शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने

आइतबार, १२ माघ २०७६, १८ : ०३
आइतबार, १२ माघ २०७६

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१  मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको फाइनल खेल माघ २० गते हुने सङ्घका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बताए ।

स्की प्रतियोगिताले नेपाललाई विश्वमा चिनाउन सकिने, यस्ता साहसी खेलको माध्यमले भ्रमण वर्ष २०२० मा हिमाली क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने र गाउँपालिका, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउने सांसद श्रेष्ठले बताए । 

स्की हिउँमा खेलिने खेल हो । मुस्ताङमा दोस्रो पटक आयोजना गरिएको स्की खेल प्रतियोगिताले मुस्ताङको बेमौसमी व्यापारको घाटालाई पुर्ति गर्नुका साथै खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए ।

सङ्घको आयोजनामा गत वर्ष जिल्लाको मुक्तिनाथमा आयोजित दोस्रो स्की प्रतियोगिताको स्नोबोर्डिङ स्की र अल्पाइन स्की विधामा प्रतिस्पर्धा गर्न १५ महिला र १६ पुरुष खेलाडीले भाग लिएका थिए । यस वर्ष प्रतियोगितामा स्नोबोर्डिङ स्की, अल्पाइन स्की र क्रस कन्ट्री स्की प्रतियोगिता राखिने तथा युवाहरुलाई तालिम दिने सङ्घका महासचिव विजय श्रेष्ठले बताए । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको तालीमले सहयोग पुग्ने श्रेष्ठको जिकिर छ ।

नेपालको इतिहासमा स्की प्रतियोगिता गराएको हालसम्म तीन वर्ष भएको छ । दुई वर्षअघि रसुवाको लाङटाङमा, गत वर्ष मुक्तिनाथमा र यसपालि पनि मुक्तिनाथमै गर्न लागिएको हो । खेलका लागि उपयुक्त स्थान मुक्तिनाथ क्षेत्र भएका कारणले मुक्तिनाथ र मुस्ताङका विभिन्न सम्भावित क्षेत्रको अध्ययन गरी गाउँपालिका र नेपाल सरकारसँग समन्वय गरेर ती स्थानलाई स्की खेलका रूपमा विकास गरिने आयोजकले बताएका छन् । 

आवश्यक पूर्वाधार विस्तार गर्न सक्ने हो भने मुस्ताङमा स्की खेलको सम्भावना अत्यन्तै राम्रो रहेको सांसद प्रेमप्रसाद तुलाचनले बताए । हालसम्म कृषि र पर्यटनले चिनिएको मुस्ताङ अब खेलले पनि चिनिने तुलाचनल बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप