मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाका ‘हेडसर’ सापकोटाका यी हुनेछन् मुख्य तीन चुनौती

आइतबार, १२ माघ २०७६, १९ : ०२
आइतबार, १२ माघ २०७६

काठमाडौं । विद्यालयमा १५ वर्ष पढाएका र प्रध्यानाध्यापकको समेत भूमिकामा रहेका अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविमा ७ वर्ष प्रध्यानाध्यापकको भूमिकामा रहेका सापकोटाको ‘विद्यालयको हेडसरदेखि संसदको हेडसर’सम्मको यात्रा प्रारम्भ भएको छ । सिन्धुपाल्चोकबाट ३ पटक निर्वाचित र २ पटक मन्त्री समेत भइसकेका सापकोटासँग संविधान निर्माण प्रक्रियाका साथै लामो संसदीय अभ्यासको समेत ज्ञान छ ।

तत्कालीन माओवादीले थालेको जनयुद्धमा विद्यालयको मास्टरी पेसा छोडेर २०५२ सालदेखि नै भूमिगत भएका सापकोटा पार्टी अध्यक्षका प्रचण्डका विश्वासपात्र समेत हुन् । पार्टी टुटफुटका बेला वा अन्य बेला कुनै गुट उपगुटमा नलागेर निरन्तर रुपमा प्रचण्डका सहयोगीका रुपमा रहने नेताहरुमध्ये उनी पनि एक हुन् । 

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुब्र्यवहार प्रकरणमा पक्राउ परेपछि असोज १३ गतेदेखि प्रतिनिधिसभा सभामुख विहिन थियो । गत पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन सुरु भएपनि सभामुखको पात्र चयनमा नेकपाभित्र चलेको रस्साकस्सीका कारण प्रतिनिधि सभाले सभामुख पाउन सकेको थिएन । 

पूर्व एमाले र पूर्व माओवादीबीच आफ्नो पक्ष अन्तर्गतका ब्यक्तिलाई सभामुख बनाउन अन्तरसंघर्ष चलेको थियो । अन्ततः अग्नि सापकोटाको नाममा सहमति जुटेपछि सभामुख बन्न उनलाई बाटो खुलेको हो ।  प्रतिनिधिसभामा सांसदको रुपमा रहेका सापाकोटा सभामुखमा निर्वाचित भएसँगै उनको जिम्मेवारी र चुनौतीहरु पनि थपिएका छन् । सबै राजनीतिक दललाई समान व्यवहार गर्दै संसदीय अभ्यास र त्यसको गरिमालाई कायम राख्नु उनको जिम्मेवारीको क्षेत्र हो । 

यी हुन सक्छन् सभामुखमा निर्वाचित सापकोटाका आगामी चुनौतीहरु

 चुनौती नम्बर १ : सर्वोच्चमा विचाराधिन मुद्धा 

जनयुद्धको सुरुदेखि नै भूमिगत जिवन विताउँदै राजनीतिक यात्रा थालेका सापकोटाले जनयुद्धका क्रममा केही क्षति समेत बेहोरेका छन् । जनयुद्धका बेला उनको परिवारबाटै भतिजा र भतिजी गरी २ जना मारिएका थिए । यद्यपि, उनीमाथि पनि हत्या आरोप लागेको छ, जुन मुद्धा अझै पनि सर्वोच्च अदालतमा विचाराधीन छ । आइतबार सभामुखमा निर्वाचित भएर बाहिरिने क्रममा उनले सर्वोच्चमा परेको मुद्धाबारे आफूले कुनै प्रतिक्रिया नदिने बताए । सापकोटामाथि २०६२ सालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप छ । लामाकी श्रीमती पूर्णिमायाले उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी थिइन् । यो मुद्धा संवैधानिक इजलासमा बिचाराधीन छ भने उनलाई सभामुख निर्वाचित गर्ने क्रार्यक्रम रोक्न भन्दै शुक्रबार अभिवक्ता दिनेश त्रिपाठीले समेत सर्वोच्चमा मुद्धा दायर गरेका थिए । सो मुद्धाको पेशी सोमवारका लागि सरेको छ । 

सापकोटाविरुद्ध कनकमणि दीक्षित, सुशील प्याकुरेल लगायतले दायर गरेको मुद्धा पनि विचाराधीन रहेको छ । सभामुखको यात्रामा सापकोटालाई यी मुद्धाहरु पनि अवरोध बन्ने खतरा उत्तिकै छ । मानअधिकारवादीहरु, अन्तर्राष्ट्रिय जगतले संसदमा परेको उनको मुद्धालाई कसरी लिन्छन् र उनीप्रति कस्तो व्यवहार प्रदर्शन गर्छन् यो विषय पनि सभामुख सापकोटाको सफलतासँग जोडिएको चुनौतीको विषय हो । 

चुनौती नम्बर २ : एमसीसीलाई संसद प्रवेश गराउने

अहिले चौतर्फी चर्चा भइरहेको र विवादको घेरामा परेको विषय हो, एमसीसी अर्थात मिलिनियम च्यालेन्ज कर्पोरेशन । ५५ अर्ब बराबरको सो अमेरिकी सहयोग परियोजना स्वीकार गर्न संसदबाट अनुमोदन हुनुपर्नेछ । त्यसलाई संसदमा प्रवेश गराउने काम सभामुख सापकोटाको हुनेछ । नेकपाभित्रै र सर्वसाधारण तहसम्म एमसीसी परियोजनालाई राष्ट्रियताको विषयसँग जोडेर नकारात्मक अवधारणा बढिरहेका बेला सभामुख सापकोटाले यो चुनौतीको समेत सामना गर्नुपर्नेछ । 

पूर्व सभामुख कृष्णबहादुर महराले एमसीसीलाई संसदमा प्रवेश नगराएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उनीबाट चिढिएको विषय बाहिर आइरहँदा सापकोटालाई अध्यक्ष ओलीको पनि दवाव रहनेछ । सत्ता सञ्चालनका लागि आफू अनुकूल पात्रलाई सभामुख बनाउन खोजेका ओलीले अर्का अध्यक्ष प्रचण्डले लिएको कडा अडानका कारण अग्नि सापकोटाको नाममा सहमति दिएका थिए । एमसीसीलाई संसदबाट छिटो पास गरेर परियोजना अगाडि बढाउन प्रधानमन्त्री ओली इच्छुक रहेका बेला सभामुख सापकोटाले नेकपाभित्रै तीब्र बिरोधमा रहेको परियोजनालाई अगाडि बढाउँदा सन्तुलित भएर अघि बढ्नु अर्को चुनौती रहेको छ ।  

चुनौती नम्बर ३ : प्रतिपक्षी दलहरुको भूमिका 

सभामुखमा निर्वाचित भएसँगै सापकोटाको अर्को चुनौती सबै दलसँग समन्वयकारी भूमिका खेल्नु हो । भलै निर्वाचित हुने वित्तिक्कै उनले आफू निष्पक्ष र तथस्ट सभामुखको मूमिकामा रहने प्रतिक्रिया दिएका छन् । नेकपाको तर्फबाट सभामुखमा उम्मेद्धवारी दिएका उनीविरुद्ध प्रमुख प्रतिपक्षी दल काँग्रेसले अर्को उम्मेद्धवार खडा गरेन् । काँग्रेस संसदीय दलको बैठकले सभामुख निर्वाचन प्रक्रियामा नेकपाको बहुमत मतादाता रहेकोले त्यो प्रक्रियामा जान आवश्यक ठानेन भने सभामुख पद तटस्थ भूमिकामा रहनुपर्ने पद भएकोले काँग्रेसले अर्को उम्मेद्धवारी नउठाउने निर्णय गरेको थियो । 

सभामुख निर्वाचित हुनुअघि संसद बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले भोलीका दिनमा संविधानले देखाएको बाटोमा संसद अघि बढ्छ कि बढ्दैन भन्ने प्रतिपक्षी दलको आशंकालाई सभामुखले जित्न सक्नुपर्ने बताएका छन् ।

सभामुख सापकोटालाई प्रतिपक्षी दलसँग मात्रै नभई आफ्नै पार्टीभित्रका विभिन्न पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । प्रधानमन्त्री ओलीको अरुची हुँदाहुँदै पनि अध्यक्ष प्रचण्डसहित पार्टी सचिवालयका अन्य पदाधिकारीको भैसेपाटी भेलाको दवावका कारण उनी सभामुखमा चयन भएका थिए । 

प्रतिपक्षी दलका साथै उनले सत्ता पक्षभित्रै प्रतिपक्षीको व्यवहार देखाउने सबैप्रति समन्वयकारी भूमिका निभाउनु चुनौती छ । सत्ता सञ्चालनलाई सहयोग खोज्ने प्रधानमन्त्रीको भावनाका साथै काँग्रेस लगायतका प्रतिपक्षी दलको समेत विरोध नआउने गरी प्रस्तुत हुनुपर्ने उनको अर्को चुनौती हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप