शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालका कम्युनिस्ट किन लाग्दैछन् फुकुयामावादतर्फ

शुक्रबार, ०९ भदौ २०७४, १० : ५०
शुक्रबार, ०९ भदौ २०७४

साम्राज्यवादी बजारमा चर्चित पुस्तक दी इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान  का लेखक अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा हुन् । सन् १९९० को आरम्भमा दक्षिणपन्थी संशोधनवादका नायक तथा विश्व साम्राज्यवादका मतियार निकिता ख्रुस्चोभ र मिखाइल गोर्वाचोभको संयुक्त पहलमा सोभियत समाजवादी सङ्घीय गणतन्त्र (यूएसएसआर) को विधिवत विघटन र रुसी महासङ्घको स्थापनाको राजनीतिक घटनालाई आधार मानी फुकुयामाले उक्त पुस्तक लेखेका थिए । पुस्तकको सार अब साम्यवादको पराजय र पुँजीवादको विजय भन्ने नै हो । उक्त पुस्तकमा उनले भनेका छन्– “इतिहास भनेको विचारधाराहरुको लडाइँ हो, यो लडाइँमा उदार प्रजातन्त्रले वंशाणुगत राजतन्त्र, फाँसीवाद र साम्यवादलाई पराजित गरेको हुनाले यो प्रणाली नै मानव समाजको अन्तिम निकास हो ।” यसै साम्राज्यवादी राजनीतिशास्त्रीको विश्लेषणलाई आधार मानी जर्मन माक्र्सवादी दार्शनिक तथा मनोविश्लेषक स्लावोज जिजेकले भनेका छन्– “फुकुयामावादी वामपन्थी जो उदारवादी शासन प्रणालीका तत्वहरु–आवधिक निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, व्यक्तिको सार्वभौमिकता र मानवअधिकारलाई स्वीकार गर्दै उदार अर्थप्रणालीलाई पनि आत्मसात गर्छन् तर निश्चित सामाजिक र आर्थिक मुद्दाहरुमा लेफ्ट नै रहन्छन् ।” जिजेकको विचारलाई आधार मानी फुकुयामावादी वामपन्थी शीर्षकमा रमेश केसीको विचार–विमर्शले उठाएका नेपाली वामपन्थी राजनीतिसम्बन्धी केही प्रश्नहरु छन्– के नेपालका सबै कम्युनिस्ट (साम्यवादका वस्त्र पहिरिएका (केसी) पार्टीहरु साँच्चिकै फुकुयामावादी वामपन्थी नै हुन् त ? के एमाले र माओवादी पार्टी साम्यवादका वस्त्र पहिरिएका तर दिमाग र मुटु उदारवादी पुँजीवादी अर्थप्रणालीकै भएका हुन त ? यसको वस्तुनिष्ठ विचार विश्लेषण बेलैमा दिन जरुरी छ । 

फ्रान्सिस फुकुयामा आफैमा विश्व साम्राज्यवादका प्रखर समर्थक राजनीतिशास्त्री हुन्, जो साम्राज्यवादी ध्रुव विरोधी समाजवाद र साम्यवादको पराजय भएकोमा औधी खुशी हुन्छन् । साम्राज्यवाद र सर्वहारा क्रान्तिको भीषण युद्धको युगमा पनि सर्वहारावर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादलाई मानव जातिकै नर्क र खुलाा समाजको सत्रु भनी टिप्पणी गर्छन् । अनि हामी नेपालका कम्युनिस्टहरु आज तिनै साम्राज्यवादी विचारक फुकुवामावादी !? अझ अर्को आश्चर्यको विषय त के छ भने दश वर्षसम्म विश्व साम्राज्यवाद र विस्तारवादको विरुद्ध सशस्त्र क्रान्ति गरेको पार्टी माओवादी आज तिनै साम्राज्यवादी विचारक फुकुयामावादी वामपन्थी को लाइनमा ?! हो जर्मन दार्शनिक स्लावोज जिजेकले ल्याएको विश्वका सुधारवादी र संशोधनवादी कम्युनिस्ट राजनीति सम्बन्धि चर्चित प्रतीकात्मक शब्द फुकुयामावादी वामपन्थी सान्दर्भिक नै छ । 

सन् १९९० को दशकमा आएको विश्वव्यापी उदार पुँजीवादी प्रजातान्त्रिक लहर अर्थात् अर्को प्रतीकात्मक भाषामा फ्री मार्केट कम्यनिस्ट लहरसँगै उदार राजनीतिक आर्थिक प्रणालीमा लागेको एमालेको बहुदलीय जनवादको राजनीतिक कार्यदिशा  र आज उसको राजनीतिक चरित्र हेर्दा र अहिलेको स्थानीय तहको निर्वाचनमा उसले देखाएको गैरकम्युनिस्ट राजनीतिक व्यवहार (धन–सम्पत्तिकै बलमा चुनाव जित्ने रणनीतिक अभियान) आँकलन गर्दा त फुकुयामावादकै लाइनमा दह्रोसँग खडा भएको देखिन्छ । त्योभित्रका असल कम्यनिस्टहरु अन्यायमै बाँचेका छन् । अरु साना कम्युनिस्ट घटकहरुको सन्दर्भमा भने फुकुयामावाद सबैमा लागू हँुदैन । जहाँसम्म माओवादी कन्द्रको प्रश्न छ, यसबारे त झनै धेरै प्रष्ट हुन बाँकी नै छ । 

लेखक रमेश केसीको विचारमा “आफूलाई माक्र्स, लेनिन र माओको अनुयायी ठाने पनि साम्यवादको मूल दर्शन सर्वहारा वर्गको अधिनायकत्वबाट विमुख नेपाली कम्युनिस्ट सही अर्थमा फुकुयामावादी वामपन्थी हुन् ।” यो विचारसँग म आफू सैद्धान्तिक रुपमा सहमत नै छु, तर आजसम्मको प्रतिक्रियावादी संसदीय व्यवस्थाको निर्वाचनमा सर्वहारावर्गको वर्गीय आवश्यकताको आधारमा बहिष्कार र उपयोग गर्दै आएको माओवादी केन्द्र फुकुयामाकै शब्दमा उदार प्रजातन्त्र र अर्थप्रणाली स्वीकार गरेर लेखक केसीकै शब्दमा दश वर्षपछि घुँडा टेकेको हैन कि बरु माओवादी राजनीतिक शक्तिसामु पुरानो प्रतिक्रियावादी संसदीय राजतन्त्रले घुँडा टेकेको चाहिँ सत्य हो । २०५२–०६२ को दश वर्षे महान जनयुद्धमा मात्र हैन कि २०६४–०७४ को दश वर्षसम्म पनि माओवादी पार्टी शान्तिपूर्ण राजनीतिक लडाइँमा पनि घुँडा टेकेको छैन आजसम्म । यसको सबुत संविधान निर्माणमा माओवादी राजनीतिक असहमति दर्ज नै रहेको छ । नयाँ जनवादी क्रान्तिको नेपाली स्वरुप दीर्घकालीन जनयुद्धको बलमा १९ दिने ऐतिहासिक जनआन्दोलनको साथमा सामन्ती एकात्मक संसदीय शासन व्यवस्थाको अन्त्य र सङ्घीय गणतन्त्र नेपालको स्थापना गर्दासम्म माओवादी केन्द्रको वैचारिक राजनीनिक कार्यदिशामा सर्वहारावर्गको अधिनायकत्व कतै हटेको छैन । यसबारे केसीजी प्रष्ट हुँदा हुन्छ । यसर्थ सर्वहारावर्गको अधिनायकत्वबाट विमुख भएको र साम्यवादको जामा मात्र पहिरिरहेको कम्युनिस्ट पार्टीहरुको कित्तामा माओवादी केन्द्रलाई नजोड्दा नै लेखकको राजनीतिक सुजबुझसहितको विश्लेषण सही ठहरिने छ । 

उनको भाषामा पूर्वी युरोपबाट धमाधम साम्यवादी सरकारहरु ढलिरहेको भन्नु भन्दा पनि साम्राज्यवादी राजनीतिक घुसपैठको कारण पूर्वी युरोपका समाजवादी सत्ता विघटन गराइँदै गर्दाको अवस्थामै नेपालमा पनि विसं. २०५१ को संसदीय निर्वाचनपछि पुँजीवादी सत्ता नेत्तृत्वमा आएको एमाले आज २४ वर्ष पुग्दासम्म सर्वहारावर्गको अधिनायकत्वबाट विमुख भएको उसको राजनीतिक चरित्रबाटै पुष्टि हुन्छ । यसको सबुत एमाले सत्तामै रहँदा २०५१–०५२ मै वर्गसङ्घर्षको राजनीतिक मुद्दा उठाउँदा तत्कालीन नेकपा (माओवादी) माथि भीषण दमन र विभेद गरी रोल्पा–रुकुममा रोमियो अप्रेसन चलाएपछि नै माओवादी बाध्य भएर राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको वैचारिक राजनीतिक आलोकमा दश वर्षे (२०५२–०६२) जनयुद्धको नेतृत्व गरेको  राजनीतिक र ऐतिहासिक सच्चाइ हामी नेपाली सबैसामु छिपेको छैन । यो युद्ध वर्गयुद्ध थियो र नेपाली सर्वहारावर्गको राजनीतिक सत्ता प्राप्तिको न्यायपूर्ण राजनीतिक लडाइँ थियो । 

आखिर के हो फुकुयामावाद र किन लाग्दैछन् नेपालका कम्युनिस्टहरु यो बाटोमा ? सर्वप्रथम १९९० को आरम्भमा अमेरिकी साम्राज्यवादले आफ्नो प्रखर समर्थक राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाद्वारा लिखित चर्चित पुस्तक दी इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान मार्फत तत्कालीन साम्यवादी शासन भनी चिनिएको देश सोभियत सङ्घले लिएको उदार राजनीतिक र आर्थिक प्रणालीको बाटो र समाजवादको विघटनसँगै विश्व राजनीतिमा साम्यवादी इतिहासको अन्त्यको घोषणा गर्यो । यसै विषयसँगै संसारका कम्युनिस्ट पार्टीहरुले माक्र्सवादको आधारभूत मान्यता विपरीत पुँजीवादको बाटो लिइरहेको सन्दर्भमा माक्र्सवादी जर्मन दार्शनिक स्लावोज जिजेकले  त्यस्ता कम्युनिस्ट पार्टीहरुलाई फुकुयामाको पुँजीवादी विचारमा हिँड्नेफुकुयामावादी वामपन्थी भनी परिभाषित गरे । खासगरी सन् १९९० को दशकपछि मात्र संसारकै कम्युनिस्ट पार्टीहरुमा देखिएको वैचारिक राजनीतिक विचलन र राजनीतिक चरित्रको प्रतीकात्मक राजनीतिक पदावली  नै फुकुयामावादी वामपन्थी हो, जसको अर्थ हुन्छ माक्र्सवादको सारतत्व सर्वहारावर्गको अधिनायकत्व त्यागेर पुँजीवादको सारतत्व उदार प्रजातान्त्रिक राजनीतिक आर्थिक प्रणाली आत्मसात गर्नु । जहाँसम्म नेपाली कम्युनिस्ट पार्टीहरुले किन यो बाटो लिए त भन्ने सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका मुख्य नेत्तृत्वपङ्क्तिहरुको दृष्टिकोणमै खोट देखिन्छ किनभने उनीहरुको वर्गधरातल सर्वहारा नै होइन । नेपाली कम्युनिस्ट पार्टीहरुको वर्गविश्लेषणमै त्रुटिपूर्ण देखिन्छ । वर्गविश्लेषण नै गलत भएपछि वर्गदुस्मन किटानीमै त्रुटि रहेको देखिन्छ । अर्को पक्ष नेपालका कम्युनिस्ट पार्टीका नेत्तृत्व पङ्क्ति सबैजसो मध्यमवर्ग र निम्नमध्यम वर्ग धरातलबाटै आएको देखिन्छ । कुनै कुनै त सामन्ती जमिनदार वर्गबाटै आएका छन् । जस्तैः डा. केशरजङ्ग रायमाझी, झलनाथ खनाल र चन्द्रप्रकाश मैनालीहरु सामन्ती जमिनदार वर्गधरातलबाटै आए भने अरु सतप्रतिशत कम्युनिस्ट नेताहरु मध्यम र निम्न मध्यम वर्गधरातलबाटै आएका कारण नेपालमा कम्युनिस्ट पार्टीको बाटो बुर्जुवा सुधारवादी एवं उदार प्रजातान्त्रिक राजनीतिक र आर्थिक प्रणालीको आत्मसातीकरणतिर बढी मोडिएको देखिन्छ । 

नेपाली समाजको सही वर्गविश्लेषण नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठपछि क. पुष्पकमल दाहाल (प्रचण्ड) बाटै भएको देखिन्छ । २००६ सालमै नेपाली क्रान्तिको बाटो नयाँ जनवादी क्रान्ति नै हो भनेर पुष्पलालले स्पष्ट दिशानिर्देश गरे भने यसको ४२ वर्षपछि मात्र २०४८ मा आएर नेपाली समाजको बनोट र विशेषताको आधारमा वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोधको सही पहिचान गरी नयाँ वर्गविश्लेषणसहित क. प्रचण्डको नेत्तृत्व टिमले गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको माध्यमबाट मात्र नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्न सकिन्छ भनी एकता महाधिवेशनबाट यसलाई सचेततापूर्वक पारित गराई २०५२ फागुन १ देखि विधिवत र घोषित रुपमा दीर्घकालीन जनयुद्धको नेत्तृत्व गर्यो । दश वर्षमै केन्द्रीय सत्ताको जग डगमगायो र यूएनको मध्यस्थतामा विद्रोही माओवादी र श्री ५ को सरकारलगत्तै नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता २०६३ मङ्सिरमा सम्पन्न भयो । उदारवादी राजनीतिक कार्यदिशा लिएका संसदवादी सात राजनीतिक शक्तिरु र सर्वहारावादी राजनीतिक कार्यदिशा लिएको विद्रोही माओवादी राजनीतिक शक्तिको राजनीतिक सहकार्य र सम्झौताको राजनीतिक निरन्तरता संविधान निर्माण र कार्यन्वयन प्रक्रियासम्म जारी छ ।

उपर्युक्त बहस र विवेचनाबाट यो राजनीतिक सच्चाइ सावित हुन्छ कि नेपालमा माक्र्सवादी दार्शनिक स्लावोज जिजेकले परिभाषित गरेझैँ  फुकुयामावादी वामपन्थी  भएको कुरा सत्य हो, यसको नेत्तृत्व एमालेले नै गर्ने तथ्य पनि सत्य नै हो तर माओवादी राजनीतिक शाक्ति फुकुयामावादी वामपन्थी धारामा पर्दैन । यसको राजनीतिक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक निर्देशनमा नेपाली समाजको वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोध हल गर्दै नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने नै हो । जसको माध्यमबाट वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने रणनीतिक लक्ष्य रहेको छ । संसदीय पुँजीवादी राजनीतिक बाटो मात्र कार्यनीतिक हो, रणनीतिक बाटो त २१औँ शताब्दीको वैज्ञानिक समाजवाद  नै हो । राज्यसत्ता प्राप्त गर्न विचारको धार र बन्दुकको नाल दुवै अपरिहार्य हतियार हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वसन्त घर्ती मगर
वसन्त घर्ती मगर
लेखकबाट थप