बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा जलेर एकल महिलाको मृत्यु

शुक्रबार, १० माघ २०७६, १५ : ३९
शुक्रबार, १० माघ २०७६

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु भएको र उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

सोही आगलागीमा परी घरमा रहेको फर्निचर, फ्रिज, खाद्यान्न लगायतका समानसमेत जलेर नष्ट हुँदा करिब रु दुई लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।   

गाजा र लागुऔषधसहित चार युवक पक्राउ 

प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार जना युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागुऔषधसहित आज जिल्लाको नवराजपुर गाउँपालिका– १ निवासी २५ वर्षीय उपेन्द्रकुमार यादव र भगवानपुर गाउँपालिका–२ निवासी २२ वर्षीय अरुणकुमार यादवलाई पक्राउ गरेको हो । 

भारतबाट नेपालतर्फ आउँदै गरेको स९प ८५८२ नंको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध डाइलेक्स डिसी सात बोतल र नाइट्राभेट ११ पिस बरामद भएपछि मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहाको धनगढीमाई नगरपालिका–९ बाट प्रतिबन्धित लागुऔषध गाँजासहित जिल्लाको विष्णुपुर गाउँपालिका–५ निवासी २९ वर्षीय सुनिलकुमार पासवान र धनगढीमाई नगरपालिका–८ निवासी २४ वर्षीय महेन्द्र साहलाई पक्राउ गरेको छ । 

प्लाष्टिकको झोलामा प्याकेट बनाएर गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको टोलीले साढे १४ किलो लागुऔषध गाँजासहित दुवै जनालाई पक्राउ गरेको हो । प्लाष्टिकका बोरामा प्याकेट बनाएर स७प १२८२ नंको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । त्यस्तै लेनदेन बिगो मुद्दामा जिल्ला अदालत सिरहाबाट सजाय पाएर फरार सिरहाको बरियारपट्टी गाउँपालिका– ५ कजरा निवासी ६२ वर्षीय वेचनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप