शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोक्नु बिच्छीको स्वभाव : दयामाया र करुणा राख्नु मानिसको धर्म

शनिबार, ११ माघ २०७६, १७ : १३
शनिबार, ११ माघ २०७६


एउटा साधु गंगाको किनारमा बसिरहेका थिए । उनले एउटा बिच्छी गंगाको पानीमा खसेको देखे । हत्तनपत्त उनले नदीमा पसेर त्यो बिच्छीलाई उद्दार गरे । तर त्यो बिच्छीले साधुको हातैमा डसिदियो । दुखाइको पीडाले गर्दा साधुले हात झट्कार्दा त्यो बिच्छी फेरि पानीमा खस्यो ।

केहीबेरपछि ती साधुले फेरि त्यो बिच्छीलाई हातको अञ्जुलीमा राखेर पानीबाट बाहिर निकाल्ने उपक्रम गरे । यस पटक पनि त्यो बिच्छीले साधुको हातमा टोकिदियो । दुखाइको पीडाले हात झट्कार्दा फेरि बिच्छी पानीमा नै खस्यो ।

साधुले विच्छीलाई उद्दारको कोशिश गर्ने र बिच्छीले टोक्ने क्रम चलिरह्यो ।

त्यो दृश्य गंगामा स्नान गरिरहेका एक पण्डितले नियालिरहेका थिए । अति भएपछि उनले साधुलाई भने, ‘साधु महाराज, बिच्छीले टोक्छ भन्न्ने जान्दाजान्दै पनि तपाईं किन त्यसलाई उद्दार गर्ने कोशिश गरिरहनुभएको छ ?

साधुले मन्द मुस्कानका साथ जवाफ दिए, ‘हे ब्राम्हण देव, टोक्नु उसको स्वभाव र कर्म हो, त्यसले गर्दा उसले मलाई पटक पटक टोकिरहेको छ । तर मेरो कर्म र स्वभाव भनेको साधुको हो, मानिसको हो । हरेक प्राणीमाथि दयामाया र करुणा राख्नु मानव धर्म हो । त्यही धर्मको कारण म उसले टोक्छ भनने जान्दाजान्दै पनि उद्दार गर्ने कोशिश गरिरहेको छु ।’

साुधको जवाफ सुनेर ब्राम्हण नतमस्तक भए । उनले साधुलाई प्रणाम गरेर हिँडे ।

ठीक यस्तै कथा जेन आख्यानमा पनि पाइन्छ । कथा यस्तो छ:

दुई जना भिक्षु नदीको किनारमा आफ्ना भाँडा सफा गरिरहेका थिए । त्यत्तिकैमा एउटा भिक्षुले नदीमा डुब्दै गरेको एउटा बिच्छीलाई देख्यो । उसले हत्तनपत्त त्यस बिच्छीलाई पानीबाट निकालेर उद्दार गरिदियो । यसो गर्दा त्यस बिच्छीले भिक्षुको हातैमा टोकिदियो ।

पानीबाट बिच्छीको उद्दार गरिसकेपछि त्यो भिक्षु पुनः आफ्नो काममा जुट्यो । अचानक उसले देख्यो, त्यही बिच्छी फेरि पानीमा खसेर डुब्दैछ । उसले पुनः हत्तनपत्त त्यस बिच्छीलाई पानीबाट निकाल्यो । यस पटक पनि त्यस बिच्छीले भिक्षुलाई टोक्यो ।

यो क्रम पटक पटक चल्यो । त्यो देखेर अर्को भिक्षुले आफूलाई रोक्न सकेन । उसले उद्दारकर्ता भिक्षुलाई सोध्यो– त्यस बिच्छीले तपाईंलाई पटक पटक टोक्दैछ । तर पनि तपाईं त्यसलाई पानीबाट उद्दार गर्न किन छोड्नु हुन्न ?

जवाफमा उद्दारकर्ता भिक्षुले शान्त भएर भने, ‘टोक्नु त्यस बिच्छीको स्वभाव हो । त्यसैगरी आपतमा परेकाहरुको उद्दार गर्नु चाहिँ मेरो स्वभाव ।’

Title Photo: https://steemit.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप