नयाँ देश’ बताएका थिए ।

सोसल मिडियाको यो बहसमा भाजपा पनि हाम फाल्योः

सोसल मिडियामा जारी बहसमा भाजपा पनि समावेश भएको छ र उसले आफ्नो निर्णयको बचाउ गरेको छ ।

पार्टीका प्रवक्ता सम्बित पात्राले पत्रकार सम्मेलनमा भने, ‘आज कांग्रेसलाई सदबुद्धिको आवश्यकता छ । सन् २००८ मा जब कांग्रेसले नौशाद म्युजिक अवार्डबाट अदनान सामीलाई सम्मानित गरेको थियो त्यतिबेला उनी पाकिस्तानका नागरिक थिए भने अब उनलाई पद्मश्री दिँदा के को आपत्ति ?’

उपभोक्ता मामलाका मन्त्री राम विलास पासवानले सोसल मिडियामा लेखे, ‘यसको विरोध गर्नेहरुलाई भारतको नागरिकता कानूनको सही जानकारी छैन । भारतको नागरिकताको धर्मसँग कुनै सम्बन्ध नै छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप