बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारको अपिल, ‘विवाह अघि यौनसम्पर्क नगर्नुहोस्’

सोमबार, १३ माघ २०७६, १३ : ४७
सोमबार, १३ माघ २०७६

ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ ।

 ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’

डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् ।

यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् ।

राष्ट्रपति जेयर बोलसोनारो  र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् ।

यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् ।

ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्राष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ ।

ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो ।

क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भनिरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो ।

ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् ।

१५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भनिरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् ।

लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भनिरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ ।

ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप