शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनएमबि लघुवित्तको नाफामा आकर्षक वृद्धि, प्रतिशेयर आम्दानी ४६.६० रुपैंया कायम

शुक्रबार, १० माघ २०७६, १८ : ४०
शुक्रबार, १० माघ २०७६

काठमाडौं– एनएमबि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 

एनएमबि बैंकको ८ करोड २६ लाख रुपैयाँ लगानी रहेको लघुवित्तले यस अवधिमा खराब कर्जा २.८९ प्रतिशतबाट २.८२ प्रतिशतमा झार्न सफल भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७.१७ गुणा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप