बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घाइते अस्पतालमा आउनासाथ उपचार : ट्रमा सेन्टर

शुक्रबार, १० माघ २०७६, २१ : १५
शुक्रबार, १० माघ २०७६

राष्ट्रिय ट्रमा सेन्टरले सडक दुर्घटनामा घाइते भएका बिरामी अस्पतालमा आउनासाथ उपचार शुरु गरेको पाइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको टोली आज सेन्टर पुग्दा बिरामीको आफन्त वा पैसाको व्यवस्थापनलाई बेवास्ता गरेर उपचार अघि बढाएको पाइएको हो । 
    
समितिका सदस्य गणेशकुमार पहाडीको संयोजकत्वमा गठित सवारी दुर्घटना न्यूनीकरण उपसमिति स्थलगत अध्ययनका क्रममा आज सेन्टर र बिएण्डबी अस्पताल पुगेको थियो ।

उपसमितिले मुख्य गरेर दुर्घटनामा घाइतेले अस्पतालमा उपचारको अवस्था, दुर्घटनामा संलग्न व्यक्तिले गरिरहेको सहयोग÷असहयोग र बिमाको रकम भुक्तानीको अवस्थाका बारेमा बुझ्न खोजेको पहाडीले बताए। 

सेन्टरमा बिरामीको उपचार खर्च नहुँदा पनि उपचार अघि बढाएको पाइएको उनको भनाइ थियो । सेन्टरले आफन्त, यातायात व्यवसायी सम्पर्कमा आएपछि उनीहरुबाट र नआउँदा सङ्घसंस्थाबाट उपचार खर्च व्यवस्थापन गर्दै आएको छ । 

अस्पतालले विपन्नलाई छुटसमेत दिँदै आएको छ । घाइतेले दुर्घटना गराउने व्यक्ति वा कम्पनीसँग उपचार खर्च सहजरुपमा नपाएको गुनासो गरेका छन् । उनले भने, “त्यस विषयमा र बिमाका विषयमा हामीले व्यवसायीसँग कुरा गरेर मात्रै बुझ्न सक्छौँ ।”

सेन्टरका कामु प्रमुख मेडिकल सुपरीटेन्डेन्ट प्रमोदकुमार यादवले अस्पतालमा घाइतेले पैसा नभए पनि तत्काल उपचार पाउने गरी व्यवस्था गरिएको बताए । 

अस्पतालले बिरामी आउनासाथ उसको परिवार र आफन्तको खोजी नगरी उपचार शुरु गर्दै आएको छ । 

अस्पतालमा ‘एमआरआइ’ मेशिन र बिरामीलाई नहिँडाइ सबै खालको उपचार गर्न सकिने श्यया आवश्यक भएको उनले बताए । उनले भन्नुभयो, “पहिले निजी वा अरु सरकारी अस्पतालमा छरिए पनि अहिले घाइते धेरै यहीँ आइरहेका छन् ।”

उपसमितिका संयोजक पहाडीसँगै यज्ञराज सुनुवार, रङ्गमती शाही, दुर्गा पौडेललगायत सचिवालयका कर्मचारी सहभागी थिए । उपसमितिले विकास तथा प्रविधि समितिसमक्ष दुर्घटनाको कारण, अवस्था र न्युनीकरणका उपायका बारेमा अध्ययन प्रतिवेदन दिनेछ । 

उपसमितिको प्रतिवेदन आएपछि सरकार, प्रहरी र यातायात व्यवसायीलाई आवश्यक निर्देशन दिइने उपसमितिले जनाएको छ । गत महिनाहरुमा देशका विभिन्न स्थानमा भएका सार्वजनिक सवारीसाधन दुर्घटनामा धेरैको मृत्यु भएसँगै उपसमिति गठन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप