बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ममाथि राजनीतिक हिंसा भयो, नेकपाले ठूलो अवसर गुमायो : निवर्तमान उपसभामुख

आइतबार, १२ माघ २०७६, ०७ : २८
आइतबार, १२ माघ २०७६

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको दाबी गरेकी छिन् । नेपाल समाचारपत्रसँगको अन्तरवार्तामा उनले सो दाबी गरेकी हुन् ।

उनले भनेकी छिन्, ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो त्यो पार्टीले जवाफ दिने कुरा हो । पार्टीलाई राम्रो अवसर प्राप्त भएको थियो । मुलुकको महत्त्वपूर्ण अङ्गमध्ये व्यवस्थापिकाको प्रतिनिधिसभाको सभामुख एक्जुकेटिभ पर्सन जान सक्थ्यो । महिला मैले कहिले पनि जोडेको छैन । क्षमताको विकास गरेर अघि बढ अनि काम गर । यो पद महिला भएको आधारमा मात्र पाउनुपर्छ भन्ने होइन । क्षमताको आधारमा पाउनुपर्छ । मलाई घाटा भएको छैन, घाटा पार्टीलाई भएको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले आफूलाई सभामुख चयनमा बाधा बनेको आरोप लगाएकोमा पनि उनले दुःख व्यक्त गरेकी छिन् । उनले भनेकी छन्, ‘मैले स्पष्ट रुपमा भनेकी थिएँ , पार्टीले सभामुखको उम्मेदवारको टुङ्गो लगाओस्, त्यसपछि म राजीनामा दिन्छु । तर, मलाई पार्टीकै जिम्मेवार नेताहरुले बाधक बनेको आरोप लगाए । बाधक भनेको मलाई अहिले पनि चिक्त बुझेको छैन । यो बाधक भन्ने शब्द मेरा लागि सुपाच्य होइन । मेरा लागि अप्ठ्यारो शब्द हो । यसले मेरो मन र भावनामा ठेस पुग्यो । मैले पार्टीका दुवै अध्यक्षलाई भनेको थिएँ, यो ममाथि भएको राजनीतिक हिंसा हो । यस हिंसाको बारेमा पार्टीभित्र छलफल हुनुपर्ने माग मैले गरेकी छु ।’

नेकपाले आफूमाथि अन्याय गरेको बताउँदै उनले भनेकी छिन्, ‘नेकपाले ममाथि अन्यया गर्यो भन्ने नै हो । यस्तो अन्यायले मानिस स्वतः स्फूर्त ढङ्गले अघि बढ्ने कुरालाई असहज बनाइदिन्छ । मैले भ्रष्टाचार गरेँ कि ? यौनदुराचार गरे कि ? पदअनुसार आचरण गरिनँ कि ? भन्ने प्रश्नको कुनै जवाफ पार्टीले दिएन । सम्भवतः मेरो प्रश्नको उत्तर पार्टीले कहिले पनि दिन सक्दैन । किनकि मैले गल्ती नै गरेको छैन । अनुत्तरित हुँदाहुँदै म बाहिर निस्किएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप