शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार भयो 'क्यासलेस' अब कर्मचारीले चाहेर पनि सेवाग्राहीलाई दुःख दिन नसक्ने (भिडियो सहित)

शुक्रबार, १० माघ २०७६, २२ : ४०
शुक्रबार, १० माघ २०७६

काठमाडौं । भन्सार विभागले भन्सारमा कार्यरत कर्मचारीले चाहेर सेवाग्राहीलाई दुःख दिन नसक्ने दाबी गरेको छ । 

विदेशमा निकासी तथा पैठारीमा हुने भन्सार जाँचपासमा झन्झट रहेको भन्दै सेवाग्राहीले गुनासो गरिरहेको बेला भन्सार विभागले भन्सार जाँचपास अत्याधुनिक प्रविधिको प्रयोगद्वारा हुने भएकोले त्यस्तो काममा कर्मचारीले चाहँदैमा सेवाग्राहीले दुःख पाउन नसक्ने दाबी गरेको हो । 

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक सुमन दाहालले भन्सार क्षेत्रमा निकै ठूलो परिर्वतन भइसके पनि त्यसको प्रचारप्रसार हुन नसक्दा भन्सारप्रति जनताको दृष्टिकोण परिवर्तन हुन सकेको बताए । संसारभर जनवरी २६ को दिन विश्व भन्सार दिवस मनाइन्छ ।

महानिर्देशक दाहालले भन्सारको क्षेत्रमा आशिकुडा, आशिकुडा प्लसप्लस हुँदै आशिकुडा वल्र्ड जस्ता अत्याधुनिक प्रणाली लागु भइसकेको भन्दै यो प्रणालीले लगभग शतप्रतिशत कारोबारलाई समेटेको भन्दै यसमा कर्मचारीहरुको सहभागिता शून्य हुने बताए । यो प्रणालीले अहिले करका दर, निनिमय दर लगायतसँग स्वचालित रुपमा जोडिएर सोही दरका हाधारमा मूल्यांकन गर्ने गर्छ । 

दाहालले भन्सार अहिले 'क्यासलेस' भइसकेको भन्दै अब पेपरलेस हुने प्रक्रिया समेत अघि बढेको बताए । भन्सार विभागसँग आफ्नै जोखिम व्यवस्थापन प्रणाली भएको भन्दै उनले यसका लागि भन्सार विभागले विश्वमा प्रयोग भइरहेका अत्याधुनिक प्रणालीको प्रयोग गरिरहेको बताए । 

यो प्रयोगका कारण अहिले पनि जाँचपास भएका आधा भन्दा बढी सामान छुनै नपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हामीलाई यति धेरै सामान हातले छामेर कसरी जाँचपास गरिभ्याउँछौँ भन्छन्, तर वास्तविकता त्यस्तो होइन, आधाभन्दा बढी सामानको जाँचपास मेसिनले नै गर्छ ।’ दाहालले भने । 

भन्सारले एउटै ठाउँबाट भन्सारसँग सम्बन्धित २१ वटा निकायहरुसँग जोडिने गरी नेपाल ‘नेशनल सिंगल विन्डो’ ल्याउन लागेको छ । यो सिस्टम कार्यन्वयनमा आएपछि भन्सार जाँचपाससम्बन्धी सबै कामहरुका लागि कागज चाहिँदैन । 

९१ प्रतिशत सामानको भन्सार बिलकै आधारमा
पत्रकार सम्मेलनमा विभागले भन्सार जाँचपासमा कन्साइनमेन्टको मूल्यांकनमा दुःख हुने गरेको गुनासो समेत सत्य नभएको दाबी गरेको छ । विभागले हाल ९०.५६ प्रतिशत सामानहरुलाई सेवाग्राहीले ल्याएको बिलबिजककै आधारमा मान्यता दिएर पठाइने विभागको दाबी छ ।

‘बाँकी ९.४४ प्रतिशत सामानको मूल्य हामीले बढाएका छौं, त्यसमध्ये पनि कतिपयले फेरि बिलबिजक बनाएर ल्याएर सोही बिजकका आधारमा जाँचपास गराउने गरेका छन् ।’ महानिर्देशक दाहालले भने । 

भन्सारले नेपालका अन्य निकायहरुभन्दा भन्सारले धेरै प्रगति गरेको समेत दाबी गरेको छ । सन् २०१४ अन्तर्राष्ट्रिय रुपमा नेपालको स्थान समग्रमा ११० औँ स्थानमा रहेकोमा २०२० मा ९४ स्थानमा आउँदा भन्सारमा १७७ औं स्थानबाट ६० औं स्थानमा आएको जनाएको हो । 

अहिले विदेशबाट आउने कुल मालवस्तुमध्ये ६१.७० प्रतिशत भारतबाट, १५.८६ प्रतिशत चीनबाट आउँछन् । त्यसबाहेक इन्डोनेसिया, संयुक्त राज्य अमेरिका लगायत देशहरुबाट बढी सामान आउने गरेको समेत जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप