मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस रिभ्यू : एमसीसीका लागि संकल्प प्रस्ताव, अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर नेपाली पोर्ट

सोमबार, १३ माघ २०७६, ०७ : ३२
सोमबार, १३ माघ २०७६

आज माघ १३ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोना भाइरस सम्बन्धि समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, सभामुख चयन, एमसीसीलगायतका विषयमा पनि समाचारहरु प्रकाशित छन् ।

चीनमा कोरोना भाइरसको संक्रमण फेलिएपछि नेपाली विद्यार्थी स्वदेश फर्कने हतारोमा रहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्।उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्।  ‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौुं नेपाली विद्यार्थीले भनेका छन्। उनीहरुले सकेसम्म छिटो स्वदेश फर्कने व्यवस्था मिलाइदिने दूतावास समक्ष आग्रह गरेका छन्। 'हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौं तर अहिले यहाँबाट उम्कन चाहन्छौं।' उनीहरुले भनेका छन्।  भाइरस सङ्क्रमित भइन्छ भन्ने र तनाबमा नेपाली विद्यार्थी छन्। सबैभन्दा प्रभावित शहर ऊहानसँगै हुपै प्रान्तभित्रका अरू शहरमा सबै किसिमका यातायात निषेध गरिएको छ। जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूतावास अधिकारी बताउछन्। ऊहानमा रहेका नेपालीहरूले यातायात पूरै बन्द भएका कारण दूतावाससमक्ष स्वदेश फर्कने व्यवस्था मिलाउनका लागि अपिल गरेका छन्। चीनमा उपचार विधि सुलभ र सुविधाजनक भएपनि नेपाल नै फर्कन चाहेका छन्। कोही भने चीनमा नै सही उपचार पाउने भएकाले यतै रहँदा उचित हुने पनि बताउछन्। त्यसै गरी स्वदेश फर्कन पैसा नभएकोले कतिपय विद्यार्थी चाहेर पनि फर्कने अवस्थामा छैनन्। नेपाल सरकार र दूतावासको पहलको आशमा उहानका नेपाली छन्।

उहानबाटै नेपाल फर्किएका एकजना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चीनमा रहेका आफन्तको नेपालीले चिन्ता गर्न थालेका छन्। तीन दिनदेखि उहानलाई चीनले सबै यातायातबाट विच्छेद गरेको छ। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले नागरिक दैनिकसँग आफूहरु सुरक्षित रहेको बताएका छन्। उहानमा मात्र सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्। उहानको प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेका इटहरीका सन्दीप उप्रेती दुई वर्षअगाडि चीन आएका हुन्। पहिले क्यान्टिनमा खाने गरेको तर यति बेला वसन्त चाडले गर्दा रेस्टुरेन्ट र क्यान्टिन बन्द भएकाले आफूहरुले पकाएर खाँदै गरेको उप्रेतीले बताए। बिदा भएकाले केही विद्यार्थी नेपाल फर्किएको र उहानमा रहेका सबै सकुशल रहेको उनले बताए। उप्रेतीले भने, ‘अहिले उहान सुनसान छ। कुनै पनि सार्वजनिक सवारीसाधन चलेका छैनन्। विमानस्थलदेखि रेलवे स्टेसनसम्म बन्द छ।’

भक्तपुरका दिनेश सुकमनीले उहान प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका छन्। उनले सोही विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन्। उनकी श्रीमती पनि अहिले सोही विश्वविद्यालयमा व्यवस्थापनमा विद्यावारिधि गरिरहेकी छन्। वसन्त चाडको बिदा भए पनि विश्वविद्यालयले समयसमयमा इमेल गरेर सचेत गराउने गरेको र बाहिर ननिस्कन भनेको दिनेशले बताए। सुपरमार्केट र सामान्य पसल पनि बन्द रहेकाले तरकारीलगायतका अत्यावश्यक उपभोग्य वस्तु महँगो भएको उनले सुनाए। उनले भने, ‘भ्रामक समाचारले दुःख दिँदोरहेछ। झ्यालबाहिर लुगा सुकाएको थिएँ। एउटा विदेशी साथीले अब त्यो लुगाबाट संक्रमण हुन्छ भनेर डर देखायो र फेरि मैले लुगा धोएँ।’ कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्। झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि छर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले त्यसप्रकारका गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ। विभिन्न विदेशी सञ्चारमाध्यमले पनि अवस्थालाई बढाइचढाई गरेर उछालेको भन्दै चीनले सचेत गराएको छ।

झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको कान्तिपुर दैनिकमा समाचार छ । सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको कम्प्याक्ट (सम्झौता) को एजेन्डा प्रतिनिधिसभामा कसरी अघि बढ्छ भन्ने चासो छ । सरकारले भने एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित संसद्मा‘संकल्प प्रस्ताव’ ल्याउने विकल्पतर्फ छलफल थालेको छ ।

यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी सम्झौता अघि बढाउने सन्दर्भमा असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए । नेकपाभित्र पूर्वमाओवादी पक्षले एमसीसीप्रति संशय प्रकट गरिरहेको पृष्ठभूमिमा त्यही धारको प्रतिनिधित्व गर्ने नवनियुक्त सभामुख सापकोटाको भूमिकालाई पनि चासोका साथ हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब एमसीसी सम्झौता संसद्को प्रक्रियामा प्रवेश भइहाल्ने जानकारी दिए । एमसीसीसँग सम्बन्धित परियोजनाहरू अर्थ मन्त्रालयमार्फत अघि बढाउने प्रक्रिया सुरु भइसकेकाले पनि अब संसद्बाट अनुमोदन गर्ने कार्यमा ढिलाइ गर्न नहुने सरकारको धारणा छ । यसलाई लिएर सत्तारूढ दलभित्र उब्जेको विवाद भने साम्य भइसकेको छैन । त्यही विवाद मत्थर पार्न ‘संसद्मा संकल्प प्रस्ताव पेस गर्ने’ विकल्पतर्फ सरकारले छलफल अघि बढाएको हो । जानकार स्रोतका अनुसार एमसीसीलाई लिएर उठेका प्रश्नलाई जवाफ दिने गरी संसद्मा संकल्प प्रस्ताव पेस गर्ने, त्यसमाथि छलफल गर्ने र त्यो पारित भएपछि एमसीसी सम्झौतालाई अघि बढाउने योजना छ । संकल्प प्रस्तावमा नेपाल कुनै सैन्य गठबन्धनमा सामेल नहुने, मुलुकको सार्वभौमसत्ता र अखण्डतामा असर पार्ने गरी सहयोग नलिने, असंलग्न परराष्ट्र नीतिअनुसार चल्नेजस्ता बुँदाहरू हुनेछन् ।

गृहमन्त्रालयले अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर बायोमेट्रिक्स सहितको नेपाली पोर्ट नामक आफ्नो सफ्टवेयर राखेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

अध्यागमन विभागले सबै नाकामा यो सफ्टवेयर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार अपरान्ह उद्घाटन गरेपछि अध्यागमन नाकामा अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयनमा आउनेछ । नेपाली पोर्ट अत्याधुनिक बोर्डर कन्ट्रोल प्रणाली हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली जोडिनेछ । अध्यागमनमा बायोमेट्रिक्स लागू भएसँगै यात्रुको तस्विर र हस्तरेखा रेकर्ड हुनेछ । यसले यात्रुको आँखानको नानी (रेटिना) समेत पढ्न र त्यसको रेकर्ड राख्न सक्नेछ । नेपाली पोर्ट लागू भएसँगै अध्यागमनमा संदिग्ध व्यक्तिले गर्न लागेको यात्राको सहजै विश्लेषण गर्न सकिन्छ ।

व्यवसायी तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ । सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् ।

उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको छ । विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको स्रोत बताउँछ । विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ । गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागका एक अधिकारीले बताए । हालसम्मको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ । विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको छ । सहकारीकै अनियमितताको विषयमा परेको उजुरीउपर छानबिन सुरु गरी विभागले विस्तृत छानबिन अघि बढाएको हो । विभाग स्रोतका अनुसार विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत रोक्का राखिएको छ ।

प्रदेश १ सभा सदस्य गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी छन् । तत्कालीन एमालेबाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको कान्तिपुर दैनिकमा समाचार छ । खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेका थिए। गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्त्ता गराएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप