सोलारले हट्यो टुकीको भर
यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी ल्याएको हो ।
नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो । कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षौदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए । यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले बताए ।सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभीलगायतका आमसञ्चारमा यहाँका स्थानीयवासीको पहुँच विस्तार भएको छ ।
टुकी बाल्दा पैसा धेरै खर्च हुँदा यहाँका स्थानीयवासी चिन्तित थिए । नगरपालिकाले घरमा निःशुल्क सोलार बत्ती जडानगरेपछि मोमाइल चार्ज, बालबालिकाको पठनपाठन, सञ्चार तथा नियमित घरायसी काम निकै सहज बनेको छ । सोलार जडानले मासिक खर्चसमेत कम भएको र महिलालाई टुकीकै भरमा खाना पकाउनुपर्ने बाध्यता हटेको वडासदस्य राधा विश्वकर्माले बताए ।
माझी समुदायमा नगरपालिकाले निःशुल्क सोलार जडान गरेपछि स्थानीय ओमबहादुर माझी खुशी छन् । “टुकी उज्यालोभन्दा सोलारको उज्यालो राम्रो लाग्यो, टुकीले स्वास्थ्यमा असर हुने र खासै उज्यालो हँुदैनथ्यो”, माझीले भने ।
छेर्लुङका होमनाथ भट्टराईले वर्षौंदेखि रातको समयमा उज्यालोमा बस्ने रहर पूरा भएको बताए । छ दशक उमेर पार गर्नुभएका भट्टराईले सोलारको उज्यालोले रातमा घरायसी काम गर्न सहज भएको बताए । “सोलारले गाउँ नै उज्योलो बनेको छ ।
विवाह, व्रतबन्धलगायतका शुभकार्यसमेत उज्यालोका कारण सजिलो हुँदै आएको छ”, भट्टराईले बताए । स्थानीयवासी पुरन विकले बालबालिकालाई साँझ लेखपढ गर्न सजिलो भएको बताए । टुकीकै भरमा रातिमा पढ्दा धुवाँले अनुहार पनि कालो हुने र स्वास्थ्यमा समेत असर गरेको स्थानीयवासीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ