शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैयाको निधन

शनिबार, ११ माघ २०७६, २० : ४४
शनिबार, ११ माघ २०७६

विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो । 

उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति थिइन् । उनको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिए । “विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो”, उनले भने, “उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।”
 
कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी पर्नुभएको थियो । उनको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो ।

 उनको अवस्था सुधार नभएपछि उनलाई घरमै राखिएको थियो । त्यही क्रममा आज उनको निधन भएको बुहारी आशा पुनमगरले बताइन् । अब दाङको लमहीमा उनकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जानेकी छन् ।

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । उनका दुई छोरीको विवाह भइसकेको छ । घरमा उनकी बुहारीले नै हेरचाह गर्दै आएकी थिइन् ।

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप