काँकडभिट्टा नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने
झापा । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ । स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ ।
अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारवाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । उनका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन, स्थानीय सामाजिक सङ्घसंस्थालगायतका प्रतिनिधिको छलफलले त्यस्तो तानातान प्रवृत्तिको अन्त्य गर्ने र कसैले अटेर गरेमा प्रहरीमार्फत कानूनी कारवाही चलाइने निर्णय गरेको हो ।
भूटान, बङ्गलादेश र म्यान्माका पर्यटक सोझै काँकडभिट्टा आएर पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र सोलुखुम्बुसम्म पुग्ने गर्छन् । कोलकाता, सिक्किम, दार्जिलिङ र भूटानका पर्यटकले बसयात्रा गर्नका लागि काँकरभिट्टा बसपार्क एकमात्र विकल्प हो । नेपाल भ्रमण वर्ष २०२० चलिरहेको हुँदा पर्यटकलाई स्वागत गरिने नाकामै तानातान गर्ने असभ्य शैलीलाई हटाउने सर्वपक्षीय निर्णयलाई ग्रीन जेनेरेसन झापाका अध्यक्ष एवं पर्यटन अभियानकर्मी अर्जुन कार्की सकारात्मक कदम भन्छन । ‘पर्यटकलाई स्वागत र सम्मान गर्नुपर्दछ, तर बसपार्क र नाकामै तानातान हुनु लज्जास्पद अवस्था थियो’, अध्यक्ष कार्कीको धारणा छ ।
काँकडभिट्टा बसपार्क र मूलगेटमा रहेको तानातान प्रवृत्ति हटाउन विगतदेखि प्रयास भइरहेको थियो । बसपार्कमा कमिशन एजेन्टले र मूलगेटमा केही आँखा अस्पतालले खटाएका प्रतिनिधिले भारतबाट भित्रिएका पाहुनालाई आफ्नातिर लैजान प्रहरीको आँखा छलेर जबर्जस्ती गर्दै आएका थिए । होटल र लजले समेत एजेन्ट खटाएर बसपार्क र मूलगेटमा पर्यटक तान्ने कार्य गर्दै आएका थिए ।
मान्छे तानातानको धन्दाले नेपाल घुम्न आउने पर्यटक, उपचारका लागि आउने बिरामी र भारत घुमेर फर्कने नेपालीलाई निकै सकस हुने गरेको थियो । जनगुनासो बढेपछि स्थानीय सरकार र प्रहरीले तानातान प्रवृत्ति हटाउन बल्ल अग्रसरता देखाएको छ ।
काँकडभिट्टा पर्यटक प्रवेश गर्ने महत्वपूर्ण नाका भएको हुँदा यहाँ आउने हरेक विदेशी पाहुनालाई मैत्रीपूर्ण व्यवहार गर्न वडाध्यक्ष तामाङले सबै व्यवसायीलाई आह्वान गरेकी छिन् । काँकडभिट्टा नाकाबाट २८ मुलुकका पर्यटक नेपाल भित्रिने गरेका छन् । सर्वपक्षीय निर्णयको कार्यान्वयनपछि उनीहरुले चाहेको होटलमा बस्न पाउने, गाडीमा चढ्ने सक्ने र उपचारका लागि छानेर आँखा अस्पताल जान पाउने वातावरण बन्ने अपेक्षा गरिएको छ ।
मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बीना तामाङ विगतमा पनि तानातान हटाउने निर्णय भएको स्मरण गर्दै अब कार्यान्वयन पक्षमा कमजोरी गर्न नहुने धारणा राख्छिन् । उनले नाकामा रहेका सबै नागरिकले पर्यटनमैत्री व्यवहार सिक्नुपर्ने र पर्यटकको स्वतन्त्रतामाथि अवरोध पु¥याउन नहुने बताए ।
बसपार्क क्षेत्रमा अव्यवस्थित पार्किङ, फोहरमैला र पर्यटक तानातान नगर्न पहिलो चरणमा माइकिङमार्फत सूचना गर्ने र यात्रुहरुलाई अशिष्ट र अभद्र व्यवहार गरेको पाइएमा कानूनअनुसार कारवाही गरिने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । उनले दोषीमाथि अभद्र व्यवहारसम्बन्धी कानून आकर्षित हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति