बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पदभार ग्रहण गर्दै नवनिर्वाचित सभामुख सापकोटाले भने, ‘मेरा बारेमा उठेका प्रश्नहरु निरुपण हुँदै जानेछन्’

सोमबार, १३ माघ २०७६, १२ : ३९
सोमबार, १३ माघ २०७६

काठमाडौँ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो विरोधमा सडकमा उठेका स्वरहरुलाई लोकतान्त्रिक प्रक्रियाकै रुपमा आफूले लिएको बताएका छन् ।

पदभार ग्रहण गर्न सिंहदरवार पुगेका सभामुख सापकोटाले पत्रकाहरुको प्रश्नमा आफूमाथि प्रश्न उठेपनि ती प्रश्नहरु निरुपण हुँदै जाने विश्वास व्यक्त गरेका हुन् । ‘यो मुद्दा प्रक्रियामा रहेको छ, यसबारे थप नबोलौं,’ उनले भने ।

सभामुख सापकोटाले अब संसदको कामलाई प्राथमिकताको आधारमा अघि बढाउने प्रतिबद्दता जनाए । ‘समग्ररुपले जीवन्त र सजिवरुपमा जनतालाई हामीले चुनेका प्रतिनिधिहरुले लोकतान्त्रिक ढंगले छलफल गर्छन् भन्ने विश्वास दिलाउने छु,’ उनले भने ।

आफूले भर्खरै पदबहाली गरेको बताउँदै सापकोटाले सचिवालयका बारेमा थप अध्ययन गरेर धारणा राख्ने बताए । ‘दार्शनिकहरुले राम्रोसँग अध्ययन गरेर बोल भनेका छन् । म राम्रोसँग बुझेर मात्र थप कुरा बोल्छु,’ उनले भने ।

बहसमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेमा थप छलफल हुने बताउँदै उनले यसबारे बोल्न अहिले नै हतार गर्न नहुने जिकिर गरे ।

प्रधानमन्त्रीलाई भेट्न कुदेर गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको विषयमा सापकोटाले यसलाई अन्यथा नलिन आग्रह गरेका छन् । सपथग्रहणपछि सबैको साझा भएपनि सभामुख बनाउने पार्टीको अध्यक्ष, दलको नेतालाई भेटनु स्वभाविक भएको उनले बताए । संसदको मूल्य मान्यता अुनसार नै आफुले प्रधानमन्त्रीलाई भेटेको र सुरुमा उहाँबाट नै बधाई लिन चाहेको बताएका छन् । उनले भने, ‘‘आज मैले सपथ ग्रहण गरे र आजबाट म सबैको साझा भएँ । यो भन्दा पहिले मेरा लागि प्रधानमन्त्री मात्र होइन् उहाँ मलाई सभामुख बनाउने पार्टीको अध्यक्ष र दलको नेता पनि हो । संसदमा त्यतिबेला मैले प्रधानमन्त्रीबाट सुरु गर्न खोजेको थिए । यो स्वभाविक हो । संसदीय मूल्य, मान्यता र पद्धतिको गरिमासँग मेल खान्छ ।’’

यसअघि, सापकोटाले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप