सापकोटा सभामुखमा निर्वाचित भएपछि कसले के भने ?
काठमाडौँ । सभामुखमा अग्नि प्रसाद सापकोटा निर्विरोध निर्वाचित भएपछि विभिन्न राजनीतिक दलका नेताहरुले उनलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले निष्पक्ष रुपमा सदन सञ्चालन गर्ने चुनौती उनीसामु रहेको बताए ।
सापकोटाले चाहेको खण्डमा निष्पक्ष रुपमा सदन सञ्चालन हुने उल्लेख गर्दै भट्टराईले लामो समय शिक्षण पेशामा रहेका सापकोटा बौद्धिक व्यक्तित्व भएको बताए ।
जनयुद्धमा समेत सँगै काम गरेको स्मरण गर्दै भट्टराईले लगनशिल भएर काम गर्ने सापकोटा क्षमता प्रति आफू जानकार रहेको बताए ।
जनयुद्धमा परिवारले निकै त्याग र बलिदान गरेकाले पनि सभामुखका लागि सापकोटा उपयुक्त पात्र भएको भट्टराईको भनाइ छ । ‘‘निष्पक्ष रुपमा सभालाई कसरी अगाडि बढाउनुहुन्छ भन्ने मुख्य चुनौती हो । उहाँले चाहानुभयो भने सक्नुहुन्छ । उहाँ बौद्धिक व्यक्तित्व नि हो । शिक्षकका रुपमा लामो समय काम गर्नुभयो । जनयुद्धमा लगनशील भएर काम गर्नुभयो । उहाँको पार्टीले निकै त्याग र बलिदान पनि गरेको छ । त्यस अर्थमा उहाँ सभामुखका लागि उपयुक्त पात्र हुनुहुन्छ’’, भट्टराईले भने ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सापकोटा सबैले आश र विश्वास गरेका व्यक्ति भएको बताउँदै कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्नेमा विश्वस्त रहेको बताए ।
प्रतिपक्षी दलका केही आशंकाहरु रहेकामा पदमा रहँदा सापकोटाले ती आशंका र सामाजिक संजाल तथा अन्य क्षेत्रबाट भइरहेका आलोचनाहरुका विषयमा ध्यान दिएर संसद अगाडी बढाउनुपर्ने नेपालले बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले नेताहरुमा आलोचना सहने बानी नरहेको बताउँदै सापकोटालाई आफ्नो योग्यता र क्षमता पुष्टि गर्ने समय आएको र यसको सदुपयोग गर्न आग्रह गरे ।
नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालले सभामुख चयन भएपछि संसदमा नयाँ विधेयक पारित हुने र संविधान राम्ररी कार्यान्वयनको दिशातिर जाने बताए ।
तीन दशकसम्म शिक्षण पेशा अंगालेका व्यक्ति सभामुखमा निर्वाचित भएको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले ३ पटक संसद, २ पटक मन्त्री बनिसकेको व्यक्तिले सभामुख राम्ररी चलाउन सक्ने बताए ।
प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदको नेता सर्वसम्मत हुनु राम्रो भएको बताए । संसद मात्रै नभएर सबैतिर यसरी नै सहमति जुट्दा राम्रो हुने उनको भनाइ छ । सभामुख कुनै एक पार्टीको प्रतिनिधि नभएर संसदको प्रतिनिधि भएर काम गर्नुपर्ने सुझाव उनले दिए ।
प्रतिपक्षी दल कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख चयन भएपछि ठीक ढंगले संसद सुचारु हुनेमा खुसी व्यक्त गरे ।
सभामुखको पद तथस्ट रहेको र सत्तापक्षको सरकार भएपनि संसद प्रतिपक्षी दलको हुन्छ भन्ने विषयलाई सापकोटाले बुझ्ने अपेक्षा आफ्नो रहेको बताए ।
बडुले प्रतिपक्षी दललाई जनताका समस्या राख्न दिने र सरकारलाई संसदप्रति उत्तरदायि बनाउने काममा सहयोग गर्ने अपेक्षा आफ्नो दलले दिएको बताए ।
हिउँदे अधिवेशन सुरु भएको लामो समयपछि प्रतिनिधिसभाले सभामुख पाएको छ । सत्तारुढ दलबाट सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने