गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि छ ।
आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।
माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।
राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।