शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भट्ट

शनिबार, ११ माघ २०७६, २२ : १०
शनिबार, ११ माघ २०७६

हेटौंडा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग विकासका लागि आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आज साँझ हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भट्टले विदेशी लगानी भित्र्याउन लागिपर्दा स्वदेशी लगानीकर्ता निरास भएको बताए ।

मन्त्री भट्टले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर औद्योगिक विकास गर्ने रणनीति अघि सारेको बताउँदै राष्ट्रलाई उद्योगमार्फत आत्मनिर्भर बनाउने दिशामा सरकार लागिपरेको जानकारी दिए । सङ्घीय सरकारले नीति निर्माण मात्र गर्ने र अबको दिनमा औद्योगिक क्षेत्र प्रदेश सरकारलाई जिम्मा लिने विषयमा समेत छलफल भइरहेको उनको भनाइ छ । बीस वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका विषयमा पनि छिट्टै निर्णय हुने उनले बताए ।
 
लगातार घाटामा गएपछि तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको हेटौँडा कपडा उद्योगमा हाल सशस्त्र प्रहरी नेपाल गण नं १४ को कार्यालय रहेको छ । उद्योगमा हाल करीब तीन सय सशस्त्र प्रहरी बस्ने गरेका छन् । कपडा उद्योगमा ४८६ कपडा बुन्ने तान र १४ हजार ६८८ स्पिण्डल रहेको छ ।

मन्त्री भट्ट, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलगायतको टोलीले हेटौँडा सिमेन्ट उद्योग पनि निरीक्षण गरेको थियो । मन्त्री भट्टले आजै हेटौँडा औद्योगिक क्षेत्रमा रहेको क्यालिब्रेशन टावरको पनि निरीक्षण गर्नुभयो । तेल बोक्ने टङ्याकरको गुणस्तर मापन गर्ने क्यालिब्रेसन टावर हेटौँडामा निर्माण गरेपछि भारतको रक्सौलमा जानुपर्ने बाध्यता हटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप