सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

गीतकार डा. कृष्णहरि बरालको जीवन : मृत्युको नजिक पुगेर आएँ, अब डर छैन

शनिबार, ११ माघ २०७६, १० : ३२
शनिबार, ११ माघ २०७६

डा. कृष्णहरी बराल नेपाली कवि, गीतकार एवम् साहित्यकार हुन् । सिन्धुलीमा जन्मिएका बरालको पहिलो नाम सुब्बासाप थियो । घरमा सबैले उनलाई यो नामले बोलाउँथे । सन् १९७७ मा ‘म भक्त हुँ यो देशको’ कविताबाट उनी कविको रूपमा सार्वजनिक जीवनमा चिनिन सफल भए । 

विसं २०३३ सालमा काठमाडौँ छिरेका उनी अहिले गीतकार र  प्राध्यापकका रूपमा चर्चित छन् । उनका साहित्यक र पाठ्यक्रमका गरेर ५० वटा पुस्तक प्रकाशित छन् । बरालका करिब ८ सय गीत रेकर्ड भएका छन् । जसमा आधुनिक गीत, चलचित्रका गीत, गजल गीत तथा स्वदेश गान वा राष्ट्रिय भावनाका गीत छन् ।

उनको पहिलो रेकर्ड भएको गीत ‘म भक्त हुँ यो देशको’ बोलको थियो । ‘के भूल भयो प्रिया’ र ‘मिसावट छ पिरतीमा’ उनका आधुनिक गीत मध्य बहुचर्चित गीत हुन् । फिल्मका भने ‘म मर्नेबेला तिमी चाहिँ आउनु’, ‘जूनको ज्योति ल्याएर दिन्छु म’, ‘यी आँखामा तिमी छौ’, ‘फेरि फेरि नाइँ नभन्नु ल’, ‘पागल म बन्न सक्छु’, ‘मर्ने कसैको रहर हुँदैन’, ‘सबको कहानी उस्तै उस्तै नहुने रहेछ’ लगायत धेरै छन् ।

गीतसङ्गीत, साहित्य र प्राध्यापकका रूपमा परिचित डा. कृष्णहरि बरालको जीवनका विभिन्न पाटाहरु रातोपाटीको मेरो जीवन स्तम्भमा खोतल्ने प्रयास गरेका छौँ ।

मेरो फिटनेस
फिट्नेसका लागि केही गर्दिनँ । एक पटक कीर्तिपुरमा एउटा भाइ साइकल दुर्घटनामा परेका थिए । उनलाई उठाउँदा मेरो ढाड सड्किएको थियो ।

त्यो बेला डाक्टरले एक्सरसाइज सिकाएका थिए । तर अहिले गर्दिनँ । कहिले कहिले मात्र त्यो एक्सरसाइज गर्छु । मर्निङवाक गर्ने बानी छैन । हिँड्न चाहिँ हिँड्छु ।
  
मेरो खाना
नेपाली खाना दालभात तरकारी मनपर्छ । अचारमा भए पनि, नभए पनि ठीकै । आलु, भन्टाको तरकारी धेरै मनपर्छ । माछामासु मीठो लाग्छ । फस्टफुड आइटम, समुद्रको माछा मन पर्दैन ।

अमेरिका घुम्दासमेत मैले दालभात तरकारीको चाहना गरेको थिएँ । तर मिलेन । रेस्टुरेन्ट साथीभाइ, परिवारसँग कहिलेकाहीँ जानैपर्ने हुन्छ । तर रेस्टुरेन्टको खानेकुरामा इन्ट्रेस्ट लाग्दैन । पकाउन आउँछ तर पकाउन पटक्कै रुचि छैन ।

मेरो पोसाक
साधारण पोसाक मनपर्छ । प्रायः पाइन्टसर्ट लगाउँछु । सुट कम लगाउँछु । पहिरनमा पाइन्ट कालो लगाएँ भने सर्ट सेतो लगाउन मनपर्छ । पहिरन कन्ट्रास्ट गरेर लगाउन रुचाउँछु । टोपी ह्याट कहिल्यै लगाएको छैन । जुनैसुकै भए पनि गाढा रङ्गको पहिरन मनपर्छ ।

निलो, रातो, कालो र सेतो लगायत मेरा मनपर्ने पहिरनका रङ्ग हुन् । फुङ्ग उडेको कलरको पहिरन मन पर्दैन । पहिरन सिलाएर लगाउँछु । पछिल्लो समय सजिलोका लागि रेडिमेड पनि किन्न थालेको छु । प्रहिरनमा ब्रान्डेड खोज्दिनँ । मन परेको पहिरन शरीरमा फिट भए किन्छु । त्यस्तै १५, २० हजार वर्षभरिलाई पहिरन खर्च पुग्छ ।

मेरो अध्ययन   
मेरो काम नै पढ्ने र पढाउने भयो । त्यसैले अध्ययन धेरै गर्छु । प्राध्यापक भएपछि यो कुरामा पछि हटेर हँुदैन । कोर्सका किताब लेख्न, अनुसन्धानमूलक किताब लेख्न पनि पहिले पढ्नै पर्‍यो । विभिन्न विषयमा भूमिका लेख्न लगाउँछन् । त्यसका लागि पढ्नै पर्‍यो । मुख्य अतिथिको रूपमा कार्यक्रममा बोलाउँछन् । त्यहाँ गएर केही बोल्नुपर्छ । त्यसका लागि पढ्नै पर्‍यो । गीत, गजल चाहिँ फुर्सदमा लेख्छु ।

कहिले एक्लै भएको बेलामा, बाटो हिँडेको बेलामा गीत गजल लेख्छु । बिहान कहिल्यै लेख्ने, पढ्ने गर्दिनँ । बेलुका मात्र हो । अहिलेसम्म ५० पुस्तक मेरो लेखनमा बाहिर आए । त्यसमा पाठ्यपुस्तक, अनुसन्धानदेखि विभिन्न छन् । गीतसङ्ग्रह चाहिँ दुईवटा मात्र छन् । 

समालोचनाका पुस्तक अध्ययन गर्न मनपर्छ । मिडियासँग कुराकानी गरिरहनुपर्छ । सबै कुराको अपडेटका लागि पनि अध्ययन जरुरी छ । 

मेरो फुर्सद 
अहिले मसँग फुर्सदैफुर्सद छ । सबैभन्दा फुर्सदमा बस्ने मानिस म नै हुँला । मलाई भेट्न जो आए पनि फुर्सदले गफ गरेर बस्छु । मैले अहिलेसम्म भेट्न आएका व्यक्तिलाई फुर्सद छैन भनेको छैन । हतार छ छिटो कुरा सकौँ भनेको छैन । फुर्सदको समय आफन्त, परिवारिक भेटघाट, गीत रेकर्डिङ, विवाह, भोजभतेरका पार्टीमा सहभागी हुन्छु । 
 
मेरो खेलकुद
खेलकुदमा खासै रुचि छैन । पहिलेपहिले स्कुल पढाउँदा विद्यार्थीसँग फुटवल, टेबुल टेनिस खेल्थेँ । खेलाडीका हिसाबले भन्दा पनि टाइम पासका लागि । अहिले फुटबल हेर्न मनपर्छ । फुटबलका खेल वल्र्डकप, चर्चित गेमहरु हेर्छु । क्रिकेटमा भने रुचि छैन । 

मेरो मोबाइल 
अहिले मसँग एउटा मोबाइल छ । पहिले दुईवटा बोक्थेँ । कहिले कता छुट्ने, कहिले कता बिर्सिनेले झन्झट हुँदो रहेछ । त्यसैले अहिले एउटा बोक्न थालेको । पहिले एउटा मोबाइल तीन पटक हरायो । तीनै पटक भेट्टाउनेले घरमा ल्याइदिए । 

अहिले मसँग ओप्पो मोबाइल छ । करिब ५ वर्ष एप्पलको मोबाइल बोकेँ । मोबाइल फोन गर्न, फेसबुक, भाइबर लगायत चलाउन प्रयोग हुन्छ । अनलाइन र अन्य आफूलाई आवश्यक पाठ्यपुस्तक पढ्नसमेत मोबाइल प्रयोग गर्छु ।

मेरो टिभी
टिभी बेलुका नियमित हेर्छु । विभिन्न टेलिभिज सर्च गरीगरी समाचार हेर्छु । त्यसपछि भारतीय टेलिभिजनमा समाचार हेर्छु । पहिले भारतीय टिभीमा आउने कमेडी कार्यक्रम ‘लास्ट च्यालेन्ज’ हेर्र्थें । अहिले पनि यो युट्युबमा खोजेर हेर्छु । राम्रो लाग्छ ।

मेरो चलचित्र 
चर्चा भएका, चलेका चलचित्र हेर्छु । फुर्सद भएसम्म चलचित्र हेर्छु । हलमा, टिभीमा पनि हेर्छु । कहिलेकाहीँ आफ्नै गीत भएका चलचित्र हेर्न भ्याइँदैन । प्रिमियरमा बोलाएको समय गएर हेर्छु । टिभीमा नेपालीभन्दा बढी हिन्दी चलचित्र हेर्छु । 

मेरो भाषाशैली 
कृतिम भन्दा बोलीचालीको साधारण भाषाशैली नै राम्रो हो । जे बोल्नुपर्छ स्पष्ट, सरल र सबैले बुझ्ने गरेर बोल्नुपर्छ । जटिल बनाएर, नबुझ्ने गरेर, घुमाएर बोलिने भाषाशैली मनपर्दैन । म बहिरमुखी स्वभावको मानिस छु । त्यसैले चिप्लो गरेर बोलेको मनपर्दैन । कोहीको बानी सुनिरहने मात्र हुन्छ । त्यो पनि मनपर्दैन । 

मेरो प्रेम 
वि.सं. २०३७ मा मेरो मागी विवाह भयो । विवाहपछि श्रीमतीसँग प्रेम बस्यो । त्यो प्रेम अहिले पनि चल्दैछ । हाम्रो समयमा अहिलेको जस्तो स्कुल, कलेजमा प्रेम गर्ने चलन थिएन । कसैसँग प्रेम हुँदा पनि हुँदैन थियो । गाउँमा ७ कक्षासम्म पढेँ । त्यसपछि बीएसम्मको अध्ययन जनकपुरमा सकाएँ । आफू पढेको ठाउँमा २, ४ जना केटी देख्न पनि मुस्किल थियो ।

केही भए अन्य समुदायका हुन्थे । त्यसैले प्रेमतिर ध्यान गएन । मलाई माया त गरे होलान् । कसैले नभनेकाले थाहा नै भएन ।

मेरो गीतसङ्गीत 
मेरो पेसा नै भन्दा पनि हुन्छ गीतसङ्गीत । सानोमा घरको वातावरण पनि साङ्गीतिक थियो । मेरी आमा बच्चा पाउन नसकेर म ६ वर्षको हुँदा बित्नुभयो । म हजुरबुबा हजुरआमासँग हुर्किएँ । उहाँहरु जहिले पनि श्लोक पढ्नुहुन्थ्यो । घर पछाडि बाँसको झाङ थियो । सारुङ कराउँथ्यो । घरमा मादल थियो । काम गर्ने मानिसहरु बजाएर गीत गाउँथे ।

गाउँमा भजन गाउने चलन थियो । त्यो महोलले गर्दा ७ कक्षामा पढ्दा म भजन भट्याउने समेत भएको थिए । ५ कक्षामा अध्ययन गर्दा एउटा कविता लेखेर कापी पुरस्कार जितेको थिए । बुबाले जिल्लाको नाम मिसाएर कविता बनाएर पढ भन्नु हुन्थ्यो । त्यो क्रमले कविता लेख्न थाले ।

कलेज पढ्दा झन् बढ्यो । ‘म भक्त हुँ यो देशको’ मेरो कविता गीतमा पनि रेकर्ड भयो । यो २०३३ सालमा लेखेको थिएँ ।

एक समय म रेडियो कार्यक्रममा प्रश्न उत्तर पठाउँथे ।

त्यसको कारणले रेडियोमा कहिलेकाहीँ जान्थेँ । एक पटक रेडियो नेपाल गएको बेला प्रश्न उत्तर कार्यक्रमका सञ्चालकले अचेल केही पठाउनु हुन्न किन भन्नुभयो ।

मैले म गीत पनि लेख्छु भनेँ । उहाँले गीत भए त्यो बाकसमा राखिदिनु सेन्सर भएर मात्र छानिन्छ भन्नुभयो । मैले रेडियोमा  १० गीत छोडे । ती मध्य ६ वटा गीत छानिए छ । यसल गर्दा मेरो गीत लेखनको क्रम अगाडि बढ्यो ।पहिलो हिट गीत ‘म भक्त हुँ यो देशको’ हो । 

चलचित्र, एल्बम लगायत विभिन्न गरेर मेरा करिब ८ सय गीत रेकर्ड भएका छन् । चलचित्रका २ सय होला । एक सय गजल होला र अन्य आधुनिक र विभिन्न प्रकारका छन् । गीत लेख्न मात्र होइन, सुन्न पनि मनपर्छ । सानोमा अरूको घरमा गएर रेडियोमा गीत सुन्थँे । पछिल्लो समय पुराना खालका राम्रा गीतहरु सुन्न थालेको छु । नेपालीभन्दा धेरै हिन्दी गीत सुन्छु ।
   
मेरो पेसा 
मेरो पहिलो पेसा प्राध्यापक हो । २०३३ सालमा काठमाडाँै आएँ । सो समय पहिलो पटक कीर्तिपुर माध्यमिक विद्यालयमा पढाउन थालेँ । त्यसपछि ल्याब्रोटरी हाइस्कुल सरे । ०४३ मा महेन्द्ररत्न क्याम्पसमा पढाएँ । ०५० सालबाट त्रिभुवन विश्वविद्यालयको प्रोफेसर भएँ । अहिले अवकाश लिएको पनि दुई वर्ष भयो ।  

मेरो मापसे 
मापसेको कुरै नगरौँ । कहिल्यै गरिनँ । नखाने भएपछि घरमा रक्सी सजाएर राख्ने कुरो पनि भएन । त्यसरी राखेको मन पनि पर्दैन ।

मेरो सपना  
अहिले केही सपना छैन । जिन्दगी बग्दैजाने खोला जस्तै हो । चल्दै जान्छ । गीत लेखनमा मलाई कसैले लेख भनेर लेखेको पनि होइन । गायक चिनेर गीत लेख्न थालेको पनि होइन । मैले त्यसै लेखिरहे ।
जब ‘म भक्त हुँ यो देशको’ गीत चर्चामा आयो । त्यसपछि धेरैले गीत माग्न थालेका हुन् । म गीतकार बन्छु भनेर बनेको पनि होइन । प्रोफेसर बन्छु भनेर भएको पनि होइन । काठमाडौँ आउन मन लागेको ठाउँ पनि थिएन । देखेको सपना पूरा हुँदा पनि हुँदैन । त्यसैले केही सपना छैन भन्छु । 

मेरो भूल 
जीवनमा जानी नजानी भूल धेरै भए होला । तर केलाई भूल भन्ने । असफल भएको कामलाई भूल मान्ने हो भने अहिले जुन क्षेत्रमा सफल छु । त्यो क्षेत्रलाई के भन्ने । त्यसैले पछुताउनुपर्ने भूल केही छैन । 

मेरो रोग 
त्यस्तो ठूलो रोग केही छैन । अहिले युरिक एसिडले सताएको छ । यसका लागि डाक्टरले औषधि पनि दिएका छैनन् । सन् २०११ मा अमेरिकामा कार एक्सिडेन्टमा परेको थिए । सो समय मरेर बाँचेको म । विभिन्न उपचारपछि ९ दिनमा होस् खुलेको थियो । सो समय ४२ दिन अस्पताल बसेँ । म मृत्यु नजिकबाट देखेर फर्किएको मानिस हुँ । सो समय मलाई प्रेसर, सुगर लगायतको रोग हुन्थ्यो भने म बाँच्ने थिइनँ । 

मेरो राशि 
मेरो राशि कन्या हो । ग्रह दशामा विश्वास लाग्छ । एक समय अमेरिकामा गाडी हाँक्दै थिएँ । श्रीमतीले गाडी नहाँक्नुस् भनिन् । मैले नमान्दा उनले जोड नै गरिन् । त्यतिबेला किन जोड गरिन् भन्ने लागेको थियो । पछि कार दुर्घटना भएपछि उनले भनिन् ‘एक दिन सपनामा गाडी दुर्घटना भएको देखेकी थिएँ ।’ त्यो विश्वास गर्ने कि नगर्ने । त्यसैले विश्वास लाग्छ । पूजापाठमा पनि रुचि छ । मन्दिर पनि जान्छु । 

मेरो मृत्य
मृत्युलाई एकदमै सहज लिएको छु । यो केही हो जस्तै लाग्दैन । अमेरिकामा कार एक्सिडेन्टमा परेर म मरेर बाँचेको हो । त्यसैले मृत्यसँग पहिले डर लाग्थ्यो । अहिले छैन । 

एक्सिडेन्टमा मृत्युलाई नजिकबाट देखेको थिएँ । सो समय ९ दिनमा होस आएको थियो । त्यसपछिको ४, ५ दिन फेन्टेसीको अवस्थामा रहेँ । मृत्युको फेरो समातेर फर्किएकाले होला अब योसँग डर छैन । एक दिन आखिर जानैपर्छ केको डर । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप