बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुँदैन: मोतीलाल दुगड (भिडियो सहित)

शुक्रबार, १० माघ २०७६, १४ : ५७
शुक्रबार, १० माघ २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताएका हुन् ।

उनले भने, ‘उद्यमी व्यवसायीहरु जवसम्म समृद्ध हुन सक्दैनन्, जवसम्म उनीहरु सुखि हुँदैनन, जब उनीहरुलाई आफ्नो काम प्रति सन्तोष हुँदैन तबसम्म यो देश समृद्ध हुन सक्दैन, सबैभन्दा पहिला महिलाहरु समृद्ध हुन प¥यो देशका उद्यमी व्यवसायीहरु समृद्ध हुनप¥यो अनिमात्रै देश समृद्ध हुन्छ ।’

उनले आफु उद्यमीसमेत भएकाले उद्यमी व्यवसायीहरुको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताए । त्यसका लागि मन्त्रालयमा एकद्धार प्रणालीमार्फत काम भइरहेको उनले बताए । उनले उद्यमी व्यवसायीहरुलाई सबै समस्या मन्त्रालयमा आएर बताउन समेत आग्रह गरे । उनले महिला उद्यमीहरुका लागि छुट्टै व्यवास्था गरेर सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो सानो कृषि गरेर देश समृद्ध हुन नसक्ने बताए । उनले भने, ‘पाँचवटा बाख्रा पालेर मुलुकको समृद्धि हुनेवाला छैन्, २ वटा भैंसी पालेर मुलुकको समृद्धि हुनेवाला छैन् ।’ उनले उद्यमी व्यवसायीहरुले कृषिमा लगानी गर्ने भन्दै सरकारी अनुदानको कर्जा तथा पुर्नकर्जा लगेर खेत किन्ने केही समय धान लगाउने र पाँच दश वर्षमा डबलमा बिक्री गर्ने प्रवृतिले पनि देश समृद्ध हुन नसकेको बताए ।

उनले भने, ‘अहिले हामीले के गरिराखेका छौं बैंकबाट ठुलो ठुलो कर्जा रिफाइनान्स दिइरहेका छौं अनि व्यापारिहरुले के गरिरहनुहुन्छ म कृषि गर्छु भनेर जग्गा किन्नुहुन्छ ५ विगाहा, १० विगाहा, २० विगाहा, ४० विगाहा, ५० विगाहा, १०० विगाहा, २०० विगाहा जग्गा किनेर राखि छोडनुहुन्छ धान रोपेको छ त्यसरी कृषिमा परिवर्तन आउने वाला छैन त्यहाँ आधुनिक खेति हुनुप¥यो उन्नत खेति हुनुप¥यो उन्नत जातको बिउ बिजन हुनुप¥यो, त्यो कुराहरु हामीले गर्न सकिरहेका छैनौं अनि खेत किनेर राख्नुहुन्छ ५ वर्षपछि १० वर्षपछि डबल दाममा बेचेर मालामाल कमाइ हाल्नुहुन्छ ।’

डेपुटी गभर्नर शिवाकोटीले उद्यमशीलता विकासमा महिलाहरुको योगदान बढी होस् भन्ने उद्देश्यले जागरण र जागृति ल्याउनुपर्नेमा जोड दिए । उनले बैंकहरुले पनि महिलाहरुलाई लक्षित गरि कर्जा दिदै आएकाले त्यसको फाइदा लिन आग्रह गरे । उनले बैंकहरुले सहुलियत दरमा कर्जा नदिए राष्ट्र बैंकले कारबाही गर्ने बताए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरुलाई सहज कर्जा उपलब्ध गराउने नीति लिएपनि बैंकहरुले कर्जा नदिएको बताए । उनले महासंघले महिलाहरुलाई सहज होस भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको चार महिना हुँदा समेत कर्जा नदिएको बताए । उनले भने, ‘हामीले राष्ट्रिय वाणिज्य बैंकसँग एमओयु गरेका छौं र महिला दिदि बहिनीहरुलाई नै हुने गरी महिला दिदी बहिनीहरुलाई लक्षित गरेर हामीले एमओयु ग¥यौं, एमओयु गरेको चार महिना भइसक्यो तर ४० वटा फाइल अगाडी बढन सकेको छैन  उहाँले एक वटा फाइलको काम अगाडी बढेको छ तर बैंकले अझै चासो देखाएको छैन् ।’ उनले भने, ‘अस्ति एउटा फाइल तयार भएर बसेको छ तर राष्ट्रिय वाणिज्य बैंकले कतिवटा जुत्ता फाटने हो काम गर्ने ठेगान छैन् ।’

कार्यक्रममा महिलाहरुको उद्यमशिलता विकासमा सरकारले अझबढी कार्यक्रमहरु लयाउनु पर्नेमा जोड दिइएको थियो । त्यस्तै बैंकहरुबाट सहज रुपमा कर्जा उपलब्ध गराउनेदेखि बजारीकरणमा मन्त्रालयले सहयोग गर्नुपर्नेमा उद्यमीहरुले जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप