शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साँखुबाट चार सय वर्ष पुरानो महादेवको मूर्ति चोरी

सोमबार, १३ माघ २०७६, २२ : ५०
सोमबार, १३ माघ २०७६

काठमाडौं । शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गएराति चोरी भएको हो ।  

हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने अन्दाजी २।५ फिटको चारमुखी ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिए । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो । 

पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उनी झ्यालबाट निस्किएका थिए । मूर्ति राखिएको कोठाको ढोका खुल्ला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताए । 

उनी भन्छन्, ‘अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहालौं ।’ उनका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुनसक्ने आशङ्का रहेको छ । मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनी मूलद्वारमा तालासमेत लगाउने गरेको थिएन । 

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिलिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ । यस ठाउँमा माधवनारायण ९ज्योतिलिङ्गेश्वर महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । उक्त दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप