बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेरि चिटिक्क बन्यो नेपालको पहिलो विद्यालय (फोटो/भिडियो)

आइतबार, १२ माघ २०७६, ०९ : ४४
आइतबार, १२ माघ २०७६

विनाशकारी भूकम्पले भत्काएको काठमाडौँको दरबार हाइस्कुलको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२०७५ साल साउनदेखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो भवनको निर्माण शुरु भएको थियो । झन्डै ९० करोड हाराहारी लागत रहेको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो । ठेकेदार कम्पनीले २० महिनामा सम्पन्न गर्ने सम्झौता गरेपनि १९ महिनामै यो भवन निर्माणको काम सम्पन्न गरेको हो । यही माघ महिनाभित्र सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना राखिएको छ । 

हाइस्कुलमा पुस्तकालय, विज्ञान प्रयोगशाला, आकर्षक कक्षाकोठाका साथै विद्यार्थीलाई खेल्नका लागि बास्केटबल कोर्ट पनि राखिएको छ । भवनको बाहिरी आवरण पुरानै शैलीमा रहेपनि भित्री भागमा भने अत्याधुनिक संरचना रहेको छ ।

भूकम्पअघि दरबार हाइस्कूलको माथिल्लो तलामा भानू मावि र तल्लो तलामा संस्कृत मावि सञ्चालनमा रहेको यो भवन भत्किएपछि विद्यार्थीलाई अस्थायी टहरामा सारेर पठन पाठन गरिएको थियो ।

भवनको भौतिक संरचना निर्माण सम्पन्न भएपछि अहिले रंगरोगन गर्ने तथा सरसफाइ गर्ने काम भइरहेको  छ । नवनिर्मित विद्यालय भवनमा ४ तला र ४६ वटा कक्षाकोठा रहेका छन् ।

आजभन्दा १ सय ६६ वर्षअघि अर्थात् वि.सं. १९१० सालमा राणा र राजपरिवारका सन्तानलाई पढाउन खुलेको दरबार हाइस्कुलमा पछि सर्वसाधारणका सन्तानलाई पनि अध्ययन गर्न दिइएको थियो ।

२०२४ सालअघि दरबार हाइस्कुल भनिएपनि त्यसयता यसको नाम परिवर्तन गरेर भानु मावि राखिएको थियो । 

यसअघि भूकम्पले भत्काएको भवन वि.सं. १९४८ सालमा वीरशम्शेरको पालामा निर्माण गरिएको थियो । २०४५ सालमा गएको भूकम्पले पनि उक्त भवनमा सामान्य क्षति पुगेको थियो ।

यसअघिको भवन इँटा, सुर्की, चुना प्रयोग गरेर बनाइएको थियो । अहिले भने आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ । तर बाहिरको बनावटमा भने परम्परागत शैलीलाई कायम राखिएको छ ।

दुईवटा विद्यालय सञ्चालित यहाँ भानु मावि र संस्कृत माविमा गरेर ३ सय हाराहारी विद्यार्थी रहेका छन् भने ३५ शिक्षक कार्यरत छन् ।

यो भवन सरकारलाई हस्तान्तरण गरेसँगै वाल्मिकी विद्यापिठको खाली जग्गामा टहरामा अध्ययन गरिरहेका विद्याथीहरुले नयाँ कक्षाकोठा पाउनेछन् ।

भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप