शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसबाट सतर्कता अप्नाउन प्रधानमन्त्री ओलीको निर्देशन

आइतबार, १२ माघ २०७६, १८ : ३६
आइतबार, १२ माघ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएकाले सतर्कता अप्नाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक तयारी गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयसँगै संस्कृति पर्यटन तथा नागरिक उड्ययन र परराष्ट्र मन्त्रालयलाई समेत यसमा सर्तकर्ता अप्नाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार पर्यटनमन्त्री योगश भट्टराई र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई निर्देशन दिएका हुन् । 

त्यस्तै, ओलीले नेपालमा कोरोना भाइरसको जोखिम, संक्रमितहरुको अवस्था र व्यवस्थापनका विषयमा स्वास्थ्यसचिव खगराज बरालसँग जानकारी लिँदै यो रोगको उपचारका लागि  केन्द्रीय अस्पतालहरुलाई तयारी अवस्थामा राख्न समेत निर्देशन दिएका छन् । 

यता, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेक्समा शंकास्पद बिरामी भेटिए विमानस्थालबाट नै अस्पताल पु¥याउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । अहिलेसम्म चीनबाट नेपाल फर्किएका २ जना बिरामीमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । एक महिला र एक पुरुषमा सो भाइरसको संक्रमण भएको आशंकमा उनीहरुको स्वास्थ्य जाँच रिपोर्ट परीक्षणका लागि हङकङ पठाएको राजधानीस्थित शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ ।  

सो रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, शुक्रराज ट्रपिकल अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा विशेष वार्डको  व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले शिक्षण अस्पताल, वीर अस्पताल, सिभिल अस्पतालमा आइसोलेसन वार्ड बनाएर ३ दिनभित्र योजना पेश गर्न निर्देशन समेत दिएको छ । 

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जना मृत्यु भएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरिया, अस्ट्रेलिया अमेरिकासम्म फैलिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप