शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनैपनि किताबमा फेला पर्दैन : प्रचण्ड

शनिबार, ११ माघ २०७६, १४ : ०३
शनिबार, ११ माघ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै पनि किताबमा फेला नपर्ने खालको भएको बताएका छन् । 

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार “जनताको जनवादका आधारहरु” विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पुँजीवादी क्रान्ति र नवजनवादी क्रान्ति भन्दा भिन्न प्रकृतिको भएको बताए । 

प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वले पूँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि विजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उल्लेख गरे । 

उनले भने, ‘हामीले नेपालमा जे अनुभव गर्यौँ । जे हासिल गर्यौँ र हामी अब जसरी समाजवादको निर्माणको दिशामा अगाडि बढ्दैछौँ । त्यो दुनियाँको कुनै किताबमा भेटिने खालको छैन । हामीले आफैले आफ्नो जीवनमा संघर्ष गरेर बलिदान गरेर, मेहनत गरेर , त्याग गरेर हासिल गरेका छौँ र विश्वभरिका अनुभवहरुको अध्ययन गरेर, हामीले नेपालमा जे प्रयोग गरेका छौ यही विषयलाई सबैले गम्भीरतापूर्वक विचार गर्नुहोला । ”

पुँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएकाले नवजनवादी वा पुरानो पूँजीवादी दुवै क्रान्ति जस्तो नभई नेपालको क्रान्ति ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी उनले गरे । 

अध्यक्ष प्रचण्डले पुस्तकले पार्टीको इतिहास तयार पार्ने जनताको जनवादका आधारहरुका साथै ऐतिहासिक एकतापछिको संक्रमणकालिन परिस्थिति र विचारको विकासको प्रक्रिया र श्रृंखलालाई बुझ्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । 

गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्धारा सम्पादित “जनताको जनवादका आधारहरु”  पुस्तकमाथि युवराज ज्ञवालीले टिप्पणी गरेका थिए । 

पुस्तकमा जनताको जनवादका आधारहरु सम्पादनको आवश्यकता, नेकपाको एकीकृत अवस्था, एमालेका ऐतिहासिक दस्तावेजका अंशहरु, माओवादीका ऐतिहासिक दस्तावेजका अंशहरु र ऐतिहासिक एकताको अवस्था समावेश गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप