शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मान्छेले भनेको नटेरेपछि घोडाको सहयोग

शुक्रबार, १० माघ २०७६, १० : ११
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । सवारीको गति कम गर्न र पैदलयात्रुलाई सहजरुपमा बाटो काट्नका लागि सडकमा कोरिएका सेता धर्साहरु (जेब्राक्रस)को महत्त्वको बारेमा धेरै जसो सर्वसाधारण अनभिज्ञ छन् । जेब्राक्रसलाई पैदलयात्रुदेखि सवारी चालकसम्मले ख्याल गर्दैनन् । पैदलयात्रीलाई प्राथमिकता दिनुपर्ने जेब्राकसमा सवारीसाधनले पेल्न खोज्ने र पैदलयात्रुले पनि जेब्राक्रस छाडेर यत्रतत्र बाटो काट्ने परिपाटी व्यप्त छ । साउन यता ३४ जना पैदलयात्रुले ज्यान गुमाएको तथ्याङ्कले यो कुराले पुष्टि गर्छ ।


काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन र जनचेतना फैलाउन कलाकारदेखि स्कुल–कलेजका विद्यार्थी निकै समय खटिए । ट्राफिक स्वयम्सेवकले जेब्राक्रसिङमा पैदलयात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ र आकाशेपुल प्रयोग गर्न सहयोग गर्ने, पिक एण्ड ड्रप व्यवस्थापन, यात्रुलाई बस बिसौनीमा लाइनमा बसी गाडी चढ्न सहयोग गर्ने, लेन अनुशासन पालना गर्न लगाउने आदि काम गरे । तर, स्वयम् सेवकले भनेको मान्ने–सुन्ने कमै देखिए । बरु उल्टै ‘हामीलाई सिकाउने ?’ भन्दै खप्की खाए ।

जेब्राक्रस नजिकै भएपनि जहाँ पायो त्यहीँबाट बाटो काट्ने पैदलयात्रु र जेब्राक्रस भएको ठाउँमा सवारीको गति कम नगर्ने चालकका कारण जेब्राक्रस प्रभावकारी बन्न नसकेपछि सचेनताका लागि ट्राफिक प्रहरीले नै केही महिनायता पैदलयात्रु र सवारी चालकलाई जेब्राक्रस प्रयोगबारे प्रशिक्षण दिँदै आएको छ । प्रशिक्षणले पनि आशातित फल हासिल गर्न सकिएको छैन ।

ट्राफिक प्रहरी कै भनाइ मान्ने हो भने सचेतना अभियान ‘पढ्यो पढ्यो पाठ, सोह्र दुना आठ’ भनेको जस्तो भएको छ । जति नै जनचेतना अभियान चालए पनि पनि जेब्राक्रसबाट बाटो काट्न पैदलयात्रु मान्दै मान्दैनन् । पैदलयात्रुलाई लक्षित गरेर ट्राफिक प्रहरीले फेरि अर्को एउटा विकल्पलाई अघि सारेको छ ।

ट्राफिक प्रहरीलाई नटेरेपछि उपत्यकाका विभिन्न ठाउँमा पैदलयात्रुलाई बाटो काट्न सिकाउन अब घोडाको मद्दत लिइनेछ । पहिलो चरणमा वीर अस्पताल अगाडि २ वटा घोडा राखेर जेब्राक्रस वा आकाशे पुलबाट बाटो काट्न मद्दत गर्ने ट्राफिक महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार दोस्रो चरणमा उपत्यकाको एकदम व्यस्त स्थान (४ देखि ५) हरुमा घोडाको मद्दतमा सर्वसाधारणलाई बाटो काट्न सिकाइनेछ । पैदलयात्रुले जथाभावी बाटो काट्न खोजेमा घोडाले गएर छेक्ने काम गर्ने श्रेष्ठको भनाइ छ ।

‘अझै मान्छेहरु जेब्राक्रसबाटै बाटो काट्नुपर्छ भन्ने सचेत छैनन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘बानी लगाउँदा विस्तारै बानी बस्छ, सचेत पनि हुन्छन् ।’ सर्वसाधारणलाई सडकमा हिँड्दा कहाँबाट बाटो काट्ने भन्ने जानकारी नभएपछि जेब्राक्रसमा घोडा राखेर जथाभावीबाट बाटो काट्न हुन्न भनेर सिकाउन थालिएको प्रवक्ता श्रेष्ठले बताए ।

सर्वसाधारणलाई जेब्राक्रसका बारेमा जानकारी नहुँदा प्रयोग गर्ने बानी छैन । जसकारण दुर्घटना निम्तिने खतरा बढी हुन्छ । बटुवाहरुले यताउती हेर्दै ट्राफिकको आँखा छलेर बाटो काट्ने गर्छन् । पैदलयात्रुलाई जथाभाबी बाटो काट्न रोक्न सकियो भने ९० प्रतिशत सडक दुर्घटना रोकिने महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालको भनाइ छ ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न सचेनता बोर्ड राख्नुका साथै विभिन्न समयमा सचेनतामूलक कार्यक्रम पनि गर्दै आएको एसएसपी ढकालको भनाइ छ । ‘हाम्रो तर्फबाट प्रयास भइरहेको छ । तर, हामीले मात्रै काम गरेर दुर्घटना न्यूनीकरण सम्भव छैन, यसमा सवारी चालकदेखि सर्वसाधारण र अन्य निकायको पनि साथ चाहिन्छ,’ एसएसपी ढकालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप