बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दीर्घकालीन कर्जामा निश्चित ब्याजदर लागू गर्न बैंकहरुलाई अर्थमन्त्रीको निर्देशन

शुक्रबार, १० माघ २०७६, १९ : ०६
शुक्रबार, १० माघ २०७६

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले दीर्घकालीन कर्जामा फिक्स(निश्चित) ब्याजदर कायम गर्न बैंकहरुलाई निर्देशन दिएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय वाणिज्य बैंकलाको ५५औं वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

लामो समयका लागि व्यवसायिक कर्जा लिन चाहने र विकास निर्माण तथा राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बैैंकहरुले लगानीको प्रकृति हेरि निश्चित ब्याजदर कायम गरिनुपर्ने खतिवडाको भनाई छ । ‘अब बैंकहरुले लगानीको प्रकृति हेरी फक्चुअल ब्याजदरसहित फिक्स ब्याजदरमा जानु पर्छ । खतिवडाले भने, ‘लामो समय र राष्ट्रिय गौरवका आयोजनाहरुमा बैंकले फिक्स ब्यादर कायम गर्नुपर्छ । यसले अहिले बजारमा आउने गरेको ब्याजदरको गुनासो हल हुन्छ ।’

अर्थमन्त्री खतिवडाकाअनुसार फिक्स ब्याजदर लागू गर्न बैंक तथा वित्तीय संस्थानहरुलाई निर्देशन भइसकेको छ । त्यस्तै निक्षप र कर्जाबीचको स्प्रेडदर समेत घटाउन बैंकहरुलाई आग्रह गरेका छन् । अहिले बैंकहरुले कर्जामा उच्च ब्याजदर कायम गरेको तर निक्षममा कम ब्याज प्रदान गरिरहको बताउँदै यस्तो अवस्था रहिरहे कुनै दिन निक्षप संकलननै नहुने अवस्था आउन सक्ने चेतावनी दिए । 

ब्याजको स्प्रेडदर घटाएर न्यून नाफामा सेवा दिन अर्थमन्त्रीले बैंकलाई आग्रह गरेका छन् ।  अहिले राष्ट्रिय वाणिज्य बैंक देशकै सबैभन्दा सस्तो कर्जा प्रवाह गर्ने बैंक हो । असोज महिनामा बैंकको आधार ब्याजदर ६.६० प्रतिशत छ । पछिल्लो समय ब्याजदर बढाए पनि असोज मसान्तसम्म बैंकको कस्ट अफ फण्ड ३.९७ प्रतिशत मात्रै थियो । सोही कारण बैंकको स्प्रेडदर ६ प्रतिशत नजिक रहेको अवस्थामा अर्थमन्त्रीले स्प्रेडदर घटाउन सुझाव दिएका हुन् । 

त्यस्तै उनले आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त राख्न तथा खर्च प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत औंल्याए ।  ‘तपाइँहरुको यो विल्डिङ जति अग्लो छ, आन्तरिक व्यवस्थापन त्यति नै अग्लो बन्नुपर्छ, त्यसका लागि नयाँ प्रविधि भित्र्याएर प्रभावकारिता बढाउन जोड दिनुपर्छ’, उनले भने । 

यसै अवसरमा अर्थमन्त्री खतिवडाले राष्ट्रिय पुँजी निर्माणमा बैंकहरुको पुँजी वृद्धि गर्नुपर्नेमा बताउँदै वाणिज्य बैंकहरुलाई मर्जरमा जान  जोड दिएका छन् ।  ‘अहिले २७ वटा बैंकहरु नभए बैंकिङ्ग सेवा नै चल्दैन भनेजस्तो गरिएको छ । त्यसो होइन । थोरै बैंकहरु भएपनि वित्तिय सेवा परिचालन हुन्छन् ।’ खतिवडाले भने, ‘अझै पनि समय छ । तपाईहरु मर्जरमा जानुस् । त्यसका लागि के आवश्यक पर्छ सरकार तपाईहरुलाई सहयोग गर्न तयार छ ।’

यता,राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले ४.४ प्रतिशतको स्प्रेडदर लागू नगर्ने बैंकहरुलाई कारबाही गर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५५ औं जन्मोत्सवलाई सम्बोधन गर्दै डेपुटी गर्भनर शिवाकोटी अहिले राष्ट्र बैंकले बैंकहरुको निक्षप र कर्जाबीचको स्प्रेडदर नियालिरहेको र तत्काल नसुध्रिए चालू आर्थिक वर्ष अन्तसम्मा कारबाही गर्ने चेतावनी दिए ।

‘हामीले बारम्बार भनिरहेका छौं । तपाईहरु राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको स्प्रेडदर पालना गर्नुहोस् ।’ शिवाकोटीले भने, ‘अन्यथा असार मसान्तमा गएर कारबाहीमा पर्नुहोला ।’ यसै अवसरमा शिवाकोटीले बैंकिङ्ग क्षेत्रको वातावरण स्वच्छ र सुस्वाथ्य हुनुपर्ने बताउदै आन्तरिक व्यवस्थापन र लेखा प्रणालीलाई चुस्त दुरुस्त राख्न समेत आग्रह गरे । 

यसै अवसरमा डेपुटी गर्भनरले बजारमा सौहुलियत कर्जामा गुनासो आइरहेको बताउँदै सरकारको योजना कार्यन्वयनमा आनकानी नगर्न बैंकहरुलाई आग्रह गरे । अझ राष्ट्रिय वाणिज्य बैैंक सरकारकै बैंक भएकोले सरकारको योजना सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । 

वि.स २०१९ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापना कालको ५४ वर्ष पुरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ ।  यसै अवसरमा बैंकले शुक्रबार आफ्नो ५५ औं  वार्षिक उत्सव मनाएको छ । 
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वमित्वको बैंक हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप