शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा मन्त्री हरेफेरको चर्चा

शनिबार, ११ माघ २०७६, १८ : २५
शनिबार, ११ माघ २०७६

काठमाडौं । प्रदेश २ को सरकार गठन भएदेखि विभिन्न कारणले सो प्रदेश चर्चामा रहँदै आएको छ । सरकार गठन भएको तीन–चार महिनापछि मुख्यमन्त्री फर्ने चर्चा चलेको थियो । कहिले सरकार नै परिवर्तन हुने हल्ला चल्छ भने कहिले मन्त्री हट्ने हल्ला चल्छ । 

प्रदेश २ को सरकार परिवर्तन हुने चर्चा चलिरहेको बेला मन्त्रीहरु नै हेरफेरको तयारी सुुरु भएको छ । मन्त्रीहरुको काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतले मन्त्री हेरफेर गर्ने तयारी गरिरहेको केही मन्त्रीहरु नै बताउँछन् ।

त्यसका लागी मुख्यमन्त्री काठमाडौं आएका छन् । उनले पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि यस विषयमा छलफल गरेका छन् । राजपा नेपालका तीनै जना मन्त्री हेरफेर गर्ने सोचका साथ समाजवादी पार्टी अगाडी बढेको स्रोतले जनाएको छ । 

राजपा नेपालको मन्त्री हेरफेर गर्न लाग्दा सो पार्टीले सरकार छाडेर नेकपासँग मिलेर अर्को सरकार बनाउन सक्छ, त्यस कुराबाट समाजवादी पार्टी अवगत छ । राजपा नेपालले यदि त्यस्तो कदम चाल्यो भने समाजवादी पार्टीले पनि नेकपासँग यस विषयमा कुराकानी गर्न सक्छ ।

स्रोतका अनुसार त्यसका लागी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपाका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् । राजपा नेपालले सरकार छाडे भने प्रदेश २ मा समाजवादी र नेकपा गठबन्धनको सरकार बनाउने विषयमा कुराकानी भएको स्रोतको दावी छ । तर नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टीसँग सरकार बनाउन चाहेका छैनन् ।


राष्ट्रिय सभा चुनावमा आएको मत अनुसार राजपा र नेकपा गठबन्धनको आवश्यकता मधेशमा रहेको कुरा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले भनि सकेका छन् । प्रदेश २ का नेकपा इन्चार्ज एवं प्रदेश सांसद सत्यनारायण मण्डलले पनि परिवर्तन हुने बताउँदै आएका छन् ।

नेकपा र राजपाको घेराबन्दीमा परेपछि समाजवादी पार्टीमा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल भइरहेको नेताहरु बताउँछन् ।राजपा र नेकपाबीच राष्ट्रिय सभाका लागि पुस २ गते चुनावी गठबन्धन भएपछि प्रदेश २ को सरकार परिवर्तन हुने चर्चा सुरु भएको थियो । प्रदेश २ मा समाजवादी र राजपाको संयुक्त सरकार छ । अब समाजवादी पार्टीलाई हटाएर राजपा र नेकपाले सरकार बनाउने भनि चर्चा सुरु भएको थियो । 

नेकपा र राजपा गठबन्धनको सरकार गठनको प्रकृया राष्ट्रिय सभाको चुनावपछि हुने कुरा पनि चलेको थियो । माघ ९ गते चुनाव सकिए लगत्तै उक्त चर्चा थप चुलिएको छ । नेकपा र राजपाले सरकार गठनको प्रकृया सुुरु गर्नुभन्दा पहिले समाजवादी पार्टीले नै सरकारमा रहेका मन्त्रीहरुको काम कारवाही सन्तोषजनक नभएको भन्दै केही मन्त्री हेरफेर गर्ने छलफल चलाएको छ ।

प्रदेश २ मा समाजवादी पार्टीबाट भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहले पछिल्लो समय सरकारको काम कारबाही सन्तोषजनक नभएकाले कार्यसम्पादन मूल्यांकन गरी कमजोर देखिएका मन्त्रीलाई हटाएर नयाँ मन्त्री राख्ने तयारी भएको बताए । 

‘यसमा राजपाको मात्र होइन, समाजवादी पार्टीका मन्त्रीहरु पनि पर्न सक्छ,’ उनले भने, ‘सरकार गठन भएको दुई वर्ष भइसक्यो । जुन रुपमा कामहरु अगाडि बढ्नुपर्ने हो त्यो रुपमा अगाडी बढेको छैन । त्यसैले सरकारको बारेमा समीक्षा गरी जुन मन्त्रीको कार्य सम्पादन कमजोर देखिएको छ । उनीहरुलाई हटाएर अर्को मन्त्री राख्नुपर्छ । त्यो तयारी भइरहेको छ ।’ 

यस विषयमा आफूले मुख्यमन्त्री राउतसँग समेत कुराकानी गरेको बताउँदै मन्त्री साहले यस विषयमा छलफलहरु भइरहेको बताए ।उनले यस विषयमा पार्टीले पनि चाँडै एउटा निर्णय गरेर अगाडि बढ्ने बताउँदै मन्त्री हेरफेर गर्दा जुनसुकै पार्टीका मन्त्री पर्न सक्ने बताए ।

गत आर्थिक वर्षमै भएका कामको भुक्तानी नभएको विषय लिएर सरकारको बारेमा भएको टिका टिप्पणीको पनि समीक्षा हुनुपर्ने उनले बताए । यसतै प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्री हेरफेरको अवश्यकता रहेको बताए । समाजवादी पार्टी प्रदेश २ का अध्यक्ष समेतरहेका मन्त्री यादवले काम गरेको भुक्तानीलाई लिएर सरकार बदनाम भइरहेको भन्दै मन्त्री हेरफेर हुनुपर्ने बताए । 
गत आर्थिक वर्षको भुक्तानी दिने विषयमा समाजवादीले सम्हालिएको मन्त्रालयभन्दा राजपाले सम्हाल्दै आएको मन्त्रालयको आलोचना बढी भएको बताउँदै उनले यसको विषयमा छानविन गरी मन्त्री हेरफेर गर्नुपर्ने बताए । 

मन्त्री हेरफेर गर्दा सरकारको समिकरण फेरिन सक्छ नि भन्ने प्रश्नमा उनले भने, ‘राजपा नेपालले पहिलादेखि नै नेकपासँग गठबन्धन बनाएर बसेका हुनाले त्यसमा समाजवादी पार्टीले कुनै चिन्ता लिएको छैन । समाजवादी पार्टीले सरकारको नेतृत्व गरेकाले सरकार कसरी सञ्चलन गर्ने, जनताको काम राम्रोसँग कसरी गराउन सकिन्छ त्यस विषयमा निर्णय लिने अधिकार मुख्यमन्त्रीको रहेको उनले बताए ।  


तर, मुख्यमन्त्री राउतले दुई पार्टीको सरकार भएकाले मन्त्री हेरफेरबारे दुईटा दल बसेर छलफल गर्ने बताए । अहिले नै मन्त्री हेरफेर वा केही गरी हाल्ने अवस्था नरहेको बताउँदै उनले दुवै (समाजवादी र राजपा) दलका नेताले जे निर्णय गर्छन् त्यही हुने उनले बताए ।

यस विषयमा दलहरुको बीचमा कुराकानी भइरहेको छ कि छैन भनि जिज्ञासा राख्दा उनले भने, ‘दुई दलको नेताहरुको बीचमा छलफल भइरहेको छ कि छैन त्यो थाह भएन । तर, राजनीतिक घटनाक्रम जसरी अगाडि बढेको छ । त्यसको आधारमा दुई दलका नेताहरुबीचमा कुराकानी जरुरी छ ।’

उनले आफ्नो नीजि कामका लागि काठमाडौं आएको भन्दै यसबीचमा नेताहरुसँग कुनै सम्पर्क नभएको दावी गरे । 

यता प्रदेश २ का राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मन्त्री हेरफेरको विषयमा आफूलाई कुनै कुराको जानकारी नरहेको बताए । उनले यस विषयमा पार्टीभित्र पनि कुनै कुराकानी नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप