बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनोभाइरसले मर्नेको र संक्रमितको संख्या बढ्योः ८१ को मृत्यु

सोमबार, १३ माघ २०७६, १५ : ०६
सोमबार, १३ माघ २०७६

 

चीनमा फैलिएको वुहान कोरोनोभाइरसकाे प्रकोपलाई रोक्नको लागि चीनले युद्धस्तरमा लागिपरिरहँदा साेही संक्रमणका कारण मर्नेहरुको संख्या बढेर ८१ पुगेको छ ।

चिनियाँ अधिकारीहरुले सोमबार दिएका जानकारीअनुसार चीनभरिमा जम्मा २७४४ जनामा संक्रमण फेला परेको छ ।

कोरोनोभाइरसको सबैभन्दा ठूलो प्रकोप त्यसको उद्गमस्थल मानिएको वुहानमै भएको छ । चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पछिल्लो पटक २४ जना मरिसकेका छन् भने वुहानमा देखापरेको संक्रमणको गतिलाई रोक्न र सुस्त तुल्याउन पूरै क्षेत्रलाई ‘बन्द’ गरेका छन् । त्यहाँ जान र त्यहाँबाट बाहिर निस्कन निषेध गरिएको छ र त्यहाँका वासिन्दाहरुलाई घरभित्रै बस्न उर्दी नै जारी गरिएको छ । चीनका जनताका लागि सबैभन्दा दुर्भाग्यपूर्ण कुरा चाहिँ के भएको छ भने यो खतरनाक भाइरसको महामारी त्यो बेला देखापरेको छ, जुनबेला चिनियाँ जनताहरु नयाँ वर्ष मनाउने तयारी गरिरहेका थिए । 


अहिलेसम्म प्राप्त जानकारीअनुसार वुहान भाइरसको पहिलो शिकार ८० वर्षीया महिला भएकी थिइन् ।

चीनमा देखापरेको वुहान भाइरस चिनियाँ अधिकारीहरुको कडा प्रयत्नका बाबजूद चीनका अन्य शहरहरुमा पनि देखापर्दै गएको छ । चीनका स्वायत्त प्रदेशहरु मकाउ र हंगकंगमा पनि यसको संक्रमण देखिएको छ । त्यसैगरी, थाइल्याण्ड, ताइवान, जापान, अमेरिका, भियतनाम, सिंगापुर, मलेशिया, नेपाल, फ्रान्स, क्यानडा र अस्ट्रेलियामा पनि यो भाइरसको संक्रमणमा परेका रोगीहरु फाट्टफुट्ट देखापर्न थालिसकेका छन् । अमेरिकामा नै पनि वासिंगटन, सिकागो, दक्षिण क्यालिफोर्निया र एरिजोनामा वुहान कोरोनोभाइरसका संक्रमित भेटिएका छन्  ।


जनावरबाट मानिसमा सरेको मानिएको यो वुहान कोरोनोभाइरस नयाँ खालको भएको र यसका बारेमा अझै वैज्ञानिकहरुले पूर्णतः जानकारी हासिल गरिसकेका छैनन् । यो भाइरसको संक्रमण गत डिसेम्बरदेखि देखापरेको कुरा प्रारम्भमा प्रकाशमा आएको थियो । तर पछिल्लो पटक सो भाइरसको संक्रमण नोभेम्बर महिनादेखि नै शुरु भएको तर पहिचान नभएको कारण खासै नोटमा आउन नसकेको बताइन्छ । यो रोग कोरोनोभाइरसकै नयाँ प्रजातिको भन्ने पक्का भएपछि विश्वको ध्यान त्यतिबेला मात्रै यसमा गयो, जब चीनले यसबारेमा गत डिसेम्बरमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो । विगत २००२–२००४ मा चीनमै सार्सको महामारी फैलिँदा चीनले ‘कुरा लुकाएको’ र सोही कारण त्यसले धेरै मानिसको ज्यान गएको’ आरोप चीनमाथि लागेको थियो । सम्भवतः त्यही घटनाबाट पाठ सिकेको चीनले यस पटक चाहिँ बेलैमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो र चीनका सर्वशक्तिमान नेता एवं राष्ट्रपतिले पूर्णतः पारदर्शिता अपनाउने घोषणा नै गरे । यो भाइरसको संक्रमणलाई रोक्न र निमिट्यान्न पार्न यतिखेर चीन सरकार युद्धस्तरमा लागिपरेको छ ।

चिनियाँ अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार, प्रधानमन्त्री लि कोच्याङले वुहान भ्रमण गरेर त्यहाँ फैलिएको संक्रमणलाई रोक्न भइरहेको प्रयासहरुको निरीक्षण गरेका थिए भने उनले संक्रमित तथा उपचारमा संलग्न चिकित्सकहरुसँग पनि भेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप